काठमाडौं, ३० पुस । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को कमान्ड अमेरिकाबाट रुसमा हस्तान्तरण भएको छ । अमेरिकी अन्तरिक्ष निकाय (नासा) का अन्तरिक्षयात्री माइक फिन्कले आईएसएसको नेतृत्व रुसी अन्तरिक्षयात्री सर्गेई कुड–स्वेर्च्कोफलाई हस्तान्तरण गर्नुभएको बीबीसीले जनाएको छ ।
क्रु–११ अभियानका प्रमुख फिन्कले एक विशेष समारोहमा स्वेर्च्कोफलाई अन्तरिक्ष स्टेशनको प्रतीकात्मक साँचो दिएर नेतृत्व हस्तान्तरण गर्नुभएको हो । यो साँचो कमान्डरको अधिकार र जिम्मेवारीको प्रतीक हो ।आईएसएसको नेतृत्व नियमित रूपमा अमेरिकी र रुसी अन्तरिक्षयात्रीबीच हस्तान्तरण हुने गर्दछ । क्रु–११ का चार सदस्य यो हप्ता पृथ्वी फर्कन लागेका छन् । यो टोलीमा दुई अमेरिकी, एक जापानी र एक रुसी अन्तरिक्षयात्री रहेका छन् ।नासाले स्वास्थ्यका कारण यो टोलीलाई निर्धारित समयभन्दा एक महिना अगाडि नै फिर्ता बोलाउन लागेको हो । नासाको ६५ वर्षभन्दा लामो इतिहासमा स्वास्थ्य समस्याका कारण पूरै अभियान समय अगाडि फिर्ता हुन लागेको यो पहिलो पटक हो ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीको कक्षामा रहेको सबैभन्दा ठूलो मानव निर्मित संरचना हो । सन् १९९८ मा निर्माण शुरू भएको केन्द्रमा सन् २००० देखि निरन्तर अन्तरिक्षयात्रीहरू बसिरहेका छन् ।
आईएसएसमा नासा, रुसको रोस्कोस्मोस, युरोपेली अन्तरिक्ष एजेन्सी, जापान र क्यानडाको साझा स्वामित्व र सञ्चालन छ । नासाका अनुसार विगत २५ वर्षमा २ सय ८० भन्दा बढी अन्तरिक्षयात्री आईएसएसमा बसिसकेका छन् । त्यहाँ नियमित रूपमा ६ देखि ७ जना अन्तरिक्षयात्री बस्ने गर्छन् ।
आईएसएसमा वैज्ञानिक अनुसन्धान, पृथ्वी अवलोकन, अन्तरिक्ष प्रविधिको परीक्षण र भविष्यका गहिरो अन्तरिक्ष अभियानका लागि तयारीजस्ता महत्त्वपूर्ण कामहरू हुन्छन्








प्रतिक्रिया दिनुहोस्