काठमाडौं ६ भदौ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन् ।
च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रम ओलीले राष्ट्रपति हुने बेला भण्डारी आफैंले सदस्यता छोडेको बताएका हुन् । ‘खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो,’ ओलीले भने ।
सदस्यता नवीकरणबारे पार्टीसँग छलफल पनि नगरेको अध्यक्ष ओलीले बताए ।
‘पार्टीले किन खोस्छ सदस्यता, थिएन त्यसो भएकाले खोस्नै परेन । सदस्यताका लागि आवेदन गर्नुभएको पनि छैन, नवीकरणका लागि पार्टीमा आएर कुरा पनि गर्नुभएको छैन,’ उनले भने, ‘बाहिर टेलिभिजनले दिने त होइन होला ?’
दर्ता चलानी शाखामा आएर पैसा बुझाउँदैमा सदस्यता नवीकरण नहुने तर्क पनि ओलीले गरे ।
‘कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण गरेँ भनेर, शुल्क तिर्दैमा सदस्यता पाउँछन् भन्ने हुन्छ ?,’ ओलीले भने ।
राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि यस्तो समस्या सिर्जना हुन्छ भन्ने कल्पना समेत नगरेको पनि ओलीले बताए ।
‘दुई-दुई पटक राष्ट्रपति भएको मान्छे, पार्टीमा फर्केर आउने समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना पनि गरेको थिएन,’ ओलीले भने ।
तर राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि ओलीले पार्टीभित्र चुनाव हारेका र असन्तुष्टहरूलाई बोकेर हिँड्ने काम गरेको बताए ।
‘पार्टीका सधैंका असन्तुष्ट, पार्टीका पक्षमा कहिल्यै नबोल्ने, र पार्टीका विभिन्न जनसंगठनका चुनाव हारेका मान्छेहरू असन्तुष्ट भएका मान्छेहरू तिनलाई भेला गरेर असन्तुष्टहरूको जमात खडा गरेर कुदिराख्नु भएको छ,’ ओलीले भने ।
उनले थपे, ‘दुई पटक उहाँलाई पार्टीले राष्ट्रपति बनायो, फर्केर आएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना गरेको थिएन । तर, उहाँ आएर पार्टीको एकतामा बल पुर्याउनुपर्ने हो । तर, पार्टीभित्र सधैँ असन्तुष्ट भएका, पार्टीमा जनसङ्गठनमा चुनाव हारेका असन्तुष्ट मान्छेहरू भेला गर्दै हिँड्नुभएको छ ।’
मदन भण्डारीका अर्को वर्ष आउने जन्मदिन मनाउनको लागि अहिलेदेखि नै पार्टी कार्यालय खोल्नुपर्छ ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘अर्को वर्षको जन्मदिन मनाउनको लागि अहिलेदेखि नै पार्टी कार्यालय खोलेर, असन्तुष्ट तत्त्वहरूलाई भेला गर्नुपर्छ ? यत्रो ठूलो आन्दोलनमा कहिलेकाहीँ हुन्छन् ।’
हिजो भण्डारीको सम्पर्क कार्यालय खोल्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष द्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीसहित नेता कार्यकर्ताहरू सहभागी भएका थिए ।
यस्तो छ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाइ;
अहिले पार्टीभित्र अलिअलि के-के तपाईंहरू पनि सुनिरहनुभएको होला। कहाँ कसको सदस्यता च्यासलले खाइदियो भन्ने। च्यासल भनेको ठाउँको नाम हो, कसैको सदस्यता खोस्दैन त्यसले, खोस्नुपर्ने आवश्यकता पनि छैन।
पूर्वराष्ट्रपतिजीको सन्दर्भमा तपाईंहरूलाई पनि भ्रम नपरोस्। उहाँको सदस्यता पार्टीले खोसेको होइन। राष्ट्रपति हुने बेला उहाँले परित्याग गर्नुभएको हो, परित्याग गरेरै राष्ट्रपति हुन जानुपर्छ। उहाँ सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो।
फर्किएर आएपछि उहाँले त्यहाँ सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर त हुँदैन नि! त्यत्रो राष्ट्रपति भएको मानिस भनेर कर्मचारीले त रसिद काटिदिन्छ, त्यसरी लिने होइन सदस्यता।
उहाँले छाडेको सदस्यता नवीकरण हुँदैन। सदस्यता छैन भने कहाँ नवीकरण हुन्छ? कसैको सदस्यता नै छैन भने त लिनुपर्छ, नवीकरण गर्ने होइन। लुगामा चुडेको टाँक लगाउन सक्नुहुन्छ लगाउँदै नलगाएको टाँक जोड्ने भन्ने हुन्छ र? हुँदैन नि!
तपाईंसँग सदस्यता नै छैन भने कहाँबाट नवीकरण हुन्छ। उहाँले २०७२ साल कात्तिक १२ कि १३ गते सदस्यता छाडेको हो। त्यसयता उहाँको सदस्यता छैन। यत्रो वर्ष उहाँले सदस्यता खोज्नुभएको पनि थिएन।
राष्ट्रपति हुन नजानुपर्थ्यो नि त। मेरो सदस्यता, प्यारो सदस्यता म त्यसैमा बस्छु जान्न राष्ट्रपतिमा भन्नुपर्थ्यो, त्यसबेलाचाहिँ छाडेर जाने अनि आएपछि नभएको सदस्यता नवीकरणको कुरा गर्ने?
पार्टी सदस्यता नवीकरण गर्ने हो भने उहाँले पार्टीमा कुरा र निवेदन दिनुपर्थ्यो। उहाँ नयाँ सदस्यता प्रक्रियामा पनि आउनुभएको छैन। पार्टीमा केही भन्नुभएको छैन। कार्यालय आएर दर्ता चलानी फाँटबाट नवीकरण गरेँ भनेर शुल्क तिर्दैमा सबैको सदस्यता नवीकरण हुन्छ? यो भ्रममा कोही नपर्नुहोला।
उहाँले सदस्यताका लागि आवेदन गर्नुभएको छैन। हामीसँग सदस्यता माग्नुभएको पनि छैन। बाहिर टेलिभिजनले त सदस्यता दिने होइन होला, टेलिभिजनमा गएर भनिराख्नुभएको छ। पार्टीले राष्ट्रपति दुई पल्टसम्म बनायो। त्यस्तो व्यक्ति फर्केर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा कल्पनासमेत गरिएको थिएन।
तर उहाँ आएर पार्टीलाई एकताबद्ध हुन सहयोग गर्नुपर्नेमा असन्तुष्ट र हारेका मानिसलाई भेला गरेर असन्तुष्टहरूको जमात बनाएर कुदिरहनुभएको छ।
जननेता मदन भण्डारीको अर्को वर्ष आउने जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोल्नुपर्छ? अर्को वर्ष असार १४ गतेका लागि आउने जन्मदिनका लागि पार्टीमा असन्तुष्ट रहेका मानिसहरू भेला गरेर कार्यालय खोल्नुपर्छ? त्यसकारण उहाँको तरिका ठिक भएन।








प्रतिक्रिया दिनुहोस्