काठमाडौं १० बैशाख । भारतको जम्मु र कश्मीरको पहलगाम नजिकैको , ‘मिनी स्विट्जरलैंड’ भनिने बैसारन मेडोजमा अप्रिल २२ मा भीषण आतंकवादी हमला भएको छ । पाकिस्तान–समर्थित लश्कर–ए–तोइबाको शाखा द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) का हतियारधारीहरुले दुर्गम मेडोमा पर्यटकहरूको समूहमाथि आक्रमण गरेका थिए । आक्रमण परी कम्तीमा २८ जनाको हत्या भएको छ । हत्या भएका मध्येका एक नेपाली समेत रहेको भारतीय अधिकारीहरुले जनाएका छन् । । मृतकहरूमा धेरैजसो हिन्दु तीर्थयात्री र पर्यटक रहेका छन् ।

आतंककारीहरुले निहत्था पुरुष, महिला र बालबालिकामाथि १५–२० मिनेटसम्म अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणमा २० भन्दा बढी घाइते भएका छन् । बाँचेकाहरूका अनुसार, हमलावरहरूले इस्लामिक नारा चिच्याउँदै विशेष रूपमा हिन्दुजस्ता देखिनेहरूलाई निशाना बनाएका थिए । सुरक्षा बलहरू सडकविहीन यो स्थानमा पुग्नुअघि नै आक्रमणकारीहरु जंगल र पहाडी बाटो हुँदै भागेको बताइएको छ ।
विश्वभरबाट निन्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा भारतसँग एकताको भावना व्यक्त गर्दै लेखेका छन्, ‘कश्मीरबाट आएको समाचार अत्यन्तै विचलित गर्ने छ। संयुक्त राज्य अमेरिका भारतसँग आतंकवादविरुद्ध दृढतापूर्वक उभिएको छ।’ उनले मृतकहरूको आत्माको शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् र
इजरायलका विदेश मन्त्री गिडोन सआरले यो आक्रमणलाई इस्लामवादी आतंकविरुद्धको लडाइसँग जोड्दै निन्दा गरेका छन् । इरानले यो ‘जघन्य आतंकवादी अपराध’भन्दै निन्दा गरेको छ । इरानले क्षेत्रीय सहयोग बलियो बनाउन आग्रह गरेको न्यूजविकले लेखेको छ । भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स, ले पनि ‘विनाशकारी आक्रमण’ को निन्दा गरेका छन् ।
रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले यसखाले आक्रमणलाई कुनै पनि हालतमा छुट दिन नहुने बताएका छन् ।
बाँचेकाहरूको दर्दनाक कथा
आक्रमणपछि बाँचेकाहरूको कथाले क्रूरता र आक्रमणकारीहरूको अवस्थालाई बाहिर ल्याएको छ । कर्नाटककी पल्लवी रावले आफ्ना पति मञ्जुनाथ रावलाई १० वर्षीय छोराको अगाडि गोली हानिएको देखिन्। उनले पत्रकारहरूसँग भनिन्, ूहमलावरले मलाई मार्न छोडे र भने, ‘जाऊ र मोदीलाई यो कुरा भन।’ू यो टिप्पणीले आक्रमणकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिन र हिन्दु पर्यटकहरूमा डर फैलाउन खोजेको देखाउँछ।
स्थानीय मुस्लिम गाउँलेहरूले वीरतापूर्वक पर्यटकहरूलाई जोगाउन खोजेका थिए। केहीले गोली चलिरहँदा उनीहरूलाई खाल्डोमा लुकाएका थिए भने धेरैले घाइतेहरूलाई अस्थायी स्ट्रेचरमा तल हालेर स्वास्थ्य केन्द्रतिर लगेका थिए । आक्रमणको विरोध र मृतकहरुप्रति शोक व्यक्त गर्न पहलगाम र श्रीनगरमा स्थानीयहरूले मैनबत्ती जुलुस निकालेका थिए । ूपर्यटकहरू हाम्रा पाहुना हुन्—निशाना होइनन्ू लेखिएका प्लेकार्ड बोकेर उनीहरुले शोक व्यक्त गरेका दृश्य भारतीय मिडियाहरुको रिपोर्टमा देखाइएको छ ।
आक्रमणको पृष्ठभूमि
स्रोतहरूका अनुसार, भारतीय गुप्तचर समुदायलाई यस्तो आक्रमणको आशंका थियो, तर यति ठूलो स्तरमा र निहत्था नागरिकहरूलाई निशाना बनाइने अनुमान नगरेको बताइएको छ । टीआरएफले सामाजिक सञ्जालमा आफ्नो सन्देश जारी गर्दै भारतको डोमिसाइल नीतिलाई चुनौति दिएको भन्दै गैर–स्थानीय हिन्दुहरूलाई ूबसोबासकर्ताू बनाइएकाले थप आक्रमण गर्ने चेतावनी दिएको सामाजिक सन्जालमा भाइरल भएको छ।
अमेरिकी मिडिया रिपोर्टमा अप्रिल १८ मा पाकिस्तान प्रशासित कश्मीरको रावलाकोटमा लश्करएताइबा कमाण्डर अबु मूसाले जिहादी र्यालीमा धार्मिक युद्धको आह्वान गरेको उल्लेख गरिएको छ । पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीरले अप्रिल १६ मा इस्लामाबादमा कश्मीरलाई ‘पाकिस्तानको नशा’ भन्दै जिहादी विद्रोहलाई समर्थन गर्ने सन्देश प्रवाहित गरेको उल्लेख गरिएको छ । भारतीय विश्लेषकहरूले यस्तो बयानवाजीलाई पाकिस्तानको सेनाले जिहादी प्रोक्सीहरूलाई संरक्षण दिएको रुपमा लिएका छन् ।
साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले आक्रमणको कडा निन्दा गरे। उनले भने, ‘यो जघन्य कार्यका पछाडि रहेकाहरूलाई न्यायको कठघरामा ल्याइनेछ। उनीहरूको दुष्ट एजेन्डा कहिल्यै सफल हुने छैन।’ भारतले आतंकवादविरुद्धको लडाइमा आफ्नो संकल्प बलियो भएको दोहोर्यायो।
पहिलेका हमलाहरु
पहलगाम नरसंहार कश्मीरमा तीर्थयात्री र पर्यटकहरूलाई निशाना बनाउने आतंकवादी हिंसाको डरलाग्दो ढाँचाको हिस्सा हो। विगतमा अमरनाथ यात्रा (२०१७), कटरा बस विस्फोट (२०२२), धांग्री नरसंहार (२०२३), रियासी बस आक्रमण (२०२४) र कठुआ भिडन्त (२०२५) जस्ता घटनाहरूले पाकिस्तान आधारित जिहादी समूहहरूको क्रूरतापूर्ण रणनीति देखाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यो नरसंहार २०१९ को पुलवामा बम विस्फोटपछिको कश्मीरमा नागरिकमाथिको सबैभन्दा घातक आक्रमण हो। भारतीय अधिकारीहरूले यसलाई पाकिस्तानको ूसीमापार प्रोक्सी युद्धू को हिस्सा ठान्छन्, जसले कश्मीरलाई अस्थिर बनाउन खोज्छ।
प्रतिक्रिया दिनुहोस्