काठमाडौं १९ फागुन । गएको असोजमा आएको बाढी पहिरोबाट प्रभावित काभ्रेका पीडित परिवारले अझै सरकारी राहत–अनुदान पाउन सकेका छैनन् ।
बाढी पहिरो गएको पाँच महिनासम्म पालिकाले प्रभावितको तथ्याङ्क नपठाउँदा राहत तथा अनुदान वितरणमा ढिलाइ भएको हो ।
विपद् व्यवस्थापन समिति काभ्रेले बैठकमार्फत पालिकालाई पटक–पटक गाँस–बास–कपास गुमाएकालाई राहत दिन प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ ।
राहत–अनुदानका लागि पालिकाले लाभग्राहीको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलमा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ ।
जिल्लाका १३ पालिकामध्ये पाँच वटाले मात्रै अस्थायी आवास निर्माणका लागि लाभग्राहीको यकिन विवरण टुङ्गो लगाएको समितिले जनाएको छ । समितिको गएको बिहीवारको बैठकले तत्काल विवरण प्रविष्ट गर्न ताकेता गर्ने निर्णयसमेत गरेको थियो ।
धुलिखेल र नमोबुद्ध नगरपालिका तथा रोशी, चौरैदेउराली र महाभारत गाउँपालिकाले लाभग्राहीको विवरण प्राधिकरणको विपद् पोर्टलमा प्रविष्ट गरेका छन् । अति प्रभावित मानिएका बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिकाले भने पूर्ण विवरण भरेका छैनन् ।
प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने छ ।








प्रतिक्रिया दिनुहोस्