ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाभित्र ‘इम्पेरियल’ राष्ट्रपति, विदेशमा ‘सम्राट’


एलिजाबेथ एन. सन्डर्स


अमेरिकी विदेश नीतिः अनियन्त्रित कार्यकारी शक्तिको युगमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको केही महिनामै, संयुक्त राज्य अमेरिका घरेलु र विश्व मञ्चमा नाटकीय र सम्भवतः अपरिवर्तनीय रूपमा फरक देखिएको छ। ट्रम्पको संघीय सरकारमाथिको आक्रमणले अमेरिकी राज्यको क्षमतालाई कमजोर बनाएको छ। उनले घरेलु स्तरमा आधारभूत संवैधानिक अधिकारहरूको अवमूल्यन गरेका छन् र आप्रवासीप्रति उनको शत्रुताले संयुक्त राज्य अमेरिकालाई देशको समृद्धि र उत्पादकता तथा नवप्रवर्तनमा योगदान दिने आगन्तुकहरूका लागि असहज बनाएको छ। साथै, उनको नियम र कानुनप्रतिको अवहेलनाले अमेरिकी विश्वसनीयतालाई कमजोर बनाएको छ र संयुक्त राज्य अमेरिकालाई अन्तर्राष्ट्रिय साझेदारको रूपमा अविश्वसनीय बनाएको छ—र केही सहयोगीहरूका लागि त डरलाग्दो खतरा पनि।

ट्रम्पले गरेको क्षति उनको दोस्रो कार्यकालभन्दा पनि लामो समयसम्म रहनेछ। यो क्षतिको मूल्याङ्कन गर्न सबैभन्दा उत्तम तरिका ट्रम्पका नीतिहरूलाई पहिले नभई उनलाई यी नीतिहरू बनाउन सक्षम बनाउने कारकहरूलाई हेर्नु पर्छ। ट्रम्प आज कार्यकारी शाखामा सन्तुलन र नियन्त्रणको लगभग पूर्ण विघटनको परिणामस्वरूप शासन गर्दैछन्, विशेष गरी विदेश नीति र राष्ट्रिय सुरक्षा क्षेत्रमा। ९–११ को आक्रमणपछि, कङ्ग्रेसले राष्ट्रपतिलाई विदेश मामिलामा थप शक्ति प्रदान गरेको छ र त्यसलाई फिर्ता लिन अस्वीकार गरेको छ साथै सर्वोच्च अदालतले कुनै अर्थपूर्ण प्रतिबन्ध लगाउन अनिच्छा देखाएको छ। ट्रम्पले थोरै निगरानीमा सञ्चालन हुने निरन्तर विस्तारित राष्ट्रिय सुरक्षा संयन्त्रलाई उत्तराधिकारमा प्राप्त गरेका छन्। उनको पहिलो कार्यकालमा संस्थाहरूमाथिको आक्रमणले राष्ट्रपतिको कार्यक्षेत्रलाई थप विस्तार गर्न खोजेको थियो, त्यसयता कङ्ग्रेस र सर्वोच्च अदालतले राष्ट्रपतिलाई नियन्त्रण गर्ने प्रयासहरूलाई रोकेका छन्। परिणामस्वरूप, ट्रम्प अब विदेश नीति वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित कुनै पनि कुरामा लगभग जे चाहन्छन् त्यही गर्न सक्छनेः गैरनागरिकहरूलाई एल साल्भाडोरको जेल शिविरहरूमा पठाउने, विश्वभरका देशहरूमा व्यापक भन्सार शुल्क लगाउने, कङ्ग्रेसले अनिवार्य गरेको विदेशी सहायता प्रतिबद्धताहरूलाई खारेज गर्ने, सहयोगीहरूलाई धम्क्याउने, तानाशाहहरूलाई नजिक ल्याउने, राजतन्त्रहरूबाट भव्य उपहार स्वीकार गर्ने, अमेरिकी सहरहरूको सडकमा सेना परिचालन गर्ने, र आफ्नो जन्मदिनमा सैन्य उत्सव परेडमा सशस्त्र बलहरूलाई संगठित गर्ने।

राजनीतिकशास्त्रीहरु, जो तानाशाहीहरूको अध्ययन गर्छन्, यो कुरालाई तानाशाहको विदेश नीति भनेर चिन्छन्। वाशिङ्टन कहिल्यै विदेशमा सदाचारको प्रतीक थिएन, तर ट्रम्पको दोस्रो कार्यकालको असाधारण प्रकृतिले स्पष्ट गर्छ कि उनीभन्दा अघिका राष्ट्रपतिहरू वास्तवमा आफ्नो विदेश नीतिमा बढी बाध्यकारी थिए। अनियन्त्रित रूपमा, राष्ट्रपति राष्ट्रिय सुरक्षा क्षेत्रमा कार्यात्मक रूपमा तानाशाहसँग बराबर छन्—जसले कुनै पनि आवेगलाई मनमौजी रूपले नीतिमा परिणत गर्न सक्छ।

यद्यपि ट्रम्पले राष्ट्रपतिलाई यस्तो अनियन्त्रित बनाउने प्रक्रियालाई सुरु गरेका होइनन्, उनी अब यसका सबैभन्दा ठूला लाभार्थी हुन्। कङ्ग्रेस र सर्वोच्च अदालतले विगतका प्रशासनहरूमा कार्यकारी शक्तिलाई अत्यधिक शक्तिशाली हुन अनुमति दिएको थियो, तर केही रक्षात्मक सीमाहरू अझै कायम थिए। जनवरी ६ को विद्रोहका लागि ट्रम्पलाई जिम्मेवार ठहराउने कङ्ग्रेसको असफलता र २०२४ मा सर्वोच्च अदालतको राष्ट्रपतिलाई व्यापक उन्मुक्ति प्रदान गर्ने निर्णयले बाँकी रहेका बाधाहरूलाई नष्ट गर्‍यो। अमेरिकी राष्ट्रपति पद लामो समयदेखि इम्पेरियल थियो। तर ट्रम्पको दोस्रो कार्यकालसम्म कुनै पनि राष्ट्रपतिले वास्तवमा सम्राटको रूपमा व्यवहार गर्न खोजेका थिएनन्।

