काठमाडौं २२ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ भएको बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताएका हुन् ।
‘स्वतन्त्र र निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ भएकाले नै हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । त्यहीभएर लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मूख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपति पौडेलले भने ।
सूचना प्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताउदै योसँगै सूचना प्राप्ति र सम्प्रेषणमा सजिलो भएसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि नवनिर्वाचित नेपाल पत्रकार महासंघको कार्यसमितिले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्