निक्सन र किसिन्जरको १९७० को रणनीतिभन्दा फरक, यो रणनीतिले पश्चिमलाई विभाजनको खतरा उत्पन्न गर्छ

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा मस्कोमा एकसाथ टोस्ट गरेका थिए।
राष्ट्रपति डोनाल्ड ट्रम्पको रुस र भ्लादिमिर पुटिनप्रति अचानक देखिएको समर्थन मस्को र बेइजिङबीच फाटो ल्याउने रणनीतिबाट प्रेरित छ। यो “उल्टो निक्सन” रणनीति हो, जसले सन् १९७० मा निक्सनले चीनसँग सम्बन्ध सुधारेर सोभियत संघलाई कमजोर बनाएको नीतिको विपरीत काम गर्छ। तर, यो प्रयासले रुस र चीनलाई अलग गर्नुभन्दा पश्चिमी मुलुकहरूबीच विभाजन ल्याएको छ। ट्रम्पको युक्रेन नीति र रुससँगको नजिकाइले युरोपेली सहयोगीहरूलाई टाढा बनाएको छ, जबकि रुसले चीन, इरान, र उत्तर कोरियासँगको गठबन्धन बलियो बनाइरहेको छ। विदेश नीति विज्ञहरूले यो रणनीति प्रभावकारी नहुने र अमेरिकाको विश्वसनीयतामाथि प्रश्न उठाउने चेतावनी दिएका छन्।
राष्ट्रपति ट्रम्पको रुस र यसको अधिनायकवादी नेता भ्लादिमिर पुटिनप्रति अचानक र उत्साहपूर्ण अँगालो आंशिक रूपमा मस्को र बेइजिङबीच फाटो ल्याउने रणनीतिक इच्छाद्वारा प्रेरित छ। यी दुई शक्तिहरूले लामो समयदेखि अमेरिकी प्रभुत्वमा रहेको अन्तरराष्ट्रिय व्यवस्थालाई अन्त्य गर्न खोजेका छन
विदेश नीति विज्ञहरूले यो प्रयासलाई “उल्टो निक्सन“ (रिभर्स निक्सन) को संज्ञा दिएका छन्। यो नाम सन् १९७० को प्रारम्भमा राष्ट्रपति रिचर्ड निक्सनले अमेरिकी नीतिलाई उल्ट्याएर कम्युनिस्ट चीनसँग नजिकिएको र माओ त्से–तुङ र सोभियत संघबीचको विभाजनलाई गहिरो बनाउने प्रयास गरेको घटनाबाट आएको हो। त्यो निर्णयले शीतयुद्धको भूराजनीतिलाई पुनस्र्थापित ग¥यो र चीनको आर्थिक विकासको आधार तयार ग¥यो।
अहिले रुस र चीनलाई अलग गर्नु—यी दुई अधिनायकवादी देशले सन् २०२२ मा आफ्नो मित्रताको “कुनै सीमा नभएको“ घोषणा गरेका थिए— यो कठिन छ । दुवै देशले सैन्य र गुप्तचर सहयोग गहिरो बनाएका छन् र आफ्नो विदेश नीतिलाई एकरूप बनाएका छन्। चीनले रुसलाई आवश्यक आर्थिक सहयोग प्रदान गर्छ, जसमा सैन्य उद्योगमा प्रयोग हुने कम्प्युटर चिप्स र मेसिन उपकरणहरू पनि रहेका छन् ।
रुसलाई समर्थन गर्न र युक्रेनबाट पछि हटेर वासिङ्टनले आफ्ना युरोपेली सहयोगीहरूलाई पहिल्यै नै टाढा बनाइसकेको छ। युरोप सामूहिक रूपमा अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र शीर्ष विदेशी लगानीकर्ता हो। अमेरिकी विदेश नीतिमा अचानक आएको यो यू–टर्नले एशियाका साझेदारहरूलाई पनि तर्साउन सक्छ, जसलाई अमेरिकाले चीनसँगको कुनै पनि द्वन्द्वमा आफ्नो पक्षमा राख्न चाहन्छ।
