काठमाडौं २४ फागुन । काठमाण्डौका विभिन्न ठाउँमा आज ४ देखि ५ घण्टासम्म बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको २ वटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रहरूमा आज दिउँसो विद्युत् अवरुद्ध हुने भएको हो ।
मातातीर्थदेखि बौथली चोकसम्म कन्डक्टर अपग्रेडिङ कार्यका लागि बलम्बु वितरण केन्द्रको मातातीर्थ फिडर शटडाउनमा राख्नुपर्ने भएकाले त्यस क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । त्यस्तै सतुङ्गल फिडर अन्तर्गतका कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत सब स्टेशनबाट ब्रिटिश पर्खाल, फ्रान्सेली राजदूतावास, र्याडिसन होटल, भारतीय राजदूतावास, खुर्सानीटार, साङ्ग्रिला होटेल हुँदै महाराजगञ्ज वितरण केन्द्रतर्फको क्षेत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । निर्धारित समय अगाडि नै काम सकिए लगत्तै सेवा शुरू हुने प्राधिकरणले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्