काठमाडौं। राइड शेयरिङ, अर्थात् पठाओ, टुटल जस्ता निजी सवारी साधनले दिने सेवा काठमाडौं उपत्यकामा फस्टाएको छ । दैनिक १ लाखको हाराहारीमा काठमाडौंका आम नागरिकले राइड शेयरिङ सेवा लिन्छन् । तर सञ्चालनको ५ वर्ष बित्दा पनि यसलाई नियमन गर्ने कानुन ल्याउन भने सरकारले सकेको छैन । सरकारले राइड शेयरिङलाई नियमन गर्न न कानुन ल्याएको छ, न त रोक्ने आदेश नै दिएको छ । जसका कारण नियमनकारी निकायलाई यसबारे गुनासो आए पनि के कारबाही गर्ने भन्ने नै स्पष्ट छैन । काठमाडौं उपत्यकामा झन्डै २ दर्जन राइडशेयरिङ एप दर्ता छन् ।
तिनमा करिब १ लाख ५० हजार प्रत्यक्ष रोजगारमा गाँसिएका छन् भने दैनिक १ लाखसम्मले सेवा लिने गरेका छन् । तर नियमन गर्ने कानुन नबन्दा यिनलाई करको दायरामा ल्याउनेदेखि कम्पनी दर्तासम्म के आधारमा गर्ने भन्ने स्पष्ट छैन । झन् कम्पनीलाई बुझाउनु पर्ने कमिसनले राइडर सधै असन्तुष्ट रहँदा अफलाईन राइड विकृतिका रूपमा फैलिएको छ ।
निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनले आफूखुसी भाडा तोकेर सार्वजनिक सवारीको रूपमा सञ्चालन गर्न पाइँदैन तर राइड सेयरिङले यात्रुलाई सुविधा त दिइरहेका छन्, तर दुर्घटना भइहाले क्षतिपूर्ति, बिमालगायतका विषय के हुने भन्ने जटिलता छन् । अचेल बस स्टप, रेस्टुरेन्ट, कुनै पर्यटकीय स्थल वरिपरि मोटरसाइकल चालकहरु झुम्मिएको देखिन्छ । तीमध्ये कतिपयले सार्वजनिक सवारीका सहचालकले फलाकेजस्तै गरी ‘आउनुहोस् सस्तोमा लगिदिन्छु’ भनेको समेत सुन्न पाइन्छ । परम्परागत रुपमा ट्याक्सी चालकले गरेजस्तै यात्रुलाई घेराबन्दी गर्नेहरु समेत भेटिने गरेका छन् ।
आधिकारिक रुपमा सञ्चार माध्यममा आएका एकाध घटनामा राइड सेयरिङले अपराध र अपराधीलाई सहजीकरण गरेको तथा कतिपय अवस्थामा ‘राइडर’ स्वयं संलग्न भएका उदाहरण समेत छन् । यी प्रतिनिधि घटनाहरुको पाठ सुरक्षा र राइड सेयरिङको दुरुपयोगबाट हुने जोखिम न्युनीकरण गर्न महत्वपूर्ण हुनसक्छ । राइड सेयरिङ सेवा आफैमा गलत हुँदै होईन । कुनैपनि व्यवसाय आफैमा ठीक होकि होईन भन्ने प्रश्नभन्दा पनि समाजमा त्यसको अभ्यास कसरी हुन्छ ? भन्ने विषय महत्वपूर्ण हुन आउँछ । हाम्रो अनुभवले राइड सेयरिङलाई जोखिममुक्त र स्वस्थ व्यवसायको रुपमा सञ्चालन गर्नका लागि धेरै विषयको सम्बोधन हुनुपर्ने देखिन्छ ।
नियामक निकायले हालसम्म ‘राइडर’को अनुभव, योग्यता र सवारी साधनको प्राविधिक पक्षलाई सम्बोधन गर्नसकेको देखिँदैन । सेवाग्राहीले अनलाईन वा अफलाईन बुकिङ गरी प्रयोग गर्ने सवारी चालकको योग्यता, अनुभव र सवारी साधनको प्राविधिक पक्षबारे खासै जानकारी नपाउने अवस्था तत्काल अन्त्य हुनु जरुरी छ । यता उनिहरुको कुशल चालक हुन या हैन एउटा लाइसेन्स र सवारी दर्ता कागतको भरमा उनिहरुलाई कम्पनीले बजारमा पठाई दिएको छ । पछिल्लो समय यस्ता खालका राइड सेयरिङले गर्दा दुर्घटना बढ्दो देखिन्छ ।
उनिहरुको अव्यवस्थित तरिकाले सडकनै छोप्ने गरि जथाभावी पर्किङ गर्ने सडकको छेउ छाउमा उभिएको मानिस देख्ने वित्तिकै पठाओ भन्दै मानिसलाई झन्झट लगाउने ब्यहोराले आम मानिस आजित भएका छन् ।
अर्को तर्फ कतिपय राइडहरुले कम्पनी एउटा सवारी साधन दर्ता बजारमा पुरानो जोखिम युक्त सवारी साधन प्रयोग गरेको पाएको छ । यसको जिम्मा कस्ले लिने ? पछिल्लो समय बजारमा आएका राइडहरुले सामान्य गुगल म्याप समेत हेर्न नजान्ने सेवाग्रहीले नै बाटो देखाउदै लैजानु परेको अवस्था रहेको छ, यसले गर्दा कम्पनीले उनिहरुलाई बजारमा पठाउदा सामान्य जानकारी समेत नदिएको बुझ्न सकिन्छ ।
