काठमाडौं २७ असार । नेकपा एमालेकी बरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको लागि विचार नै सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै जबज नै त्यसको मार्गनिर्देशक सिद्धान्त भएको दाबी गरेकी छन् ।
मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्टेट, सोसाइटी एन्ड डेभलपमेण्ट जर्नलको विमोचन कार्यक्रममा आफूmलाई एमाले वरिष्ठ नेता भन्न हालै आग्रह गरेकी भण्डारीले जर्नलले जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
जबजले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई अघि बढाएको भन्दै भण्डारीले जर्नलले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रुपमा बुझ्न र व्यवहारिक रुपमा अवलम्वन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउने दिशामा समेत थप योगदान गर्नसक्ने बताइन्।
‘जबज सामाजिक, आर्थिक रुपान्तरणको एउटा वृहतर सिद्धान्त हो,’ उनले भनिन् ‘यो जर्नल भर्खरै प्रकाशन हुन थालेकाले यसमा जबजका विभिन्न आयाम र क्षेत्रहरु समेटिन नसक्नुलाई अन्यथा रुपमा लिनु हुँदैन। यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताहरुका बीचमा अझ व्यापक रुपमा पुर्याउनुपर्छ।’
पूर्वराष्ट्रपति भण्डारीले जबजले माक्सवाद, लेनिनवादको आधारमा नेपाली समाजवादको गहिरो विश्लेषण गर्दै सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा भराजनीतिक विशेषतालाई आत्मसाथ गर्दै समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिष्पर्धालाई समावेश गर्दै विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताइन्।
भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको बताएकी छिन् ।
एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गर्दै पार्टी सदस्यता समेत नवीकरण गरेकी भण्डारीले एमालेले पनि समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने गरी काम गरिरहेको बताइन् ।
‘जबज केवल एउटा राजनीतिक सिद्धान्त मात्रै होइन । यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन पनि हो’ भण्डारीले भनिन्, ‘हामीलाई थाहा छ, हाम्रो संस्कृतिमा रहेको वैदिक मन्त्र सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामयाले सबै मान्छे सुखी र निरोगी हुन्, सबैले शुभ देखुन् र कसैलाई दुख नहोस् भनी यथार्थ भावना प्रकट गरेको छ । जबजको मूल भावना पनि यही हो ।’








प्रतिक्रिया दिनुहोस्