काठमाडौं । सांसदबाट सबैभन्दा बढी लेबी उठाउने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ ।
प्रतिनिधिसभा सांसदको नियमित तलब ६७ हजारमध्येमा स्वतन्त्र पार्टीले २५ हजार रुपैयाँ लेबी उठाउन लागेको हो । अहिलेसम्म सबैभन्दा बढी लेबी उठाउने पार्टी रास्वपा बनेको छ ।
सांसदहरुको भत्तासहित गर्दा करिब एक लाख पुग्छ । क्षमताभन्दा बढी लेबी तोकिएको भन्दै केही सांसदले असन्तोष जाहेर गरेका छन् ।
एमालेले यसअघिको प्रतिनिधिसभा कालमा सांसदहरुबाट प्रतिमहिना १३ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो। कांग्रेसले मासिक १० हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । दुवै ठूला दलले यसपल्ट भने लेबी शुल्क तोक्न बाँकी छ ।
यस्तै माओवादी केन्द्रले अघिल्लो संसदकालमा मासिक १२ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । यसपल्ट पनि सोही कायम हुने माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसदलाई मासिक १५ हजार रुपैयाँ लेबी उठाउने गर्छ ।
जसपाले यसअघिको संसदमा मासिक १० हजार उठाउँथ्यो । नयाँ सांसदलाई कति उठाउने भन्नेबारे निर्णय छिट्टै हुने पार्टी प्रवक्ता मनिष सुमनले बताए ।
एकीकृत समाजवादीले सांसदबाट मासिक १२ हजार रुपैयाँ लेबी उठाउँछ । सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म यसबारे निर्णय गरिसकेको छैन । पार्टीको संसदीय दल तथा कार्यकारिणीले यसबारे सोच्ने पार्टी उपाध्यक्ष दीपक साहले बताए ।
प्रतिक्रिया दिनुहोस्