यस्ता सेवा दिनेहरुका पछिल्ला घटना क्रम हेर्ने हो भने पनि समाजमा राम्रो छाप देखिदैन । अनलाइन राइड शेअरिङमा दर्ता नभएका कतिपय व्यक्तिले पनि त्यसरी अफलाइन राइड गर्ने गरेका पाइएको छ। अफलाइन राइडरहरूले प्रयोगकर्तासँग मोलमोलाइ गरी बढी रकम लिने गरेका, यात्रीलाई गन्तव्यमा नपुर्याउने गरेका विवरण पटक पटक आउने गरेका छन्। तर ती समस्याबाहेक सुरक्षासम्बन्धी चुनौती पनि थपिएको छ ।
एकातर्फ अफलाइन राइडरबाट सेवा लिँदा ग्राहकलाई घाटा हुन्छ भने अर्कोतर्फ तिनीहरू आपराधिक गतिविधिमा हुनसक्ने देखिन्छ । त्यो सँगसँगै अफलाइन राइडरहरूले ग्राहकबाट बढी भाडा लिने गरेका र मादक पदार्थ सेवन गरेका कतिपय राइडरले सुरक्षित रूपमा गन्तव्यमा नपुर्याएका घटना पनि भएका छन्। अफलाइन राइडरले ग्राहकका पर्स नै लुटेर भागे भने के गर्ने, गरगहना लिएर भागे भने के गर्ने ? कमिसन दिन नपर्ने लोभमा कतिपय राइडरले अफलाइन सेवा दिने गरेका स्वयं राइडरहरू नै बताउँछन्। हाल उपत्यकामा विभिन्न कम्पनीमा आबद्ध करिब डेढ लाख राइडले दैनिकजसो सेवा दिइरहेका छन् । जसमध्ये राइडरले अफलाइन सेवा बढी दिने गरेको पाइन्छ ।
पठाओ नेपालसँग मात्रै दुई पाङ्ग्रेमा एक लाख ५० हजार र चार पाङ्ग्रेको हकमा करिब सात हजार राइडर दर्ता भएका छन् भने हालसम्म ३५ लाख यात्रु आबद्ध भएका छन् । पछिल्लो समय विमानस्थल, माइक्रोस्ट्याण्ड, बसपार्क, व्यस्त चोक तथा गल्लीमा अफलाइन यात्रा गर्ने चालक यात्रुसँग मोलमोलाइ गरिरहेको भेट्न सकिन्छ । सीमित कमिसन जोगाउने दाउका साथै थोरै भए पनि अतिरिक्त शुल्क पाउँछु कि भन्ने लोभमा राइडर ग्राहकसँग मोलमोलाइ गरिरहेको दृश्य अचेल सामान्य भइसकेको छ । यात्रुहरु पनि मोबाइलको डाटा खर्चेर अनलाइनका लागि ‘रिक्वेस्ट’ पठाउन र थोरै समय कुर्नुपर्ने सजिलो विधि अपनाउन छाडेर महँगो शुल्क तिरेर असुरक्षित यात्रा गरिरहेको देख्न सकिन्छ । अफलाइन यात्रा कतिसम्म असुरक्षित छ भने बढी शुल्क लिनेदेखि यौन दुव्र्यवहारसम्मका घटनामा यात्रुलाई उजुरी गर्न पनि निकै गाह्रो हुन्छ भने दुर्घटना भइहाल्यो भने क्षतिपूर्तिबापत बीमाको सुविधाबाट पनि यात्रु वञ्चित भइन्छ ।
राइड सेयरिङ एपमध्ये पठाओ नेपाल प्रालिले यात्रुको पनि बीमा गरेको छ । यात्राको अवधिमा कुनै दुर्घटना भयो भने उपचारलगायतको खर्च बीमाले पूर्ति गर्छ तर यसका लागि अनलाइनमै यात्रा गरेको हुनुपर्छ । अफलाइन यात्रा गरेको हो भने यात्रु वा चालक दुवै बीमाको सुविधाबाट वञ्चित हुन्छन् ।
यता यातायात क्षेत्र संवद्ध संघ संस्थाले सात बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । यातायातसँग सम्बन्धित संघीय ऐन विपरित सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी सरकारले राजपत्रमा प्रकाशित गरी ल्याएको राइड शेयरिङको विरोधमा आन्दोलनको घोषणा गरिएको हो । मंगलवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित ८ वटा संघसंस्थाले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले राइड शेयरिङका कारण सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्थामा पुगेको बताएका छन् । हाँले राइड शेयरिङका नाममा प्राइभेट नम्बर प्लेटका गाडीले सार्वजनिक सवारी साधनको जसरी काम गर्न नपाउने स्पष्ट उनले स्पष्ट समेत पारे ।


















प्रतिक्रिया दिनुहोस्