काठमाडौं, ११ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । तर, राष्ट्रपति कुन दलले पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन । निरन्तर छलफलमा रहेका शीर्ष नेताहरूको आ–आफ्नै रणनीति छ । दृश्य–अदृश्य रूपमा भइरहेका छलफलले नयाँ समीकरण बनाउने र भत्काउने खेलमा अहिले शीर्ष नेताहरू रणनीतिक रूपमा सक्रिय छन् ।
संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सांसदले मात्रै मतदान गर्न पाउने यो निर्वाचनमा प्रमुख दल कांग्रेस र एमालेले आ–आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास भित्रभित्रै गरिरहेका छन् । राष्ट्रपति निर्वाचनमा मतदाता निश्चित रहेकाले दलीय समीकरण कस्तो बन्ने हो ? त्यसैबाट राष्ट्रपति को बन्छ ? भन्ने प्रस्ट हुनेछ । यहि फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका निम्ति उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिको निर्वाचनले सत्ता गठबन्धनको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । राष्ट्रपतिको उम्मेदवारी र निर्वाचनले सम्भवतः यसको टुंगो लगाउनेछ । नयाँ गठबन्धनको निर्माण र सरकार गठनका बेला राष्ट्रपति एमालेलाई दिने सहमति भए पनि वर्तमान सरकारले सदनमा विश्वासको मत लिने क्रममा नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुबाट पनि विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको पार्टीको राष्ट्रपतिको निर्वाचन सम्बन्धी धारणामा परिवर्तन आउन शुरु गरेको थियो र ‘राष्ट्रिय सहमति’को कुरालाई अगाडि सारिएको थियो । यसले एमालेलाई सशंकित बनाएको थियो । आज ऊ अझ बढी सशंकित भएको छ । अहिलेको स्थितिमा निर्णायक भूमिकामा रहेको माओवादी केन्द्र र त्यसका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र भूमिकाको धेरै अर्थ देखिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगले संघीय संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गरेको छ । यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् । दुई वटा केन्द्र रहने मतदानस्थल नया“ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ । राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । तर राजनितिक दलहरुबीच भने राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अझै एकमत हुन सकेको छैन । कांग्रेस वर्तमान गठबन्धनलाई भत्काउन चाहन्छ । आफ्नो उद्देश्य उसले लुकाएको पनि छैन । एकीकृत समाजवादी पनि यो गठबन्धनका पक्षमा छैन । हिजो गठबन्धनलाई यथावत राख्ने कुरामा कांग्रेसमा रहेका केही कमजोरीका कारण एमाले सहितको नयाँ गठबन्धन निर्माण हुने परिस्थिति तयार बनेका थियो । खासगरी प्रधानमन्त्री आफै बन्ने देउवाको चाहनाले यसका निम्ति सबैभन्दा ठूलो भूमिका सम्पादन गरेको थियो ।
आज कांग्रेस यसबाट शिक्षा ग्रहण गर्दै फरकढंगले अघि बढ्न चाहेको देखिन्छ । राष्ट्रपति आफूले लिएर ऊ प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री मान्न तयार रहे जस्तो पाइन्छ । जेहोस्, यतिबेला राष्ट्रपतिको उम्मेदवारी र निर्वाचन चर्चाको शिखरमा छ र यसले राष्ट्रिय राजनीतिलाई गम्भीररुपले प्रभावित गरेका छ । प्राकृतिक मौसम चिसोबाट तातोतिर लाग्दै गर्दा राजनीतिक वृत्त पनि पछिल्ला दिन राष्ट्रपतिको चर्चाले गर्माएको छ । प्रधानमन्त्री प्रचण्ड मियो बन्दा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली वरिपरि घुमिरहेका छन् । पाँच वर्षे राष्ट्रपतिका लागि दैनिक नयाँ नयाँ पात्रको नाम चर्चामा आइरहेका छन् । राष्ट्रपतिको निर्वाचन पूर्व काठमाडौंमा शक्ति राष्ट्रको परेड पनि हेर्न लायक छ । अझ भारतीय प्राध्यापक एसडी मुनीले त चार जनाको नामै सुझाइसके छन् ।
