ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राक्षसलाई धपाउने नेवारी मौलिक पर्व घण्टाकर्ण


admin
श्रावण ६, २०७४ शुक्रबार   ११ : ३४   बजे

भक्तपुर, ६ साउन । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनको गठामुंगः पर्व मनाउँदैछन् । नेवार समुदायले हर्षोल्लासका साथ मनाउने घण्टाकर्ण पर्व नेवारको मौलिक पर्वमध्येको एक हो ।

वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रुपमा लिने गरिएको हो ।

यस दिनलाई नेवार समुदायले आफ्नो घर गृहशान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग–ब्याधी नलागोस् भनेर राक्षस धपाउने पूजा गर्ने दिनका रुपमा लिइन्छ । यस दिन नेवार एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबैजनाले नुहाएपछि महादेवको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने प्रचलन रहेको छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकँुडासमेत धोएर चोखो बनाउनु पर्दछ । महादेवको जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कतारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत मन्छाउने कार्य भनिन्छ । बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बलि पनि दिने चलन रहेको छ ।

बौ वाय् ज्या सँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयूरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।

त्यसैगरी, साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ)मा लगेर सेलाउने गरिन्छ ।

यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ । घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छ््रवालीको मानवाकृति युक्त राक्षसको प्रतीक बनाई चोक चोकमा ठ्ड्याएर राखिन्छ । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतिलाई नजिकको खोलामा लगेर जलाइन्छ ।

यस पर्वलाई किसानको “सिनाज्या ब्यंकेगु” (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको शुरुबाट भएको सङ्केत पर्वका रुपमा पनि लिने गरेको छ । नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा ‘सिनाज्या ब्यंकेगु’ पर्व मनाउने गरिन्छ ।

नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन कालदेखि नै प्रचलनमा रहेको इतिहासविद् एवम् संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार यो पर्व काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्षअघि देखि प्रचलनमा रहेको छ । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वका रुपमा समेत लिइने गरेको संस्कृतिविद् डा श्रेष्ठ बताउनुहुन्छ ।

कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रुपमा पनि लिइन्छ । पौराणिक कथनअनुसार महाभारतकालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछ । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन् । तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रुप धारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् डा श्रेष्ठले बताउनुभयो ।

आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिन्छ । नेवारी समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वका रुपमा लिने र सो दिनदेखि घण्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्वको कार्य नगर्ने परम्परा रहेको छ ।

नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वपछि शुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ । रासस
––––––––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group