देशकै ध्यान मधेसतिर तानिदैछ : प्रचण्ड
सर्लाही, २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको बताएका छन् ।

जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेपछि अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उनको बुझाई छ । माओवादी अभियानले मधेसका समस्या पहिचानमा फाइदा पुगेको दावी गरेका छन् । मधेसी जनताले भोगेको विभेद र अपमान मदेसको मात्रै नभई देशकै समस्या भएकाले मधेसी जनताको पहिचान, अधिकार र आर्थिक सामाजिक रुपान्तरण देशकै मुद्दा भएको उनले बताए ।

झापाबाट सुरु भएको अभियान सर्लाही पुग्दासम्म जनतामा ठूलो उत्साह देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो अभियान कन्चनपुर पुगेर सकिँदासम्म तराई मधेस जुरुक्कै उठ्ने विश्वास लिएका छन् ।
, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले स्पष्ट गरे । अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताएका छन् ।

राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्टीकरण दिए ।

जसपाका युवा नेता प्रमोद साहको पार्टी प्रवेशले मधेसको राजनीतिक नक्सा फेरिने उल्लेख गर्दै उनले सर्लाही माओवादीमय बन्ने र आगामी निर्वाचनमा सबै क्षेत्रमा जीतको आधार तयार भएको बताए ।
जसपाका पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश
जसपाका नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीको तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।

साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०७८ देखि प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए।
पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको बताए ।
अहिले काङ्ग्रेस र एमाले पहिचान बिरोधी दलको रुपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने बताए। अब आफू माओवादी आन्दोलनमा रहेर पहिचान, अधिकार र सुशासनको पक्षमा अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
उनीसँगै केही जसपा नेपालसहित विभिन्न दलका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी सचिवालयले जनाएको छ ।

हुलाकी मार्ग अभियानमा माओवादीले सर्लाहीका विभिन्न चोकचोकमा कोणसभा गरेको छ ।
फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरीहुँदै सर्लाही आएको हो । आजै सर्लाहीका कार्यक्रम सकेर अभियान टोली रौतहट पुगेको छ ।

विहान ६ बजे मर्निङ वाक गरेर सुरु गरिने अभियानका कार्यक्रम राति ९ बजेसम्म चल्ने गरेका छन् । अभियानको क्रममा सडकैभरि फूलमाला बोकेर उभिएका सयौं कार्यकर्ता र शुभेच्छुकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरुलाई स्वागत गर्ने गरेका छन् ।

स्वागतमा सबै उमेर समूह र बढी महिलाहरु सडकमा आउने गरेका छन् । स्वागतपछि चोकचोकमा चोक सभा हुने गरेको छ भने एक जिल्लामा एक मुख्य सभा हुने गरेको छ।
सर्लाहीमा प्रवेश गरेपछि हिजोदेखि विभिन्न स्थानमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका स्थानीय कमिटीहरुले संयुक्त स्वागत कार्यक्रम राखेका छन्। सो पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि अभियानमा सहभागी छन् ।

हुलाकी मार्गमा पर्ने स्थानीय तहहरुले अभियान टोलीलाई स्वागत गरिरहेका छन् । जुन दलबाट जितेका जनप्रतिनिधि भए पनि पूर्वप्रधानमन्त्रीसहित देशका शीर्ष नेता गाउँमा आउनुलाई अवसरको रुपमा लिएर उनीहरुले स्वागत गर्ने गरेका छन् ।

अभियान टोलीले जनताकै घरमा सामूहिक रुपमा खाना खाने र बाँडिएर बस्ने गरेको छ। आज सर्लाहीमा अभियान टोली विहानै पर्सा गाउँपालिकाको मुस्लिम वस्तीमा पुगेर रमजानको शुभकामना आदान प्रदान गरेको थियो । त्यसपछि चन्द्रनगर, ब्रह्म्पुरी गाउँपालिकाका विभिन्न स्थानमा जनभेट्घाट, स्वागत र चोकसभा सप्पन्न भएका छन् भने मङ्गलवामा जनसभा जनसभा गरेपछि रौतहट जिल्लामा पुगेर बास बसेको जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्