ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले सार्वजनिक गर्‍यो जिएसआईको विस्तृत अवधारणा


abc

चीनले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)को विस्तृत अवधारणा सार्वजनिक गरेको छ । राष्ट्रपति सी जिनपिङले विश्व सुरक्षाका लागि भन्दै प्रस्ताव अघि सारेको १० महिनापछि चीनले अवधारणा सार्वजनिक गरेको हो ।‘द ग्लोबल सेक्युरिटी इनिसिएटिभ कन्सेप्ट पेपर’का नाममा चीनले अघि सारेको ३५ सय शब्दको २२ पृष्ठ लामो अवधारणामा सबै देशको वैध सुरक्षा चासो सम्बोधन गर्दै साझा हितका लागि साझा सुरक्षामा जोड दिइएको छ । चिनियाँ राष्ट्रपतिले गत ८ वैशाखमा आयोजित बोआओ फोरम फर एसिया सम्मेलनमा पहिलोपटक जिएसआईबारे बोलेपछि चर्चा हुँदै आएको थियो ।

चीनले सबै देशका जनताको हित, विश्वशान्ति र विकास तथा मानवताको भविष्यलाई जिएसआईले ध्यानमा राखेको उल्लेख छ । विश्वमा यतिवेला कहिल्यै नभएको परिवर्तन भइरहेको, कहिल्यै नदेखिएका विश्वव्यापी चुनौती देखापरेको, क्षेत्रीय सुरक्षा हटस्पट ज्वलन्त भएको तथा सुरक्षा खतरा थपिएको भन्दै साझा सुरक्षाको अवधारणा अघि सारेको छ । ‘आशा र चुनौतीले भरिएको युगमा शान्ति, विकास र सबैलाई हित हुने गरी सहकार्य कसैले पनि रोक्न सक्दैन,’ चीनले भनेको छ ।

चीनले सबै देशको साझा कार्य विश्वशान्ति र सुरक्षालाई कायम राख्ने र विश्वव्यापी विकास र समृद्धिको प्रवद्र्धन गर्ने हुनुपर्ने भनेको छ । यही सन्दर्भमा चिनियाँ राष्ट्रपति सीले विश्वव्यापी सुरक्षा पहल (जिएसआई) को प्रस्ताव राखेको चीनले जनाएको छ ।

‘अहिले तीव्र रूपमा परिवर्तन भइरहेको अन्तर्राष्ट्रिय परिवेशलाई अनुकूल बनाउन तथा एकअर्कासँग जोडिएका जटिल सुरक्षा चुनौतीमाथि विजय हासिल गर्ने गरी सम्बोधन गर्न सीले सबै देशलाई आह्वान गर्नुभएको छ,’ नेपालस्थित चिनियाँ दूतावासले पठाएको अवधारणापत्रमा भनिएको छ, ‘जिएसआईले अन्तर्राष्ट्रिय द्वन्द्वका मूल कारणलाई पत्ता लगाएर न्यूनीकरण गर्ने, विश्वव्यापी सुरक्षा तथा शासन प्रक्रियामा सुधार गर्ने, अस्थिर र परिवर्तनशील परिस्थितिमा स्थिरता र निश्चितता स्थापित गर्न संयुक्त अन्तर्राष्ट्रिय प्रयासलाई प्रोत्साहन गर्ने एवं विश्वमा दिगो शान्ति र विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।’

राष्ट्रपति सीले साझा, व्यापक र दिगो सुरक्षाका लागि नयाँ दृष्टिकोण सुरुवात गरेको र अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएर समर्थन गरेको चीनको दाबी छ । ‘सुरक्षाको यो नयाँ दृष्टिकोणको सार भनेको साझा सुरक्षा अवधारणाको वकालत हो, प्रत्येक देशको सुरक्षाको सम्मान र सुरक्षा हो । परम्परागत र गैरपरम्परागत डोमेनमा सुरक्षा कायम गर्दै र समन्वयात्मक तरिकाले सुरक्षा सुशासनलाई अभिवृद्धि गर्ने साझा दृष्टिकोण हो,’ चीनले भनेको छ । आर्थिक सहकार्य, राजनीतिक संवाद र शान्तिपूर्ण वार्ताको माध्यमबाट सुरक्षा हासिल गर्ने र दिगो सुरक्षाको खोजी गर्ने अवधारणाका रूपमा चीनले जिएसआईको व्याख्या गरेको छ ।

चीनले सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न प्रतिबद्धतासहित सुरक्षा अवधारणा ल्याएको जनाएको छ । ‘सार्वभौम समानता र आन्तरिक मामिलामा अहस्तक्षेप अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त र समसामयिक अन्तर्राष्ट्रिय सम्बन्धलाई सम्बोधन गर्ने आधारभूत मान्यतामा चीन प्रतिबद्ध छ,’ अवधारणा पत्रमा भनिएको छ, ‘हामी विश्वास गर्छौँ कि सबै देश, ठूला वा साना, बलियो वा कमजोर, धनी वा गरिब जेसुकै हुन्, उनीहरू अन्तर्राष्ट्रिय समुदायका समान सदस्य हुन् । उनीहरूको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रोकिनुपर्छ, सार्वभौमसत्ता र मर्यादाको सम्मान गरिनुपर्छ तथा सामाजिक प्रणाली र विकासको बाटो स्वतन्त्र रूपमा छनोट गर्ने अधिकारलाई समर्थन गर्नुपर्छ ।’

