ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोइङ र एयरबसको एकलौटीलाई टक्कर दिन चीनले बनाएको विमान


एबीसी न्यूज

काठमाडौं ३ माघ । चीनले विमानको बजारमा बोइङ र एयरबसको पकड तोड्ने प्रयासलाई तीव्रता दिएको छ। चिनियाँ सरकारी कम्पनीले बनाएको घरेलु यात्रुवाहक जेटले चीन मात्र होइन, विदेशमा पनि उडानको अनुमति लिने प्रयास सुरु गरेको छ।

कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना ९कोम्याक० द्वारा निर्मित सी९१९ विमानले २०२३ मा पहिलो व्यावसायिक उडान भरेको थियो। सो विमानलाई अहिले चीनका तीन ठूला सरकारी स्वामित्वका एयरलाइन्सहरू एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स र चाइना साउदर्न एयरलाइन्सले विभिन्न आन्तरिक हवाइ मार्गमा उडाइरहेका छन्।

यो महिनाबाट भने चाइना इस्टर्नले सी९१९ लाई हङकङ र सांघाइसम्म पनि उडाउने छ। हङकङ सो विमानको मुख्यभूमि चीनबाहिरको पहिलो नियमित गन्तव्य बन्ने भएको छ।

कम्पनीको मार्केटिङ र सेल्सका उपमहाप्रबन्धक याङ याङले सो न्यारोबडी जहाजलाई २०२६ सम्ममा दक्षिणपूर्वी एसियामा उडाउने र यसै वर्षभित्र युरोपेली प्रमाणीकरण हासिल गर्ने लक्ष्य रहेको बताए।

‘पूर्वी एसियामा उडाउनुअघि चीनभित्रै सकेसम्म धेरै उडान गरेर विमानमा कुनै समस्या भए पहिचान गर्ने हाम्रो उदेश्य छ,’ उनले भने।

राष्ट्रपति सी चिनफिङको प्रविधि मूल्य शृंखलालाई अघि बढाउने अभियानको महत्त्वपूर्ण परियोजना हो, सी९१९। जसको अन्तिम लक्ष्य विमानको बजारमा पश्चिमा कम्पनीहरू बोइङ र एयरबसको द्विअधिकारलाई चुनौती दिनु हो।

बोइङले वित्तीय समस्या झेलिरहेको छ। विमानको डेलिभरीमा पनि ढिलाइ भइरहेको छ। आपूर्ति शृंखलामा समस्याका कारण बोइङ र एयरबस दुवैले इन्जिन तथा पार्टपुर्जाको अभाव झेलिरहेका छन्। यी सबैका कारण नयाँ कम्पनीहरूमा आशा जागेको छ।

संसारलाई आउँदो दुई दशकमा ४२ हजार ४३० नयाँ विमान चाहिने र त्यसमध्ये ८० प्रतिशत न्यारोबडी हुने भविष्यवाणी एयरबसले २०२४ मा गरेको छ। उड्डयन परामर्शदाता आईबीएको अनुमानअनुसार २०४० सम्ममा कोम्याकले डेलिभरी गर्न सक्ने विमानको संख्या प्रतिमहिना १ बाट ११ पुग्ने छ। त्यसबेलासम्ममा उसले २ हजारवटा विमान वायुसेवाहरूलाई हस्तान्तरण गर्न सक्ने छ। डिसेम्बरसम्ममा सो कम्पनीले १६ वटा विमान वायुसेवाहरूलाई उपलब्ध गराइसकेको छ।

आईबीएका जोनाथन म्याकडोनाल्ड कोम्याक अन्ततः निर्यात बजारमा प्रवेश गर्न सफल भए पनि लामै समयसम्म न्यारोबडी विमानको प्रमुख आपूर्तिकर्ता एयरबस र बोइङ नै रहिरहने बताउँछन्।

विदेशमा सी९१९ सञ्चालनका लागि कोम्याकसामु रहेको सबैभन्दा ठूलो बाधा हो– विश्वव्यापी प्रमाणीकरण र मर्मत सहायता। अन्तर्राष्ट्रिय उपस्थिति बढाउन कोम्याकले गत अक्टोबरमा सिंगापुर र हङकङमा नयाँ कार्यालय खोल्यो। ग्राहकहरूबाट अर्डर प्राप्त गर्न ती कार्यालय आवश्यक रहेको ओएजी एभियसनका एसिया प्रमुख मयुर पटेल बताउँछन्।

