काठमाडौं १९ फागुन । परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत अवस्थामा ज्यान गुमाएकी रूपन्देहीको सिद्धार्थनगर–८ की छात्रा प्रकृति लम्सालका अभिभावकसित भेटघाट गरेका छन् ।
छोरीको मृत्युपछि शोकमा रहेका आमाबुवा र आफन्तजनसित प्रकृतिको मामाघरमा पुगेर सोमबार अपराह्न भेटघाट गरी समवेदना प्रकट गरेको परराष्ट्रमन्त्री राणाले जनाएकी छन् ।
‘प्रकृतिको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनबमोजिम कडा कारबाहीका लागि मैले सुरुदेखि कूटनीतिक पहल जारी राखेकी हुँ,’ आफ्नो फेसबुक पेजमा भेटघाटको तस्बिर विवरण उल्लेख गर्दै राणाले भनेकी छन्, ‘आज पनि प्रकृतिलाई न्याय दिलाउने कुरा परिवारलाई जानकारी गराएँ ।’
प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे गत सातामात्रै ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसित फोनमा कुराकानी गरेको उनले उल्लेख गरेकी छन् । ‘मुख्यमन्त्री माझीसित मैले प्रकृतिको मृत्युबारे निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कारबाहीका लागि अनुरोध गरिसकेकी छु ।’ साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित पठनपाठनको वातावरण बनाउन पनि अनुरोध गरेको उनले बताइन् ।
‘यस घटनालाई ओडिसा राज्य सरकारले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीलाई कारबाही गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको मुख्यमन्त्री माझीले जानकारी दिनुभएको छ,’ मन्त्री राणाले लेखेकी छन्, ‘यस विषयमा सम्बन्धित कलेजले पनि समिति बनाएको र नयाँदिल्लीस्थित दूताबासबाट पनि कूटनीतिक कर्मचारी खटिरहेकाले समन्वयका लागि माझीसित अनुरोध गरेकी छु ।’








प्रतिक्रिया दिनुहोस्