विनाशको साक्षी

दोस्रो ट्रम्प प्रशासनले अमेरिकी विदेश नीति र राष्ट्रिय सुरक्षा संयन्त्रमा गरेको विनाशको पूर्ण दायरा पक्डन गर्न गाह्रो छ। तर तीनखाले व्यापक क्षतिका श्रेणीहरूलाई सूचीबद्ध गर्नु उपयोगी हुनेछ जसले एक निष्कर्षमा पुर्‍याउँछः ट्रम्पले अमेरिकी कूटनीतिलाई ध्वस्त बनाएका छन्।

ट्रम्पले अमेरिकी राज्यको क्षमतालाई नष्ट गरेका छन्। तथाकथित डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डोज) को उन्मत्त गतिविधिमार्फत, ट्रम्पले संघीय कार्यबललाई कमजोर बनाएका छन्। राष्ट्रपति र डोजले कर्मचारीहरूलाई बर्खास्त गर्नुका साथै छटनी गर्न प्रोत्साहन दिएका छन्, बाँकी कर्मचारीहरूलाई धम्क्याएका छन्, र अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) को सम्पूर्ण निकायहरू विघटन गरेका छन्। यी मध्ये केही कार्यहरू गैरकानुनी थिए, तर जबसम्म अदालतले हस्तक्षेप गर्न सक्थे, धेरैजसो अपरिवर्तनीय भइसकेका थिए। राजनीति शास्त्री ड्यानियल ड्रेजनरले यस परिणामलाई “शालो स्टेट” भनेका छन्। यी कार्यहरूले अमेरिकी विदेश नीति र राष्ट्रिय सुरक्षा संयन्त्रलाई गम्भीर रूपमा बिना कुनै स्पष्ट तर्क खोक्रो बनाएका छन् , जसले ट्रम्प प्रशासनको विशेषज्ञताप्रति तिरस्कार, प्रतिशोधको खोजी, र भ्रष्टाचारका अवरोधहरू हटाउने इच्छालाई संकेत गर्छ।

पहिलो कार्यकालको निराशापछि, जब उनको नजिकको सर्कलका धेरैले उनको खराब आवेगहरूलाई नियन्त्रण गरे, ट्रम्पले अयोग्य वफादारहरूलाई शीर्ष पदहरूमा नियुक्त गरे—जस्तै रक्षा मन्त्रीमा पिट हेग्सेथ र राष्ट्रिय गुप्तचर निर्देशकमा तुलसी गबार्ड—र तिनलाई सिनेटमार्फत बलजफ्ती पास गराए। केही पर्यवेक्षकहरूले छोटो समयका लागि राहतको सास फेरे जब ट्रम्पले परम्परागत रूपमा रूढिवादी विदेश नीति दृष्टिकोणका लागि परिचित सिनेटर मार्को रुबियोलाई विदेश मन्त्रीको रूपमा मनोनीत गरेका थिए। तर रुबियो चाँडै ट्रम्पको प्रमुख प्रवर्तकको रूपमा उदाए, युएसएआइडी को तीव्र विघटनमा डोज लाई सहयोग गर्दै।

ट्रम्पले संयुक्त राज्य अमेरिकाप्रति विश्वास र सद्भावलाई पनि क्षतिग्रस्त बनाएका छन्—र यस्तो उनले प्रत्यक्ष प्रसारणको टेलिभिजनबाटै गरेका छन्। सबैभन्दा जघन्य उदाहरणहरू तब देखिए जब उनले ओभल अफिसमा प्रेसको उपस्थितिमा मित्रवत् देशका भ्रमणकारी नेताहरूलाई धम्क्याए—पहिले, युक्रेनका युद्धकालीन राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, र पछि, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा।

अमेरिकी कूटनीतिमा अर्को प्रहार—पनि टेलिभिजनमा—त्यतिबेला आयो जब अप्रिल २ मा ट्रम्पले विश्व अर्थतन्त्रमा भन्सार बम खसाले। धेरै अदालतहरूले त्यसपछि उनका धेरै भन्सार शुल्कलाई अवैध घोषित गरेका छन्, त्यसले देखाएको हुनुपर्छ शायद राष्ट्रपतिको विदेश नीतिमा केही बाँकी नियन्त्रणहरू छन्। तर ट्रम्पसँग भन्सार शुल्कहरू लागू गर्न र अदालतहरूलाई छल्ने अन्य मार्गहरू छन्। अधिक महत्त्वपूर्ण कुरा, अमेरिकी विश्वसनीयतामा भएको क्षति पहिल्यै पूरा भइसकेको छ। ट्रम्पले अवस्थित सम्झौताहरू र लामो समयदेखिका व्यापारिक सम्बन्धहरू, साथै दशकौँदेखि विकास भएका नयाँ व्यापारिक साझेदारीहरूलाई हल्लाएका छन्। प्रशासनको भन्सार नीतिमा भएका उतारचढाव—जुन, यो लेख लेख्दासम्म, धेरैजसो देशहरूमा ठूलो भन्सार वृद्धि कायम छ—विश्वका नेताहरू संयुक्त राज्य अमेरिकासँग गम्भीर व्यापार वार्तामा प्रवेश गर्न अनिच्छुक हुन सक्छन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि विदेश नीति संस्थाहरूलाई कमजोर बनाएका थिएः विदेश मन्त्रालयप्रति शत्रुतापूर्ण अडान लिएर उनले कार्य जनशक्तिमा उल्लेखनीय ह्रास पुर्याएका थिएः गुप्तचर एजेन्सीहरूलाई निरन्तर कमजोर बनाए र सेनालाई राजनीतिकरण गर्ने अभियान थोका थिए । यद्यपि त्यतिबेला अमेरिकी शक्तिका साधनहरू—कूटनीतिक, सैन्य, र अन्य—ले केही क्षति भोगेका थिए, तिनीहरू कार्यशील नै रहे। केही अवस्थामा, बाइडेन प्रशासनले तिनलाई पुनर्जनन गर्न सक्यो, जस्तै रूसको २०२२ मा युक्रेनमाथिको पूर्णस्तरीय आक्रमणको तयारीमा अमेरिकी गुप्तचरलाई सक्रिय बनाइयो ।