बुधबार, ट्रम्पले रुसी प्रचारलाई प्रतिध्वनित गरे र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि आक्रोशको बाढी चलाए। उनले जेलेन्स्कीलाई तानाशाह भने र सन् २०२२ मा पुटिनले आफ्नो सानो छिमेकीमाथि पूर्ण आक्रमणको आदेश दिँदा शुरू भएको युद्धको दोष किभलाई दिए।
यो आक्रोश, यस महिनाको शुरूमा म्युनिखमा उपराष्ट्रपति जेडी भ्यान्सले युरोपेली नेताहरूलाई दिएको कटु भाषण र युक्रेनप्रति अमेरिकी समर्थन घट्दै गएको अन्य संकेतहरूले अमेरिका र यसका ट्रान्स–एट्लान्टिक सहयोगीहरूबीच पछिल्ला केही दशककै सबैभन्दा ठूलो दरार उत्पन्न गरेको छ।

सन् १९७२ मा बेइजिङमा राष्ट्रपति रिचर्ड निक्सन र चिनियाँ प्रधानमन्त्री चाउ एनलाई।
फोटोः एपी
जब रिचर्ड निक्सन र उनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले १९७० को प्रारम्भमा चीन नीतिलाई उल्ट्याए, उनीहरूले मस्को र बेइजिङबीचको विद्यमान टकरावको फाइदा उठाए।
आखिरमा, चीन र सोभियत संघले सन् १९६९ मा सीमा युद्ध लडेका थिए र एकअर्कालाई कम्युनिस्ट शिक्षाबाट विचलित भएको सार्वजनिक रूपमा आरोप लगाएका थिए। त्यसपछिको वासिङ्टन र बेइजिङबीचको सहकार्यले सोभियत संघको विश्वव्यापी प्रभावलाई कमजोर बनायो।
अहिले भइरहेको कुरा “उल्टो निक्सनको उल्टो“ हो, पूर्व वरिष्ठ विदेश विभाग अधिकारी र हाल वासिङ्टनको थिङ्क ट्याङ्क कार्नेगी एन्डोमेन्ट फर इन्टरनेशनल पिसमा रहेका इभान फाइगेनबमले टिप्पणी गरेका छन् ।
ट्रम्पले “दुई शक्तिहरूबीचको गठजोडलाई विभाजन गर्न खोजिरहेका छन्, जसको वैचारिक समानता र साझा रणनीतिक हित छ,“ उनले भने। “तर यसले पश्चिमलाई विभाजन गरेको छ, जबकि रुस एकैसाथ अमेरिका र चीनसँग मिलिरहेको छ।“
पश्चिमी प्रतिबन्धहरूले आर्थिक पीडा दिँदा रुसलाई चीनसँग नजिक ल्याउनुका साथै, युक्रेन युद्धले मस्कोको इरान र उत्तर कोरियासँगको गठबन्धनलाई बलियो बनाएको छ। यी देशहरूले रुसी युद्ध प्रयासका लागि बारुद, ड्रोन, मिसाइल र उत्तर कोरियाको हकमा सैनिकहरू आपूर्ति गर्छन्।
अमेरिकी अधिकारीहरूले यो नयाँ अधिनायकवादी अक्षको उदयलाई रणनीतिक खतरा ठान्छन्, जसलाई अमेरिकी सेनाले एकैसाथ व्यवस्थापन गर्न कठिन हुन्छ। उनीहरूका अनुसार ट्रम्पको युक्रेन युद्धलाई तुरुन्तै अन्त्य गर्ने तीव्र इच्छा यी प्रतिद्वन्द्वीहरूको साझा मोर्चालाई कमजोर बनाउने वा भत्काउने आवश्यकताद्वारा प्रेरित छ।
