काठमाडौं १४ चैत । सहकारी ठगीको विषयमा पोखरामा ठाडो उजुरी आएको तर तथ्य र प्रमाण नभएको नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले बताएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा महानिरीक्षक कुँवरले पोखरामा ठाडो उजुरीमा रवि लामिछानेको नाम पनि रहेको तर तथ्य र प्रमाण नरहेको स्पष्ट पारे ।
सहकारी समस्या पछिल्लो समय व्यापक रूपमा आइरहेको र सहकारी विभागको सिफारिसमा मुद्दा चलाइरहेको भनेपछि महानिरीक्षक कुँवरले पोखरामा रवि लामिछानेको विरुद्धमा ठाडो उजुरी आएको बताएका हुन् । ठाडो उजुरीमा नाम रहेकाहरू कानुनी दायरामा पर्ने अवस्था नरहेको पनि कुँवरले बताए । ुठाडो उजुरीको रूपमा कानुनी दायरमा पार्ने अवस्था छैन । सांकेतिक रूपमा आएको छ, रवि लामिछानेको नाममा त्यसमा कुनै तथ्य, प्रमाण आएको छैन,ु महानिरीक्षक कुँवरले भने ।
ठाडो उजुरीमा तथ्य नआएको महानिरीक्षक कुँवरले दोहोर्याएका थिए । महानिरीक्षक कुँवरले सहकारीको समस्या व्यापक भएको पनि बताए । सहकारीका कारण कतिपयको आर्थिक अवस्थामा समस्या आएको उनले बताए । सहकारी समस्या समाधान गर्नका लागि माथिल्लो तहबाट नै नीतिगत रूपमा विभिन्न काम भएको बताए ।
पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक जीबी राईलाई पक्राउ गर्न प्रयत्न भए पनि सफल हुन नसकेको कुँवरले बताए । उनले जीबी राई मलेसियामा रहेको र उक्त देशसँग सुपुर्दर्गी सन्धि नभएकाले ल्याउन समस्या भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्