तर ट्रम्पको दोस्रो कार्यकालको आक्रमणबाट सजिलै फर्कन सक्ने बाटो देखिएको छैन। यो केवल कर्मचारीहरूको ह्रासको मात्रा र दायरा धेरै ठूलो भएको कारणले होइन, यसमा पहिलो ट्रम्प प्रशासनबाट धेरै हदसम्म बचेका क्षेत्रहरूमा विशेषज्ञतालाई नामेट पारिएको छ , जस्तो अमेरिकी नवप्रवर्तनका लागि महत्वपूर्ण वैज्ञानिक एजेन्सीहरूमा। यो पनि के हो भने यस पटक, प्रशासनले प्रोजेक्ट २०२५ नामक दक्षिणपन्थी एजेन्डामा विस्तृत वैचारिक दृष्टिकोण कार्यान्वयन गरिरहेको छ, जसले संघीय कर्मचारीहरूलाई यति धेरै दुख दिन्छ कि उनीहरूले आफ्नो काम गर्न चाहँदैनन्। संघीय नोकरशाहीको विशेषज्ञता र अनुभव पुनर्निर्माण गर्न एक प्रशासनको समय होइन, एक पुस्ताको काम हुनेछ। जब अपरिहार्य रूपमा सङ्कटहरू आउँछन्, संयुक्त राज्य अमेरिकासँग तिनलाई सम्बोधन गर्न आवश्यक उपकरण, दक्षता, र समग्र क्षमता नहुन सक्छ।

जवाफदेहीताको शून्यता

ट्रम्पको दोस्रो कार्यकालको पहिलो महिनाहरूले वास्तवमा कार्यकारी शाखा भित्र र बाहिर सन्तुलन र नियन्त्रणको लगभग पूर्ण विनाशले छोडेको जवाफदेहीताको शून्यतालाई उजागर गरेको छ। आफ्नो दोस्रो कार्यकालमा, ट्रम्पले देखाएका छन् कि राष्ट्रपतिले अझै कति शक्ति प्राप्त गर्न सक्छ र यो शक्तिको सीमालाई सम्मान गर्नमा कुनै रुचि नभएको नेताले सत्ता सम्हाल्दा के हुन्छ।

यो सङ्कट दशकौँदेखि निर्माण हुँदै थियो। राजनीतिक वैज्ञानिक जेम्स गोल्डगेयर र मैले फरेन अफेयर्समा लेखेका छौँ, ट्रम्पले २०१६ को चुनाव जित्नुअघि नै राष्ट्रपतिको विदेश नीतिमा सन्तुलन र नियन्त्रणहरू खराब रूपमा क्षय भइरहेका थिए। दुईवटा विकासहरू देशको वर्तमान दुर्दशाका लागि सबैभन्दा सान्दर्भिक छन्ः २००१ मा ९–११ आक्रमणपछि राष्ट्रपतिको शक्तिको विस्तार र इराक युद्ध र २००८ को वित्तीय सङ्कटको दोहोरो असफलताका लागि अभिजात वर्गको जवाफदेहीताको अभाव। जब कङ्ग्रेसले राष्ट्रपतिलाई आतङ्कवाद विरोधका लागि बढी स्वतन्त्रता प्रदान गर्‍यो, यो एक आत्मप्रबलित तर्कसहित आयो जसले यो शक्ति फिर्ता लिन गाह्रो बनायो। आतङ्कवादविरुद्ध लड्ने बाटोमा बाधा भएको देखिन सक्छ भन्ने डरले, कङ्ग्रेसले यी शक्तिहरूलाई खारेज गर्न वा सरकारको “आतङ्कवादविरुद्ध युद्ध” को अभियोजनमा बलियो निगरानी गर्न रोजेन। जब राष्ट्रपति जर्ज डब्ल्यू बुशले २००३ मा यी शक्तिहरू प्रयोग गरेर इराकमाथि आक्रमण गरे, युद्ध स्पष्ट रूपमा असफल हुँदा पनि कङ्ग्रेस युद्धकालमा उनलाई बाधा गर्न अनिच्छुक रह्यो । आर्थिक क्षेत्रमा, २००८ को ट्रबल्ड एसेट रिलिफ प्रोग्राम, वित्तीय सङ्कट र त्यसपछिको गम्भीर आर्थिक मन्दीको जवाफमा, संयमको क्षयमा योगदान पुर्‍यायो। बुशद्वारा हस्ताक्षरित र ओबामा प्रशासनमा निरन्तर रहेको यो कार्यक्रमले ठूलो आर्थिक विपत्ति टार्न आवश्यक थियो। तर “धेरै ठूलो असफल बनेका” भएका बैंकहरूको उद्धारले यो धारणा बढायो कि राष्ट्रपतिले सम्पूर्ण अर्थतन्त्रलाई प्रभावित गर्ने व्यापक निर्णयहरू गर्न सक्छन् जबकि सङ्कटका लागि जिम्मेवार व्यक्तिहरूले त्यसको परिणामबाट लाभ लिइरहे।