“यो विश्वव्यापी लडाइँको रूपमा सोच्नुपर्छ,“ ट्रम्पका युक्रेनका लागि विशेष दूत, अवकाश प्राप्त लेफ्टिनेन्ट जनरल किथ केलोगले भने। “हामी चार वर्षअघि नभएको एउटा समस्याको सामना गरिरहेका छौं। अब यी चार एकसाथ आएका छन्, र तिनका आर्थिक वा सैन्य सम्बन्धहरू छन्।“
विदेशमन्त्री मार्को रुबियोले गत हप्ता साउदी अरबमा वरिष्ठ रुसी अधिकारीहरूसँगको वार्तापछि दिएको अभिव्यक्तिमा “रुससँग भूराजनीतिक रूपमा साझा हितका मुद्दाहरूमा साझेदारी गर्न अविश्वसनीय अवसरहरू रहेको“ स्पष्ट गरे ।
यी वार्ताहरू, सन् २०२२ पछिको सबैभन्दा उच्चस्तरीय भेटघाट, मा अमेरिकी र रुसी वार्ताकारहरूले सम्बन्ध सुधार र अमेरिकी प्रतिबन्धहरू हटाउँदा हुने सम्भावित आर्थिक लाभहरूबारे छलफल गरे। यी प्रतिबन्धहरूले रुसी अर्थतन्त्रलाई कमजोर बनाएका छन् र यसलाई बेइजिङमा थप निर्भर बनाएका छन्।

रुसी सरकारसँग सम्बद्ध थिङ्क ट्याङ्कले क्रेमलिनका लागि तयार गरेको र पश्चिमी सरकारले प्राप्त गरेको वार्तापूर्वको ब्रीफिङ मेमोले मस्कोले युक्रेन युद्धलाई रुसको पक्षमा अन्त्य गर्ने सम्झौताको भागको रूपमा चीनसँग संवेदनशील प्राविधिक र सैन्य मुद्दाहरूमा सहकार्य अन्त्य गर्ने प्रस्ताव गर्न सुझाव दिएको छ।
मस्कोले चीनको रणनीतिक क्षमतालाई बलियो बनाउने पूर्वाधार परियोजनाहरूमा चिनियाँ सहभागिता सीमित गर्ने प्रस्ताव पनि गर्न सक्छ, मेमोमा भनिएको छ। यसले युरोपमा प्राकृतिक ग्यास निर्यातको पुनरारम्भलाई सीमित गरेर युरोपेली प्रतिस्पर्धालाई कमजोर बनाउने र अमेरिकी तरल प्राकृतिक ग्यासको बिक्री अनुमति दिने, साथै कब्जा गरिएको युक्रेनमा खनिज भण्डारका अधिकार अमेरिकी कम्पनीहरूलाई दिने प्रस्ताव पनि गरेको छ।
यी शर्तहरू ट्रम्पको अन्तरराष्ट्रिय मामिलामा लेनदेनमुखी दृष्टिकोणलाई आकर्षित गर्न डिजाइन गरिएका छन्। तर रुससँगको पहुँचको रुसले अमेरिकालाई चीनलाई नियन्त्रण गर्न मद्दत गर्न सक्ने कुरा थोरै रहेको आलोचकहरुले तर्क गरेका छन् ।
चीनसँग रुसको अधिकांश महत्वपूर्ण सैन्य प्रविधिहरू पहिल्यै छन्। “त्यो जहाज चलिसकेको छ। चिनियाँहरू रुसीहरूभन्दा सबै प्रकारका क्षेत्रमा प्राविधिक रूपमा धेरै अघि छन्,“ वासिङ्टनको थिङ्क ट्याङ्क सेन्टर फर युरोपियन पोलिसी एनालाइसिसका प्रमुख कार्यकारी अलिना पोल्याकोभाले भनिन्।
यदि वासिङ्टनले युक्रेनलाई छोड्यो भने, यसले “युक्रेनविरुद्ध रुसको आक्रामकता“ लाई वैधता दिने उनले चेतावनी दिएकी छन् । उनीहरूसँग ताइवानविरुद्ध सम्भावित सैन्य आक्रामकताको लागि धेरै खुला हात छ।“भन्ने कुरा संकेत दिने स्पष्ट छ ।