त्यसअघि भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा काठमाडौं उत्रेका थिए । क्वात्रा दिल्ली फर्केलगत्तै राष्ट्रपतिमा महन्थ ठाकुरको नाम चर्चामा आयो र लोकतान्त्रिक समाजवादीले आफ्नो अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन औपचारिक प्रयास समेत थालेको छ । गठबन्धन यही रहला वा नयाँ बन्ला, राष्ट्रपति एमालेले पाउला वा कांग्रेसले वा अरु कुनै व्यक्ति अगाडि आउला यसले राष्ट्रिय राजनीतिलाई प्रभावित गर्ने नै छ तर यो भन्दा धेरै गम्भीर कुरो राष्ट्रपति निर्वाचनमा देखिएको बाह्य चासो रहेको छ । सामान्यतया अरु मुलुकमा के हुँदैछ भन्ने चासो सबैमा रहन्छ । छिमेकीहरु आफ्नो छिमेकमा के हुँदैछ भन्नेमा अझ बढी चासो दिन्छन् । टाढाका शक्तिसम्पन्न राष्ट्रहरुको पनि गहिरो चासो रहन्छ । चासो रहनु एउटा कुरा हो तर त्यो भूमिकामा रुपान्तरित हुनु अर्को कुरा हो । चासो राख्न सकिन्छ तर भूमिका निर्वाह गर्न सकिन्न र पाइन्न पनि । हाम्रा छिमेकीहरुको चासो चासोमा मात्र सीमित छैन । सात समुद्रपारिका शक्ति राष्ट्रहरुको चासो पनि चासोमा मात्र सीमित छैन ।
सबै आ–आफ्ना भूमिकामा सक्रिय छन् र सबैका आ–आफ्ना उद्देश्यहरु छन् । राष्ट्रपति निर्वाचनमा देखिएको बाह्य चासो र भूमिका उदेकलाग्दो मात्र छैन डरलाग्दो पनि छ । राष्ट्रपतिको निर्वाचनले यति धेरै महत्व नपाउनुपर्ने हो । राष्ट्रपति कार्यकारी पद होइन । संविधानले राष्ट्रपतिको भूमिकालाई परिभाषित गरेको छ । तर अहिले यसलाई कार्यकारी राष्ट्रपतिको निर्वाचन जस्तो बनाइएको छ । विगतमा राष्ट्रपतिबाट जे जस्तो अभ्यास भयो त्यसको छाप त यसमा देखिन्छ नै त्यो भन्दा बढी अहिलेको राजनीतिक स्थितिले यसलाई यस्तो बनाएको पाइन्छ ।
सबैले राष्ट्रपतिको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । राष्ट्रपतिको निर्वाचन सत्तासमीकरणसँग जोडिएकाले यति धेरै महत्वपूर्ण बनेको छ र यसमै बाह्य शक्तिहरु पनि खेल्दैछन् । केहि दिन अघिमात्र भारतीय विदेश सचिवले नेपाल आएर विभिन्न दलका प्रमुख र प्रधानमन्त्रीलाइ भेट गरे उनले राष्ट्रपतिका लागि केही नामहरुका बारेमा चर्चा पनि गरे । उनले लिएका नामहरु सार्वजनिक पनि भइसकेका छन् । एस.डी. मुनीले पनि केही नामहरुका बारेमा चर्चा गरे । यसरी नाम किटान गरेर भन्नेहरुमा अरु पनि राजनीतिक दृष्टिले प्रभावशाली भारतीयहरु होलान् । राष्ट्रपति निर्वाचनमा चिनियाँ चासो पनि लुकेको विषय होइन । अमेरिकी, बेलायती चासो पनि उदांगो नै छ । सबैको चाहना आ–आफ्नो अभीष्ट अनुसार राष्ट्रपतिको निर्वाचन सम्पन्न होस् भन्नेछ ।
नेपालको आन्तरिक मामिलामा यो हदको चासो र सक्रियता हाम्रा निम्ति लज्जा विषय हो । हामी आफ्नो बारेमा निर्णय गर्न स्वतन्त्र छौं भन्ने हाम्रो भनाइमाथि यसले प्रश्न चिन्नह खडा गरेको छ । एउटा मुलुक वास्तविक अर्थमा स्वाधीन आफ्नो विषयमा आफूले निर्णय गर्न सक्दा मात्र हुन्छ । तर हाम्रो आन्तरिक मामिलामा अरु नै निर्णायक बन्दैछन् । राष्ट्रपति निर्वाचनमा देखिएको यो हदको चासोले हाम्रो स्वतन्त्र हैसियतलाई अझ कमजोर बनाएको छ । सरकार, नेता र दलमा रहेका कमजोरीहरुका कारण यस्तो स्थितिको निर्माण भएको हो । दलहरुमा कति कमजोरीहरु छन् भन्ने कुरा राष्ट्रपतिको निर्वाचनलाई विदेशीहरुको भूमिका समेत आकर्षित हुने विषय बनाइदिएबाट थाहा हुन्छ । आजको खाँचो साहसपूर्वक आफ्नो स्वतन्त्र भूमिकाको रक्षा गर्नु हो । अर्काको कठपुतली बन्नबाट जोगिनु हो । राष्ट्रिय स्वाधीनता र आत्मसम्मानको रक्षा गर्नु हो । तसर्थदलहरु सच्चिन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्