विशेषगरी कङ्ग्रेसको तर्फबाट यी सङ्कटहरू पछि कार्यकारीलाई नियन्त्रणमा राख्ने प्रयास नगर्नु रहस्यमय छ। ठूला असफलताहरूपछि सुधारहरू प्रायः हुन्छन्ः उदाहरणका लागि, भियतनाम युद्धको अन्त्यतिर, कङ्ग्रेसले राष्ट्रपति रिचर्ड निक्सनको भिटोमाथि वार पावर्स रिजोल्युसन पारित गरेको थियो, जसले राष्ट्रपतिले कङ्ग्रेसको अनुमतिबिना सेना परिचालन गर्न सक्ने समयलाई सीमित गर्‍यो। निक्सनपछिका राष्ट्रपतिहरूले यो रिजोल्युसनलाई मान्यता नदिएर वा आफ्नो कमान्डर इन चीफको शक्तिको दाबी गरेर छलेका छन्। तथापि, यो रिजोल्युसनले सेना परिचालनको राजनीतिक लागत बढायो र विधायिकालाई भविष्यका सैन्य परिचालनमा परामर्श गर्न चाहने कुरा रेकर्डमा राख्यो।

यस्तो किन भएको हुन सक्छ भने वित्तीय सङ्कटले आतङ्कवादविरुद्ध युद्धको परिणामहरूसँग वास्तविक हिसाबकिताब गर्न जाने राजनीतिक ऊर्जा खायो। यो हिसाबकिताबको अभावमा, अमेरिकीहरू अझै पनि ९–११ पछिको घरेलु राजनीतिक व्यवस्थामा बाँचिरहेका छन्, जहाँ अत्यधिक सैन्यीकृत राष्ट्रपति संयन्त्रले “राष्ट्रिय सुरक्षा” को आह्वान गरेमा लगभग कुनै दण्डबिना काम गर्न सक्छ। कङ्ग्रेसले राष्ट्रिय सुरक्षा मामिलामा आफूलाई धेरै हदसम्म पाखा लगाएको छ र अफगानिस्तान (२००१) र इराक (२००२) मा सैन्य बल प्रयोगको प्राधिकरणलाई पनि खारेज गर्न सकेको छैन।

९–११ पछिका राष्ट्रपतिहरू, ट्रम्पसहित, त्यसैले आफ्नो शक्तिको सीमालाई तन्काउन सक्षम भएका छन्, २००१ र २००२ को प्राधिकरणहरूलाई अपरिचित रूपमा विस्तार गरेका छन्। उदाहरणका लागि, ओबामाले ड्रोन हमलाहरूको विशाल कार्यक्रम सञ्चालन गरे र यमन तथा सिरियामा बमबारी गरे। आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले यी प्राधिकरणहरूको नियमित दुरुपयोग जस्तो देखिने कुरालाई निरन्तरता दिए, उदाहरणका लागि जब उनले बारम्बार सिरियामा बमबारी गरे। उनको पहिलो कार्यकालका केही कार्यहरू, यद्यपि अत्यधिक जोखिमपूर्ण, डिग्रीमा फरक थिए तर प्रकारमा होइन, जस्तै जब उनले इरानी सैन्य नेता कासेम सुलेमानीलाई मार्ने आदेश दिए र इरानसँग धेरै गम्भीर द्वन्द्वको वृद्धिको जोखिम मोल्यो। अरूले वास्तवमा राष्ट्रपतिको शक्तिको सीमालाई तन्काए, जस्तै उनले घरेलु सेटिङहरूमा सेनाको प्रयोग गरे, जसमा २०२० मा वाशिङ्टन डीसीको लाफायेट स्क्वायरमा ब्ल्याक लाइभ्स म्याटर विरोधी प्रदर्शनहरू समावेश थिए।

तर ट्रम्पको पहिलो कार्यकालमा, केही रक्षात्मक सीमाहरू—विशेष गरी उनको सल्लाहकारहरू र मन्त्रिपरिषदका सदस्यहरूको रूपमा, जसमध्ये धेरैलाई कङ्ग्रेसको सम्मान प्राप्त थियो—ले ट्रम्पका सबैभन्दा जघन्य प्रवृत्तिहरूलाई नियन्त्रण गरे। अब, ती रक्षात्मक सीमाहरू हराएका छन्। सरकारका अन्य शाखाहरूले अब उनको विदेश नीतिलाई अवरोध गर्ने प्रयास पनि गरिरहेका छैनन्। कङ्ग्रेसले नै २०२१ को जनवरीमा कार्यकारी संयममा पहिलो दुई प्रहारहरू मध्ये एक गर्‍यो, जब सिनेटले जनवरी ६ को विद्रोहलाई उक्साएको आरोपमा ट्रम्पलाई दोस्रो महाभियोग मुद्दामा दोषी ठहर गर्न असफल भयो। धेरै कम रिपब्लिकनहरू ट्रम्पविरुद्ध मत दिन इच्छुक थिए। राष्ट्रपतिको आफ्नै पार्टीभित्रबाट आलोचना र विचलनहरू सधैँ राष्ट्रपतिहरूलाई जवाफदेही बनाउन आवश्यक रहेको छः वाटरगेटको समयमा, कङ्ग्रेसी रिपब्लिकनहरूले अन्ततः निक्सनलाई त्यागे, जसले उनीहरूले आफूलाई समर्थन नगर्ने थाहा पाएर राजीनामा दिए। ट्रम्पको २०२१ को उन्मुक्तिसँगै, कङ्ग्रेसमा रिपब्लिकन सांसदहरूले स्पष्ट गरे कि उनीहरू प्रभावी रूपमा ट्रम्पलाई नियन्त्रण गर्ने जिम्मेवारीबाट बाहिरिएका छन्।