नोभेम्बरमा ह्यालिफ्याक्स सुरक्षा मञ्चमा दिएको अभिव्यक्तिमा, अमेरिकी नौसेना एडमिरल सामुएल पापारो, इन्डो–प्यासिफिक कमान्डका कमान्डरले भनेका थिए– बेइजिङ र मस्कोसँग “लेनदेनमुखी सहजीवन“ छ, र “हामी उनीहरूबीच फाटो ल्याउन सक्छौं भन्ने सोच्नु एउटा काल्पनिक कुरा हो।“
पुटिनको चालचलनको लागि ठाउँ सीमित गर्ने अर्को, थप आधारभूत गतिशीलता पनि छः रुस र चीनको सम्बन्ध रणनीतिक र स्थायी छ, तर वासिङ्टनसँगको कुनै पनि निकटता सैद्धान्तिक रूपमा अस्थायी छ, कम्तीमा जबसम्म अमेरिका लोकतन्त्रिक देश रहन्छ।
आखिरमा, ट्रम्प चार वर्षपछि ह्वाइट हाउसमा हुने छैनन्, र पुटिनले अर्को अमेरिकी प्रशासनले ठीक उल्टो दिशामा अचानक परिवर्तन गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्नुपर्छ। अर्को वर्षको मध्यावधि चुनावले पनि अमेरिकी नीतिलाई परिवर्तन गर्न सक्छ।
“रुसलाई थाहा छ – चीन उसको विशाल छिमेकी हो, चिनियाँ कम्युनिस्ट पार्टीले रुसले देख्न सक्नेसमय सम्म शासन गर्नेछ—र चीनलाई टाढा गर्नु रुसका लागि घातक खतरा उत्पन्न हुनसुकछ,“ सिनो–रुसी सम्बन्धका विज्ञ र बर्लिनको कार्नेगी रुस युरेसिया सेन्टरका प्रमुख अलेक्जेन्डर गाबुएभले भनेका छन् ।
दक्षिण चीन सागरमा हवाई गस्ती गर्दै चिनियाँ नौसेनाको हेलिकप्टरको रूपमा पहिचान गरिएको विमान।
त्यसको मतलब पुटिन संलग्न नहुने भन्ने होइन। ट्रम्पको पहलले वासिङ्टनबाट उनको सेनाले तीन वर्षको युद्धमा हासिल गर्न नसकेको कुरा प्राप्त गर्ने सम्भावना प्रदान गर्छः किभमा शासन परिवर्तन र युक्रेन, र सम्भवतः युरोपका अन्य भागहरू, मस्कोको प्रभाव क्षेत्रमा फिर्ता।

अमूर नदीमा चिनियाँ जहाजले कन्टेनर ढुवानी गरिरहेको दृश्य । यो नदी रुस र चीनको सिमानामा अवस्थित छ र दुई देशबीचको व्यापारको प्रतीक मानिन्छ।
“मलाई थाहा छैन किन रुसले डोनाल्ड ट्रम्पले थालमा ल्याएको सबै कुरा लिनेछैन, जुन उसले अयोग्य रूपमा प्राप्त गरेको छ, र एकैसाथ चीनसँगको बलियो सम्बन्ध कायम राख्नेछ,“ सरकारलाई सल्लाह दिने पेरिस स्थित थिङ्क ट्याङ्क फ्रेन्च इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसन्सका निर्देशक थोमस गोमार्टले भनेका छन् ।
चीनले ट्रम्पको रुसतर्फको यो परिवर्तनलाई केही चिन्तासाथ हेरिरहेको छ, तर यसले रणनीतिक लाभ पनि उठाइरहेको छः युरोपमा उसका दुई मुख्य लक्ष्यहरू—पुटिन शासनलाई समर्थन गर्ने र बाँकी युरोपलाई अमेरिकाबाट अलग गर्ने—जुन अहिलेसम्म परस्पर विरोधी थिए, अचानक सम्भव भएका छन्।
राष्ट्रपति ट्रम्प निकट मानिने द वाल स्ट्रिट जर्नलबाट
सम्वन्धित लेख तथा समाचारहरु







प्रतिक्रिया दिनुहोस्