चीनले अवधारणामार्फत सबै देशहरूलाई साँचो बहुपक्षवाद अभ्यास गर्न आह्वान गरेको छ । यसका लागि संयुक्त राष्ट्र संघसँगको अन्तर्राष्ट्रिय प्रणालीलाई सहकार्यको केन्द्रमा राख्नुपर्ने चिनियाँ जोड छ । ‘अन्तर्राष्ट्रिय कानुनद्वारा निहित अन्तर्राष्ट्रिय व्यवस्था र संयुक्त राष्ट्रसंघको बडापत्रद्वारा निहित अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतालाई दृढतापूर्वक समर्थन गर्न हामी प्रतिबद्ध छौँ,’ चीनले भनेको छ, ‘पुरानो मानसिकता, एकपक्षीयवाद, गुट टकराव र आधिपत्यवाद संयुक्त राष्ट्रसंघीय बडापत्रका हिसाबले विरोधाभासपूर्ण छ र यसको प्रतिरोध गरिनुपर्छ ।’

चीनले सबै देशहरूको वैध सुरक्षा सरोकारलाई गम्भीरताका साथ लिन प्रतिबद्ध रहेको जनाएको छ । ‘मानवता एक अविभाज्य सुरक्षा समुदाय हो । एउटा देशको सुरक्षा अरूको खर्चमा आउनुहुँदैन । हामी विश्वास गर्छौँ कि सुरक्षा हितका हिसाबले सबै देशबराबर छन्,’ चीनले भनेको छ, ‘सबै देशको वैध र व्यावहारिक सुरक्षा सरोकारलाई गम्भीरताका साथ लिनुपर्छ र उचित रूपमा सम्बोधन गर्नुपर्छ । कुनै पनि देशले आफ्नो सुरक्षाको पछि लाग्दा अरूको उचित सुरक्षा चिन्तालाई ध्यानमा राख्नुपर्छ ।’

चीनले एउटै जहाजमा सवार यात्रु जस्तै, देशहरूले मानव जातिका लागि साझा सुरक्षाको अवधारणालाई बढवा दिन, भयमुक्त र विश्वव्यापी सुरक्षाको आनन्द लिने संसार निर्माण गर्न एकताबद्ध भएर काम गर्न सबैलाई आह्वान गरेको छ । ‘यी परिकल्पना साकार पार्न चीनले विश्वव्यापी सुरक्षा पहलको रूपरेखाअन्तर्गत सबै देश र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनसँग द्विपक्षीय र बहुपक्षीय सुरक्षा सहयोग सञ्चालन गर्न र सुरक्षा अवधारणाको समन्वय र चासो को अभिसरणलाई सक्रिय रूपमा प्रवद्र्धन गर्न तयार छ,’ चीनले भनेको छ ।

चीनले ‘आणविक युद्ध जित्न सकिँदैन र कहिल्यै लड्नुहुँदैन’ भन्नेमा कार्यान्वयनमा जोड दिएको जनाएको छ । २०२२ जनवरीमा पाँच आणविक हतियार राष्ट्रका नेताहरूले जारी गरेको संयुक्त वक्तव्य कार्यान्वयनमा जोड दिएको छ । अन्तर्राष्ट्रिय र क्षेत्रीय द्वन्द्वका मुद्दाको राजनीतिक समाधानमा जोड दिएको चीनले वार्ताका माध्यमबाट युक्रेन संकटको राजनीतिक समाधान गर्नुपर्ने बताएको छ ।

चीनले आतंकवादविरुद्धको विश्वव्यापी लडाइँमा केन्द्रीय संयोजकको रूपमा संयुक्त राष्ट्रसंघको भूमिकालाई बलियो बनाउनुपर्ने पनि बताएको छ । संयुक्त राष्ट्रसंघीय महासभा र सुरक्षा परिषद्को प्रभावकारी कार्यान्वयनमा अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्ने पनि चीनले वचन दिएको छ ।

चीनले अनुभव तथा अवधारणा आदानप्रदान र सहयोगका लागि थप अन्तर्राष्ट्रिय मञ्च र संयन्त्र निर्माणमा जोड दिएको छ । ‘सुशासन क्षमतामा सुधार गर्ने उद्देश्यका साथ प्रतिआतंकवाद, साइबर सुरक्षा, जैविक सुरक्षा र उदीयमान प्रविधिजस्ता क्षेत्रमा सुरक्षा चुनौतीलाई सम्बोधन गर्नुको विकल्प छैन,’ चीनले भनेको छ, ‘विश्वविद्यालयस्तरको सैन्य र प्रहरी एकेडेमीबीच थप आदानप्रदान र सहयोगलाई प्रोत्साहन गर्नुपर्छ ।’

अवधारणामा के छ ?

  • सबै देशका जनताको हित, विश्वशान्ति र विकास
  • आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रोकिनुपर्ने
  • साँचो बहुपक्षवाद अभ्यास गर्न आह्वान
  • संयुक्त राष्ट्रसंघसँग सहकार्यको केन्द्रमा राख्नुपर्नेमा जोड
  • एकपक्षीयवाद, गुट टकराव र आधिपत्यवादको प्रतिरोध
  • अन्तर्राष्ट्रिय र क्षेत्रीय द्वन्द्वका मुद्दाको राजनीतिक समाधानमा जोड

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

टिकटकका सिइओको स्वीकारोक्ति : प्रयोगकर्ताको डाटामा चिनियाँ प्राविधिकको पहुँच छ

उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण

पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित

राहुल गान्धीको सांसद पद खारेज

चीनबारे के सोच्छ अमेरिकी जासुसी संयन्त्र ? चीनका सात गतिविधिले अमेरिकालाई खतरा

राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्षकाे जेल सजाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com