त्यसपछि, जुलाई २०२४ मा, सर्वोच्च अदालत, जो विदेश मामिलामा राष्ट्रपतिको शक्तिलाई नियन्त्रण गर्न कहिल्यै झुकेको थिएन र विशेष गरी राष्ट्रिय सुरक्षा मामिलामा अत्यधिक सम्मानजनक थियो, ले ट्रम्पलाई शाब्दिक रूपमा जेलबाट मुक्त हुने कार्ड दियो, उनको आधिकारिक कर्तव्यसँग सम्बन्धित लगभग कुनै पनि कार्यका लागि पर्याप्त उन्मुक्तिको आनन्द लिने निर्णय गरेर। यो निर्णयले ट्रम्पका सङ्घीय अभियोजनहरूलाई मात्र रोकेन—उनको “स्टप द स्टिल” आन्दोलन र जनवरी ६ सम्बन्धी कार्यहरू, साथै उनको कथित वर्गीकृत कागजातहरूको गलत ह्यान्डलिङका लागि—यसले पनि अत्यधिक असम्भावित बनायो कि ट्रम्पले कहिल्यै सङ्घीय कानुन र संविधानको उल्लङ्घनको लागि जवाफदेही हुनेछन्, जुन उनले आफ्नो दोस्रो कार्यकालको पहिलो केही महिनाहरूमा बारम्बार गरेको तर्क गर्न सकिन्छ।

ह्वाइट हाउसमा व्यक्तिवाद

अन्तर्राष्ट्रिय सम्बन्धका विद्वानहरूले पहिले विश्वलाई प्रजातन्त्र र बाँकी सबैमा विभाजन गर्थे। गैर–प्रजातान्त्रिकहरूको श्रेणीमा इराक राष्ट्रपति सद्दाम हुसेनको नेतृत्वमा र १९९० र २००० को दशकमा चीन, जब यसका नेताहरू नियमित रूपमा परिवर्तन हुन्थे, उनीहरु पनि समावेश हुन्थे । पछिल्लो दशकको विद्वताले तथापि, अधिनायकवादी शासनहरू बीचको वास्तविक भिन्नताहरू र तिनीहरूको विदेश नीति र राष्ट्रिय सुरक्षा छनोटहरूका लागि निहितार्थहरूलाई स्पष्ट गरेको छ। उदाहरणका लागि, राजनीतिक वैज्ञानिक जेसिका वीक्सले देखाए अनुसार केही तानाशाहीहरूमा, नेताहरूले अभिजात वर्गबाट वास्तविक बाधाहरूको सामना गर्छन्, चाहे त्यो चीनको पोलिटब्युरो जस्तो राजनीतिक “मेसिन” नैकिन नहोस् वा सैन्य जुन्तामा जहाँका अधिकारीहरूले नेताको राजनीतिक जीवनको कुरा एक व्यक्तिमा निर्भर गर्दैन। अन्य तानाशाहीहरू वास्तवमा “व्यक्तिवादी” तानाशाहीहरू हुन् जसमा कुनै पनि कुराले नेताको अनिश्चित निर्णयहरू, गलत युद्धहरू शुरू गर्नेसहित, त्यस्ता हर्कतलाई रोक्दैन। यी भिन्नताहरूले एउटै तानाशाही शासनमा समयसँगै परिवर्तनहरू पनि प्रकट गर्छन्। उदाहरणका लागि, चीनमा, चिनियाँ नेता सी जिनपिङले शक्तिलाई यति धेरै केन्द्रीकृत गरेका छन् कि नेताहरूको नियमित परिवर्तन अब हुँदैन।

राजनीतिक वैज्ञानिकहरू स्टिभन लेभिट्स्की र लुकान वेले फरेन अफेयर्समा तर्क गरे अनुसार संयुक्त राज्य अमेरिका प्रतिस्पर्धी अधिनायकवादतर्फ खस्कँदैछ—एक प्रणाली जसमा चुनावहरू, चाहे जति अनुचित भए पनि, अझै हुन्छन् र असहमति, चाहे जति दबाइए पनि, अझै प्रकट भइरहन्छन् । आज, अमेरिकी अदालतहरूले अझै पनि राष्ट्रपतिमा केही नियन्त्रणहरू प्रयोग गरिरहेका छन्, विशेष गरी घरेलु क्षेत्रमा। तथापि, ती चुनौतीहरूको भाग्य अनिश्चित छ, किनभने धेरै मुद्दाहरू अन्ततः सर्वोच्च अदालतमा पुग्नेछन्, जसको रचनाले ट्रम्पलाई पक्षपात गर्छ।

