पोखरा, १० साउन । हामी मानिसकै कारण प्राकृतिक सम्पदाहरु जोखिममा पर्दै गएका छन् । पर्यटकीय नगरी पोरामा पनि मानविय गतिविधिका कारण ऐतिहासिक गुप्तेश्वर गुफा संकटमा परेको छ ।
त्यसैपनि पोखराका अधिकांस स्थान भूगर्वीय दृष्टिले खतरायुत्त छन् । मानविय कारण समेत यहाका धेरै प्रकृतिक सम्पदाहरु खतरामा पर्दै गएका छन् । गुप्तेश्वर गुफामाथीका वस्तीहरुका कारण गुफा नै संकटमा पर्दै गएको छ ।
ऐतिहासिक गुफा नै संकटमा पर्दै गएका कारण पोखरावासी स्वयः चिन्तित हुनु स्वभाविक हो । मानव निर्मित संरचनाहरुका कारण गुप्तेश्वर गुफा कुनै ध्वस्त हुने खतराले भूगर्वविद् पनि चिन्तित छन् ।
पोखरा प्राकृतिक सौन्दर्यताको दृष्टिले जति सुन्दर छ त्यति नै यहाँका कतिपय स्थानहरु भूगर्वीय दृष्टिले उच्च जोखिमयुक्त छन् । विभिन्न समयमा भएका भौगोलिक अध्ययनले पोखराको सेती डिल भीर सहित गुफा क्षेत्र वरपर वस्ती बसाल्न नमिल्ने गरी उच्च जोखिमयुक्त क्षेत्र निर्धारण गरेको छ ।
विज्ञको सुझाव र कमजोर भू–वनोटलाई वास्ता नगरी बाक्लिदै गरेको बस्तीले भविश्यमा ठूलो क्षतिको खतरा निम्ताइरहेको छ । पछिल्लो समय पोखराको सबैभन्दा बढी जोखिमयुक्त क्षेत्र छोरेपाटन स्थित गुप्तेश्वर गुफा र त्यसमाथिका बस्ती उच्च जोखिममा परेका छन् ।
पातलेछाँगो हुदै फेवातालबाट निकास भएको पानी गुप्तेश्वर गुफाको मुनिबाट बगिरहेको छ । छोरेपाटन स्थित गुप्तेश्वर गुफा र पातलेछा“गो पोखराको मुख्य पर्यटकिय स्थल मध्येमा पर्छन् । गुफा माथि विना अनुमति पक्की घरहरु धमाधम बनिरहेका छन् । गुफा माथिनै सिद्धार्थ राजमार्गमा दैनिक सयौं यातायातका साधन गर्छन् ।
फेवातालमा पानीको वहाब बढेसँगै उर्लने पातलेछागोका कारण बर्खामा गुफा पानीले भरिन्छ । गुफा भित्र पानी कराएको आवाज र राजमार्गमा गुड्ने यातायातले थर्काउने जमिनमा बनेका घरवासीलाई रातको समयमा निन्द्रै पर्दैन ।
दैनिक सयांै पर्यटक पुग्ने गुफा भित्रभित्रै क्षयिकरण भएपछि हाल मर्मतको क्रममा छ । अघिल्लो बर्षको बर्खायाममा माटो र ढुङ्गा खसेपछि संरक्षणको लागि १ करोड ७ लाख लागतमा काम भैरहेको छ । जोखिम नियन्त्रण गर्न गुप्तेश्वर गुफा ब्यवस्थापन समितिले टनेल प्रविधिमा संरक्षणको प्रयास गरेको अध्यक्ष विष्णुप्रसाद पौडेल बताउँछन् ।
गुफा ध्वस्त हुनसक्ने भुगोलविद्को चेतावनी
२०४९ सालमा गुफा पत्ता लगाउँदा यस क्षेत्रमा ३ वटा मात्र घर थिए । अहिले यस क्षेत्रमा डेढ सयको हारहारीमा पक्की घर छन् । २० बर्ष पहिलेनै जोखिमयुक्त क्षेत्र पहिचान गरी वस्ती बसाल्न नमिल्ने विज्ञको सुझाब लत्याउदै विना अनुमति बनेका घर कतिबेला भासिने हो भन्ने चिन्ता छ । मानवनिर्मित संरचनाले जोखिमको सघनता बढ्दै गएकाले कुनैपनि बेला यो क्षेत्र ध्वस्त हुनसक्ने भुगोलविद् डा. कृष्ण केसीको दावी छ ।
दक्षिण एसियाकै ठूलो दाबी गरिएको गुप्तेश्वर गुफा करिब तीन किलोमिटर लम्बाइ र ८० मिटरसम्म गहिराइको रहेको अुनमान छ । यो गुफाको अस्तित्व जोगाउन र भई परी आउने क्षति रोक्नका लागि जोखिम क्षेत्रको मानवनिर्मित संरचना हटाउनु र राजमार्गलाई अन्यत्रबाटै लैजानुको विकल्प छैन ।
सहि सदुपयोग गर्न सके प्राकृतिक सम्पदाहरु वरदान नै हुन । तर, राम्रो संरक्षणको अभाव र हामी मानिसकै कारण तिनै प्राकृतिक सम्पदाहरु समेत अविसाव हुने गरेको तितो वास्ताविकता हामीले भोगेका छौं । गुप्तेश्वर गुफा, पोखरावासीका लागि वरदाननै हो । तर, गुफा आसपासमा निर्मित भौतिक संरचनाहरुका कारण कुनै पनि समय ठूलै जनधनको क्षति हुनसक्ने खतरा पनि उत्तिकै छ ।
