ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्ता छन् राष्ट्रपति सीका सारथि ?


एबीसी / संवाददाता

एजेन्सी, ३० फागुन । चिनियाँ जनकंग्रेसले आगामी ५ वर्षका लागि मन्त्रिपरिषद् गठन गरेको छ । शुक्रबार सी चिनफिङलाई तेस्रो पटक राष्ट्रपति निर्वाचित गरेको जनकंग्रेसले प्रधानमन्त्रीसहित बाँकी महत्वपूर्ण पदहरूको नियुक्तिलाई अनुमोदन गरेको छ । चीनमा मन्त्रालय, आयोग र लेखा परीक्षण कार्यालयसहित २७ वटा निकाय रहेका छन् ।

त्यसैगरी चार उपप्रधानमन्त्रीमा डिङ सुइसिआङ, हे लिफेङ, झाङ गुइचिङ र लिगु गुओझोङ रहेका छन् । त्यस्तै, स्टेट काउन्सिलरमा ली सङफु, वाङ सिआओहोङ, यु झेङलोङ, सेन यिचित, चित गङ रहेका छन् । उपप्रधानमन्त्री बराबरको हैसियतमा रहने स्टेट काउन्सिलरमा रक्षामन्त्री लिङ सङफु र विदेशमन्त्री चिन गङलाई नियुक्त गरिएको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले मन्त्रिपरिषद्‌मा नियुक्त गरिएका व्यक्तिहरू विभिन्न कर्पोरेटरहरूको कार्यकारी पदमा काम गरिसकेको जनाएको छ । चीनले ५ वर्षे कार्यकालमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई जोड दिने भएको छ । जसका लागि विज्ञान तथा प्रविधि मन्त्रालयको संरचनागत सुधारमा केन्द्रित भएर सुधार कार्यक्रमको घोषणा गरेको छ ।

त्यसैगरी वित्तीय नियमनका राष्ट्रिय प्रशासन स्थापना गर्ने भएको छ । कृषि क्षेत्र र अन्य मन्त्रालयमा प्रविधि नीतिहरूको सञ्चालनलाई रूपान्तरण गर्ने बताइएको छ । त्यसैगरी देशभित्र प्राविधिक क्षेत्रमा सफलता दिलाउन भूमिका खेल्ने बताइएको छ ।

ली छ्यान- प्रधानमन्त्री 
प्रधानमन्त्रीमा ली छ्यान नियुक्त भएका छन् । गत अक्टोबरमा भएको कम्युनिस्ट पार्टीको महाधिवेशनले लीलाई पोलिटब्युरो स्ट्यान्डिङ कमिटीको दोस्रो वरीयतामा नियुक्त गरेदेखि नै प्रधानमन्त्री हुने निश्चित भइसकेको थियो । जसलाई त्यहाँको संसद्ले शनिबार अनुमोदन गरेको हो ।

सन् २००० को मध्यतिर राष्ट्रपति सी झेजिआङ प्रान्तको प्रमुख हुँदा प्रधानमन्त्री ली प्रमुख स्टाफ थिए । प्रधानमन्त्री बन्नुअघि ली झेजिआङको गभर्नर साथै जिआङसु र संघाईको पार्टी प्रमुख बने । त्यस क्षेत्रमा काम गर्दा उनले उद्यम र निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी चाउ एन लाई पछिका त्यस्तो नेता हुन्, जो उपप्रधानमन्त्री नभइ प्रधानमन्त्री बनेका हुन् । १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भएपछि चाउ पहिलो प्रधानमन्त्री बनेका थिए । ली पार्टीभित्र दोस्रो वरीयतामा रहेका छन् ।

लीको छनोटलाई कोभिड महामारी तथा अमेरिकासँगको बढ्दो टकरावको कारण आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नसक्ने नेताको रूपमा अर्थ्याइएको छ । अर्थतन्त्रको बारेमा महत्वपूर्ण भूमिका हुने अर्थमन्त्री र केन्द्रीय बैंकको गभर्नरमा पुरानैलाई निरन्तरता दिइएको छ । अर्थमा लिउ कुन र गभर्नरमा होउ काइ रहेका छन् । उनीहरू दुवैको निरन्तरता वित्तीय स्थायीत्वका लागि भएको ग्लोबल टाइम्सले जनाएको छ ।