विदेश नीति र राष्ट्रिय सुरक्षा मामिलामा, राष्ट्रपति पदले अब व्यक्तिवादी तानाशाहीके विशेषताहरू बोकेको छ। विदेश मामिलामा राष्ट्रपतिप्रति अदालतहरूको परम्परागत सम्मान परिवर्तन हुने सम्भावना छैन। दोस्रो ट्रम्प प्रशासन, यो सम्मानबारे राम्ररी जानकार, आफ्ना कानुनी रूपमा संदिग्ध कार्यहरूका लागि विदेश नीतिलाई बहाना बनाउँदैछ। उदाहरणका लागि, रुबियोको २०२३ को क्याम्पस विरोध प्रदर्शनहरूमा संलग्न विदेशी विद्यार्थीहरूलाई हिरासतमा लिन र निर्वासन गर्न उत्साहपूर्ण प्रयासहरू १९५२ को कानुनमा निर्भर छन् जहाँ विदेश मन्त्रीले तिनीहरूको “उपस्थिति वा गतिविधिहरू ।।। संयुक्त राज्य अमेरिकाका लागि सम्भावित गम्भीर प्रतिकूल विदेश नीति परिणामहरू” भएको ठान्ने गैरनागरिकहरूलाई हटाउन अनुमति दिन्छ। १९९० मा, कङ्ग्रेसले यो कानुनको प्रयोगलाई धेरै विशिष्ट परिस्थितिहरूमा कडाइका साथ सीमित गर्‍यो, र १९९६ मा, अमेरिकी जिल्ला न्यायाधीश मरियान ट्रम्प ब्यारी—राष्ट्रपतिकी स्वर्गीय बहिनी—ले यो कानुनलाई खारेज गरिन् (यो राय पछि प्राविधिक कारणले उल्टाइयो)। वर्तमान मुद्दाहरूमा, अदालतहरूले प्रशासनलाई हप्काएका छन्, र धेरै विद्यार्थीहरूलाई थप कार्यवाहीहरूको प्रतीक्षामा रिहा गरिएको छ। तर तिनीहरूको भाग्य अनिश्चित रहन्छ, र रुबियोले चिनियाँ विद्यार्थीहरूसहित व्यापक भिसा रद्द गर्ने प्रयासहरूमा अघि बढेका छन्।

प्रशासनले अदालतका आदेशहरूसँग न्यूनतम रूपमा मात्र पालना गरिरहेको छ र धेरै अवस्थामा आधारभूत प्रक्रियागत निष्पक्षतालाई यति छिटो कुल्चिरहेको छ कि अदालतहरूले व्यक्तिहरू र संस्थाहरूलाई ठूलो हानि हुनबाट रोक्न सक्दैनन्। प्रशासनका अधिकारीहरूले बारम्बार विदेश नीतिलाई आफ्नो अतिक्रमणको औचित्य सिद्ध गर्न प्रयोग गरेको तथ्यले देखाउँछ कि उनीहरूले यो क्षेत्रमा आफूसँग भएको कार्यको स्वतन्त्रतालाई राम्ररी बुझेका छन्। वास्तविक राष्ट्रिय सुरक्षा आपतकाल, जस्तै आतङ्कवादी हमला, ले राष्ट्रपतिलाई घरेलु क्षेत्रमा कार्यकारी शक्तिलाई थप विस्तार गर्न अनुमति दिनेछ। ट्रम्पले राष्ट्रपति जवाफदेहीताका अन्तिम धागाहरूलाई काटेका छन्, जसले अर्को राष्ट्रपतिलाई कानुनको सम्मान गर्ने र संविधानलाई कायम राख्ने कि नराख्ने भन्ने निर्णय गर्न छोड्छ।

राष्ट्रपतिमा सीमाहरूको यो लोपले अमेरिकी विदेश नीति र विश्वका लागि खराब संकेत गर्छ। व्यक्तिवादमा विद्वताले अँध्यारो चित्र कोर्छ। बिना कुनै बाधा, नेताको नजिकको सर्कलका अभिजातहरूबाट पनि, व्यक्तिवादी तानाशाहहरूका सैन्य गल्तीहरू, अनिश्चित निर्णयहरू, र आत्म–पराजित नीतिहरूप्रति प्रवृत्त हुन्छन्।

अन्तर्राष्ट्रिय आक्रामकताबाट शुरू गरौँ। धेरै विद्वानहरूले औंल्याए अनुसार व्यक्तिवादी तानाशाहहरू सैन्य रूपमा बढी आक्रामक हुने गर्छन्। उनीहरूले विश्वबाट धेरै कुरा चाहन्छन्, “संशोधनवादी” अडानहरू लिन्छन् जसले उनीहरूको घरेलु र अन्तर्राष्ट्रिय स्थिति बढाउँछ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा ग्रीनल्याण्ड किन्ने बारेमा सोचेः आफ्नो दोस्रो कार्यकालमा, उनले नाटो सहयोगी डेनमार्कविरुद्ध सैन्य बल प्रयोग गरेर यसलाई प्राप्त गर्ने बारे खुल्लमखुल्ला छलफल गरेका छन्।

सेनाको राजनीतिकरण, जुन प्रक्रिया ट्रम्पभन्दा पहिले नै शुरू भएको थियो तर उनले यसलाई सुपरचार्ज गरेका छन्, यो पनि गम्भीर चिन्ताको विषय हो। व्यक्तिवादी तानाशाहहरू सेनासँग डराउँछन् र युद्धक्षेत्रको प्रदर्शनभन्दा आफ्नो शासनका खतराहरूलाई कम गर्न प्राथमिकता दिन्छन्, जसलाई राजनीतिशास्त्री केटलिन टालम्याजले आफ्नो पुस्तक द डिक्टेटर्स आर्मी मा देखाएकी छिन्। यद्यपि संयुक्त राज्य अमेरिकाको सेना अझै त्यो बिन्दुबाट धेरै टाढा छ, ट्रम्पले कमान्डर इनचीफको रूपमा आफ्नो पदको दुरुपयोग गरिरहेका छन्। उदाहरणका लागि, यस महिना उनको आप्रवास नीतिहरूविरुद्धको विरोध प्रदर्शनहरूको जवाफमा, ट्रम्पले स्थानीय नागरिक अधिकारीहरूको आपत्तिको बावजुद लस एन्जलसमा राष्ट्रिय गार्ड र मरीनहरू परिचालन गरेका छन्।