तर, एरोडाइनामिक एड्भाइजरीका प्रबन्ध निर्देशक रिचर्ड अबुलाफिया भने बोइङ र एयरबससँग प्रतिस्पर्धा गर्न यो अनिवार्य सर्त भए पनि निर्यात बजारमा यस्ता कार्यालय खोल्दै जानु निकै कठिन र खर्चिलो हुने तर्क गर्छन्।

एसियाका अनेकौँ वायुसेवाहरूले सी९१९ मा रुचि देखाएका छन्। तर, केही कार्यकारीहरूले निजी रूपमा आफूहरू हिच्किचाइरहेको बताएका छन्।

‘मर्मतसम्भारमा सहायता मुख्य मुद्दा हो,’ इन्डोनेसियाको ट्रान्सनुसासँग निकट एक व्यक्तिले भने। सो वायुसेवाले यसअघि नै कोम्याकका तीनवटा साना एआरजे२१ विमान लिइरहेको छ र सी९१९ पनि किन्ने विषयमा विचार गर्दैछ।

विश्लेषकहरूका अनुसार कोम्याकका लागि खासगरी युरोपेली संघ एभियसन सेफ्टी एजेन्सीको प्रमाणपत्र हासिल गर्न मुख्य चुनौती हुने छ।

‘निकट भविष्यमै सी९१९ लाई युरोपमा प्रमाणपत्र दिइने आशा आईबीएलाई छैन। त्यसको मापदण्ड निकै कडा छ,’ म्याकडोनाल्ड भन्छन्।

अर्कोतिर अमेरिका र चीनबीचको तनावका कारण अमेरिकाको उड्डयन प्राधिकरणले पनि प्रमाणीकरण दिने सम्भावना कम छ।

न्यारोबडीमा सी९१९ जस्तै वाइडबडीमा सी९२९ विमान पनि कोम्याकले समानान्तर रूपमा बनाउँदैछ। नोभेम्बरमा चुहाइमा भएको हवाइ प्रदर्शनीमा सो विमान उडाउने पहिलो वाचा सरकारी वायु सेवा एयर चाइनाले गर्‍यो।

सी९२९ले एरोस्पेस क्षेत्रमा चीनको प्राविधिक प्रगतिलाई साबित गरे पनि सो मुलुक अझै व्यावसायिक उडान भर्ने जेटको इन्जिनका लागि विदेशी उत्पादनमा निर्भर रहेको हुनसक्ने एरोस्पेस तथा रक्षा विश्लेषक सस तुसा बताउँछन्। सी९२९ २०४० अघि सेवामा नआउने अनुमान आईबीएको छ।

सी९१९ को कुरा गर्दा विमानका प्रमुख पार्टपुर्जा पश्चिममा बनेका हुन्। विमानको इन्जिन फ्रान्सेली–अमेरिकी भेन्चर सीएफएम इन्टरनेसनलले आपूर्ति गरेको हो।

‘अहिलेसम्म कोम्याकले मूल्यका हिसाबले मुख्यगरी पश्चिमा विमान बनाइरहेको छ, तर चिनियाँ संरचनामा,’ अबुलाफिया भन्छन्, ‘यसले उत्पादनलाई पार्टपुर्जा आपूर्ति गर्ने पश्चिमको इच्छामा निर्भर तुल्याउँछ। ट्रम्प राष्ट्रपति हुन लागेकाले त्यसको ग्यारेन्टी छैन।’

आउँदो दशकभित्र कोम्याकले विश्व बजारको उचित हिस्सा नपाउने तुसाको अनुमान छ। तर, घरेलु बजारमा आयात प्रतिस्थापन गर्न भने सक्ने उनी बताउँछन्।

‘एयरबस चीनमै बन्छ। बोइङ बन्दैन,’ उनी भन्छन्, ‘त्यसैले कोम्याक दोस्रो आपूर्तिकर्ता बन्न पुग्छ। आयात प्रतिस्थापनले तपाईंलाई प्रतिस्पर्धी बनाउँदैन। बरु, त्यसले राज्यको नीतिको नतिजा बनाउँछ।’ फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com