खतराको मुख्य कारण गुफामाथीका वस्ती
गुफा माथी निर्मित घरहरुबाट निस्कने फोहोर पानी गुफा भएको क्षेत्रमा रसाउने क्रम बढेपछि गुफा भित्रका पत्रे चट्टानहरु उक्किन थालेका छन् । तत्काल संरक्षणका लागि पहल हुन नसके गुफा नै नरहने खतरा बढ्दै गएको छ । गुफा त संकटमा पर्ने नै भयो । आसपासका वस्तीहरु समेत जोखिममा परेका छन् । कुनै पनि समय जनधनको क्षति हुनसक्ने खतरा रहेको स्थानीयवासी धर्मदत्त लामिछाने वताउँछन । गुफामाथी बस्ती बाक्लो हुदै जाँदा गुफामा पानी रसाउने र रसानकै कारण गुफा भित्र भएका पत्रहरु खस्ने क्रम बढेको लामिछानेको भनाए छ ।
गुफा आउने पर्यटकलाई खतरा
गुफा कुनैपनि बेला भासिन सक्ने भएकाले गुफा भित्र रहने पुजारी, कर्मचारी, गुफामा दर्शन गर्न आउने भत्तजन र पर्यटकलाई समेत खतरा बढेको स्थानीयवासीको भनाइ छ ।
पोखरा–लेखनाथ महानगरले गुफाको संरक्षण र आसपासमा बनेका भौतिक संरचनाहरु हटाउन खासै चासो देखाएको पाइदैन । पोखरा उपमहानगर हुँदा गुफा व्यवस्थित बनाउन गुफा समितीले ६ वटा घर हटाएको थियो । गुफा आसपासमा ठूला यातायातका साधन चलाउन समेत रोक लगाउने निर्णय गरेको थियो । तर, गुफा आसपासमा ठूला यातायातका साधन संचालनमा रोक लगाउने निर्णय अझै पनि कार्यान्वयनमा आएको छैन ।
गुफामाथी फष्टाएको व्यापार
गुफा आसपासका वस्तीहरुमा राम्रैसँग व्यापार व्यवसाय फष्टाएको छ । तर, ति व्यापारीक वस्तीहरु जोखिममा छन् । स्थानीयवासी श्यामलाल बराल जोखिम न्यूनिकरणका लागि तत्काल पहल नभए कुनै पनि समय अप्रिय घटना हुनसक्ने बताउँछन् ।
गुफा छिर्न छाता अनिवार्य
गुफामाथीका वस्तीहरुबाट बग्ने पानी रसाउन थालेपछि अहिले गुफा छिर्न पनि छाता ओढ्नु पर्ने परिस्थिति बनेको छ । गुफामै पानी छिर्न थालेपछि अब गुफाको आयु छोटिदै गएको भन्दै स्थानीयवासी चिन्तित छन् ।
वर्षिक करोड आम्दानी
पर्यटकीय नगर पोखरामा रहेकाले पोखरा पुग्ने हरेक पर्यटकका लागि गुप्तेश्वर गुफा एक गन्तव्य हो । यो गुफा मार्फत वार्षिक एक करोडको हारहारीमा आम्दानी हुने गरेको छ । डेभिज फल्सबाट खस्ने छांगो र गुप्तेश्वर महादेवको शिव लिङ्ग दर्शनका लागि हरेक वर्ष सयौको संख्यामा पर्यटक आउने गरेका छन् ।
चार नम्बर प्रदेशकै ठूलो यो गुफा चार नम्बर प्रदेशकै लागि राम्रो आम्दानीको स्रोत पनि हो । त्यसैल, गुप्तेश्वरको संरक्षका लागि जनप्रतिनिधिले विशेष चासो देखाउनु पर्ने गुफा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष तुलसीराम बराल बताउ“छन् ।
‘मुआवजा दिएर वस्ती हटाउन सकिन्छ’
गुफा वरिपरि गगनचुम्बी भवनहरु निर्माण क्रम वढ्दो छ । २०४९ सालबाट गुफाको व्यस्थापन सुरु भएको हो । २०४९ साल अघिनै गुफा वरपर घर तथा जग्गा किनवेच सुरु भइसकेको थियो । त्यसपछिका दिनमा गुफा वरिपरि वस्ती रोक्न नसकिएको वरिष्ठ उपाध्यक्ष बराल बताउँछन् ।
गुफा व्यवस्थापन समितिको नियम अनुसार गुफाको २ सय मिटर वरपर घर बनाउँन नपाउने व्यवस्था भएपनि बनिसकेका भवनहरु हटाउन निक्कै चुनौतीपूर्ण रहेको छ । तर, गुफा क्षेत्रका वासिन्दालाई उचित मुआब्जा दिएर अधिग्रहण गरी गुफा जोगाउन सकिनेमा जोड दिन्छन्, वरिष्ठ उपाध्यक्ष बराल । गुफा व्यवस्यापनका लागि सरकारी निकायले भने गुफा संरक्षणका लागि चासो देखाएको पाइदैन । तर, अब पनि गुफा संरक्षणमा ढिलाइ भएको खण्डमा गुप्तेश्वर गुफा स्मृतिमै मात्र सिमित हुने सम्भावना बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्