घरमा सन्तुलन र नियन्त्रणको क्षयले विश्वका लागि ठूलो निहितार्थहरू छन्। संयुक्त राज्य अमेरिकाले, राम्रो वा नराम्रो, ८० वर्षदेखि अपूर्ण प्रजातन्त्रको रूपमा विश्व व्यवस्थामा प्रभुत्व जमाएको छ। राजनीतिक वैज्ञानिक जोन इकेनबेरीले लेखेका छन्, १९४५ पछिको अवस्थाले व्यवस्थाको आकार लियो किनभने संयुक्त राज्य अमेरिका, अत्यधिक प्रभुत्वशाली शक्ति, ले नयाँ अन्तर्राष्ट्रिय संस्थाहरूसँग आफूलाई बाँधेर आफ्नो शक्तिमा सीमाहरू स्वीकार गर्‍यो। देशका प्रजातान्त्रिक संस्थाहरूले संयुक्त राज्य अमेरिकालाई यी व्यवस्थाहरूमा विश्वसनीय रूपमा प्रवेश गर्न र रहन अनुमति दियो। संयुक्त राज्य अमेरिकाले त्यो व्यवस्थाको नियमहरू लेख्यो—जुन, निस्सन्देह, संयुक्त राज्य अमेरिकाका लागि अत्यधिक लाभदायक थिए—त्यतिबेला जब राष्ट्रपति अझै पनि अमेरिकी विदेश नीति र राष्ट्रिय सुरक्षाको दीर्घकालीन दृष्टिकोणका लागि कङ्ग्रेसको अनुमोदन खोज्थे। राष्ट्रपति ह्यारी ट्रुम्यानले सोभियत सङ्घसँगको युद्धपछिको प्रतिस्पर्धामा द्विपक्षीय प्रतिबद्धता सुनिश्चित गर्न आफ्नो फेयर डिल आर्थिक र सामाजिक कार्यक्रम जस्ता केही घरेलु प्राथमिकताहरूलाई त्यागेर, कठिन राजनीतिक प्रक्रियाहरूमार्फत त्यो अनुमोदन प्राप्त गर्न काम गरे।

दोस्रो ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय सम्झौताहरू र सङ्गठनहरूबाट फिर्ता हुनृभन्दा धेरै कुरा गरेको छ। नयाँ अमेरिकी सरकारको स्वभाव—जवाफदेही नभएको, गैरकानुनी, अपारदर्शी, भ्रष्ट, मनमौजी, र अनिश्चित—ले यसलाई सहकार्यका लागि खराब साझेदार बनाउँछ। वाशिङ्टनलाई ट्रम्प–अघिको कुनै पनि सामान्य अवस्थामा फर्किन्छ भन्ने कल्पना गर्न गाह्रो छ। ट्रम्पले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई मात्र कम गरेका छैनन्। उनले देशको विश्वमा महत्त्वपूर्ण र विश्वसनीय भूमिका खेल्ने क्षमतालाई खोक्रो बनाएका छन्। यी प्रभावहरू उल्टाउन अत्यधिक कठिन हुनेछ किनभने, ट्रम्पको पहिलो कार्यकालपछि विपरीत, विदेश नीतिलाई दैनिक आधारमा काम गर्न बनाउने संस्थाहरू र सम्बन्धहरू पुनर्निर्माण गर्न अनुभवी पेशेवरहरू कम हुनेछन्।

सहयोगीहरू सहितका विदेशी सरकारहरू, ट्रम्पले कार्यालय छोडेपछि निश्चिन्त हुने छैनन्। एक संयुक्त राज्य अमेरिका जसले दैनिक नीति परिवर्तन गर्न सक्छ, आफ्नो सरकारमा सेवा गर्नेहरूलाई क्रूरतापूर्वक व्यवहार गर्न सक्छ, र लापरवाह कार्यहरू गर्न सक्छ जसले यसका आधारभूत प्रणालीहरूलाई सम्झौता गर्छ र साझा गोप्य कुराहरू र सम्पत्तिहरूलाई जोखिममा पार्छ, त्यो विश्वास गर्न लायक हुँदैन। यसबाहेक, यदि अमेरिकी संस्थाहरू, विशेष गरी कङ्ग्रेस, कार्यशील छैनन्—यदि उनीहरूले विदेश नीति संस्थाहरू र प्राथमिकताहरूलाई प्रतिबद्ध गर्न र कोष प्रदान गर्न महत्त्वपूर्ण कानुनहरू पारित गर्न सक्दैनन्, विधायी खर्च शक्तिलाई कार्यकारीले उचित रूपमा कार्यान्वयन गरेको सुनिश्चित गर्न सक्दैनन्, र राष्ट्रपतिको शक्तिमा नियन्त्रणको रूपमा सेवा गर्न सक्दैनन्—तब अमेरिकी विदेश नीति प्रत्येक नवनिर्वाचित राष्ट्रपतिको मनमौजीपनको कृपामा पूर्ण रूपमा छ।

