काठमाडौं १८ बैशाख । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन योङहाङ लिम्बूको जमानत जफत भएको छ।
प्रतिनिधिसभातर्फ खसेको कुल सदर मतको १० प्रतिशत मत नआए स्वतः जमानत जफत हुने व्यवस्था छ। लिम्बूले ५ हजार ५० मत ल्याएका छन्।
उपनिर्वाचनमा रास्वपाका रवि लामिछाने सहित सवै नेता र सांसदहरु चुनाव प्रचारमा गएका थिए । घण्टीले चुनाव जितिसकेको, घोषणा मात्रै बांकी भन्दै काठमाडौं फर्केका रवि लामिछाने र स्वर्णीम वाग्लेहरुलाई अराजनीतिक पार्टीको धरातल खस्केको देखिएको छ ।
पछिल्लो समय सहकारीका आर्थिक घोटालामा रवि लामिछाने र उनको दलका नेताहरुको बद्मासी सार्वजनिक भएपछि उनको दलप्रतिको जनतामा रहेको भ्रम फुटेको देखिएको छ ।
निर्वाचन आयोगका अनुसार यहाँ खसेको कूल मतको ६८ हजार ४ सय ७२ मत सदर भएको छ। यो अनुसार मिलनले ७.३७ प्रतिशत मात्रै मत पाएका छन्।
१ लाख १५ हजार ८ सय ८९ कुल मतदाता रहेका छन्। जसमध्ये गत शनिबार (वैशाख १५) भएको उपनिर्वाचनमा ६९ हजार ३ सय ७४ मत खसेको थियो। त्यसमध्ये ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ। तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन।’
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्