काठमाडौं १९ फागुन । सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेको छ। आज बिहान करिब ८ बजेतिर सप्तकोसी नगरपालिका वडा नम्बर( १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो।
बाघले केही व्यक्तिलाई आक्रमण गरेको छ। बिहानै गाउँ पसेको बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुर र कोसी टप्पु वन्यजन्तु आरक्षको टोली परिचालित भएको छ।
ठूलो संख्यामा रहेको टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरे पनि अहिलेसम्म नसकेको डिभिजन वन कार्यालय सप्तरीका सूचना अधिकारी बैजनाथ मण्डलले जानकारी दिए। उनले भने, ‘बिहानै जंगलबाट गाउँमा पसेको बाघलाई नियन्त्रणमा लिने प्रयास अहिले पनि जारी छ।’
शिवालय टोलमा रहेको रिजन गोसाईंको घरमा छिरेर बाघले उनी माथि आक्रमण गरेको छ। त्यहाँबाट बाघलाई नियन्त्रणमा लिन डार्ट गोली हानिएको भए पनि बाघ नियन्त्रणमा आउन सकेन।
त्यहाँबाट निस्किएको बाघले गणेश खत्रीको घरमा पुगेर उनी माथिसमेत आक्रमण गरेको छ। उक्त बाघले लगत्तै स्थानीय कृष्ण विष्टलाई आक्रमण गरेको रक्तमाला सामुदायिक वनका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिए।








प्रतिक्रिया दिनुहोस्