हिसाबकिताब

यदि अमेरिकी नागरिकहरू, राजनीतिज्ञहरू, र राष्ट्रिय संस्थाहरूमा काम गर्नेहरूले ट्रम्पले कार्यालय छोडेपछि यो भग्नावशेषसँग वास्तविक हिसाबकिताब हासिल गर्ने आशा राख्छन् भने, उनीहरूले दुईवटा कुरा गर्नुपर्छ। पहिलो, उनीहरूले विगतका कानुन र मानदण्डहरूको उल्लङ्घनहरूको सामना गर्ने कठिन तर आवश्यक कार्य गर्नुपर्छ। यो प्रशासनका अधिकारीहरू, मन्त्रिपरिषदका सदस्यहरू सहित, ले आफ्ना कार्यहरूका लागि जवाफ दिनुपर्छः यदि उनीहरूले अपराध गरेका छन् भने अदालतहरू मार्फत र उनीहरूका कार्यहरूको मूल्याङ्कन गर्ने सुनुवाइहरू मार्फत जसले निर्वाचित अधिकारीहरू र जनतालाई उनीहरूले आफ्नो शपथ उल्लङ्घन गरे वा नगरेको न्याय गर्न अनुमति दिन्छ। तर यो महत्त्वपूर्ण हुनेछ कि गैरकानुनी, अनैतिक, वा असंवैधानिक आचरणमा संलग्न भएकाहरू र ट्रम्प प्रशासनको नियमित नीति लक्ष्यहरूमा मात्र सेवा गर्नेहरू बीच रेखा कोर्न। यो रेखा नकोरेमा, भविष्यका राजनीतिज्ञहरूले नीति भिन्नताहरूलाई अपराधीकरण गर्ने जोखिम उठाउनेछन् र कठिन नीति समस्याहरूमा बहसलाई असम्भव बनाउनेछन्।

दोस्रो, उनीहरूले जवाफदेहीताका संस्थाहरू र संयन्त्रहरूलाई पुनर्जनन र पुनःपूर्ति गर्नुपर्छ। राष्ट्रपतिहरूले आफ्नो शक्तिमा नियन्त्रणहरूको ग्यारेन्टी गर्न चाहनुपर्छ—नेताहरूले अर्को पार्टीको राष्ट्रपतिले बिना कुनै बाधा सञ्चालन गर्न सक्यो भने कस्तो महसुस गर्नेछन् भनेर सोच्नुपर्छ। कङ्ग्रेसले कार्यकारीलाई नियन्त्रण गर्न भूमिका खेल्न सक्छ र खेल्नुपर्छ। तर अत्यधिक ध्रुवीकरण, गायब विशेषज्ञता, र विधायी कायरताको युगमा, कङ्ग्रेसले सम्भवतः राष्ट्रपतिको शक्तिको अतिरिक्तलाई नियन्त्रण गर्ने आफ्नो जिम्मेवारीबाट पन्छिने शैलीलाई जारी राख्नेछ।

त्यसैले विधायिकाले केही स्वचालित निगरानी र जवाफदेहीताका रूपहरू विकास गर्नुपर्छ र यसरी कङ्ग्रेसले कार्यकारीलाई नियन्त्रण गर्ने काम गर्नुपर्छ कि भनेर राजनीतिक छनोटलाई निरर्थक बनाउनुपर्छ। उदाहरणका लागि, कङ्ग्रेसले कङ्ग्रेसी रिपोर्टिङ आवश्यकताहरूको लामो समयदेखिको संयन्त्रको प्रयोगलाई विस्तार गर्न सक्छ। यी मध्ये धेरैजसो लिखित प्रतिवेदनहरू छन् जुन कङ्ग्रेसले कार्यकारी शाखाबाट माग गर्छ, तर कङ्ग्रेसले उच्च–स्तरीय सुनुवाइहरूलाई संस्थागत गर्न सक्छ जसले शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीहरूलाई नियमित रूपमा विधायिका समक्ष उपस्थित हुन बाध्य पार्छ। कङ्ग्रेसका सदस्यहरूले राष्ट्रपतिलाई वार्षिक एकभन्दा बढी सम्बोधन गर्न वा प्रत्यक्ष रूपमा प्रश्नहरूको जवाफ दिन आमन्त्रण गर्न सक्छन्। विधायिकाको शक्तिलाई फेरि ह्वाइट हाउससम्म पुग्नका लागि, कङ्ग्रेसले नीति प्रश्नहरू सोध्ने र राष्ट्रपतिले तिनको जवाफ दिनुपर्ने वा राजनीतिक लागतहरूको सामना गर्नुपर्ने राजनीतिक अपेक्षालाई पुनर्जनन गर्नुपर्छ।

दोस्रो ट्रम्प प्रशासनले भविष्यको अमेरिकी विदेश नीतिका लागि—कुनै पनि पार्टीको नेतृत्वमा—पहिल्यै गम्भीर परिणामहरू ल्याएको छ। यदि विदेश नीतिका लागि राष्ट्रपति जवाफदेहीताको पुनर्निर्माण गर्ने गम्भीर हिसाबकिताबको प्रयास भएन भने, अमेरिकीहरूले थप सैन्य परेडहरू मात्र होइन, थप सैन्य गल्तीहरू, अप्रत्याशित व्यापार सम्बन्धहरू, र अत्यधिक अनिश्चित भविष्यमा अस्थिर विदेश–नीति निर्माणको अपेक्षा गर्नुपर्छ।

एलिजाबेथ एन. सन्डर्स कोलम्बिया विश्वविद्यालयमा राजनीति विज्ञानकी प्राध्यापक, ब्रूकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय वरिष्ठ फेलो, र द इन्साइडर्स गेमस् हाउ एलिट्स मेक वॉर एन्ड पीस पुस्तककी लेखिका हुन्।

जून १६,२०२५ फरेन अफेयर्सबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com