दिङ सुइसिआङ- उपप्रधानमन्त्री 
पार्टी जनरल अफिसका प्रमुखको रूपमा दिङ सुइसिआङ पछिल्लो केही समयदेखि राष्ट्रपति सीको चिफ अफ स्टाफ रहेका थिए । पछिल्लो केही वर्षयता राष्ट्रपति सीको निकटमा रहँदै आएका थिए । उनी सीको फोटोहरूमा देखिन्थे र सीको काम कारबाहीमा उनको नाम आउने गरेको थियो । दिङले आफ्नो राजनीतिक जीवन संघाईबाट सुरू गरेका हुन् । जहाँ राष्ट्रपति सी २००७ मा छोटो समयमा पार्टी प्रमुखको भूमिकामा रहेका थिए । त्यस समयमा दिङ सीको सचिव थिए । नयाँ भूमिकामा दिङले अर्थतन्त्र हेर्न पाउने छन् । दिङ पार्टीभित्र छैटौँ स्थानमा छन् ।

हे लिफेङ- उपप्रधानमन्त्री
हे लिफेङ अमेरिकासँगको व्यापार तथा लगानीको विषयमा हुने संवादका सम्पर्क व्यक्ति थिए । पछिल्लो समय हे लिफेङ राष्ट्रिय विकास तथा पुनःसंरचना आयोग प्रमुख बने । जसले चीनको आर्थिक योजना तयार पार्ने काम गर्छन् । तटीय क्षेत्र फुजियानमा सी र हे ८० र ९० को दशकमा सँगै काम गरेका थिए । उनी २४ सदस्यीय पोलिटब्युरो सदस्य हुन् ।

हान झेङ- उपप्रधानमन्त्री
विश्लेषकहरू हानलाई सीको कोटरी बाहिरका नेता भएको बताउँछन् । तर, राष्ट्रपति सीसँग उनको सम्बन्ध संघाईको पार्टी कमिटीदेखिकै हो । संघाई जिआङ जमिन समूहको राजनीतिक प्रभाव क्षेत्र पनि मानिन्छ । हानले संकटको समयमा हङकङ मामिलामा राष्ट्रपति सीलाई सघाएका थिए । गत अक्टोबरमा भएको पार्टी महाधिवेशनमा पार्टीको पोलिटब्युरो स्ट्यान्डिङ कमिटीबाट उमेर हदका कारण ६८ वर्षका हान बिदा भएका थिए ।

चिन काङ– स्टेट काउन्सिलर तथा विदेशमन्त्री
डिसेम्बरमै विदेशमन्त्री भएका चिन काङलाई संसद्ले स्टेट काउन्सिलरको भूमिकामा नियुक्त गरेको हो । विदेशमन्त्रीमा नियुक्त हुनअघि उनी अमेरिकाका लागि चिनियाँ राजदूत थिए । विश्लेषकहरू उनी राष्ट्रपति सीको विश्वासपात्र भएको बताउँछन् । सन् २०१४ देखि २०१८ सम्म उनी शिष्टाचारको प्रमुख रहेको थिए र सीका विदेश भ्रमणमा संलग्न हुने गरेका थिए । यसैवर्ष ५६ वर्ष पुगेका चिन चिनियाँ नेताहरूमध्येका सबैभन्दा कान्छा सदस्य हुन् । कतिपयले विदेशमन्त्रीलाई स्टेट काउन्सिलर बनाउने गरी संरचनागत परिवर्तन हुनसक्ने पनि बताएका छन् ।

ली साङफु– स्टेट काउन्सिलर तथा रक्षामन्त्री
चीनका नवनियुक्त रक्षामन्त्री ली साङफु २०१८ देखि अमेरिकाको प्रतिबन्धित व्यक्तिको सूचीमा रहेका छन् । चीनले रूसबाट लडाकु विमान र उपकरण किनेपछि अमेरिकाले ली साङफुमाथि प्रतिबन्ध घोषणा गरेको थियो । लीले चिनियाँ सेनाको अन्तरीक्ष कार्यक्रमको पनि जिम्मेवारी सम्हाल्दै आएका थिए । अमेरिकासँग तनाव बढ्दै गएको समयमा चीनले रक्षामन्त्रीमा लीलाई गरेको नियुक्तिले संवादको सम्भावना कम हुने पनि बताइन्छ ।

यी काङ– केन्द्रीय बैंकको गभर्नर
यी काङको केन्द्रीय बैंकको गभर्नरको रूपमा दोस्रो कार्यकाल हो । ५ वर्षअघि पनि उनी नियुक्त भएका थिए । धेरैले मन्त्रिपरिषद् पुनः गठनमा उनी फालिने अनुमान गरेका थिए । यीले अमेरिकामा अध्ययन गरेका हुन् । उनले इलिनोए विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । प्राध्यापकका रूपमा इन्डियाना र प्रड्यु विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनी सन् १९९० देखि केन्द्रीय बैंकमा काम गर्दै आएका छन् । उनी सन् २०१८ मा केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका थिए । राष्ट्रपति सीले विश्वास गरेकै कारण उनको कार्यकाल दोहोरिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com