काठमाडौं, ६ पुस । बादी समुदाय एक यस्तो समुदाय हो जतिबेला राजा महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु उनीहरूको मुख्य पेशा थियो जुन पेशा बाट उनीहरूको गुजारा चल्थ्यो । आधुनिकतासँगै बादी समुदायको पेशा छायामा पर्दै गए पछि बादी समुदाय आफ्नो पहिचानको लागी आवाज उठाइरहेका छन् । तीन तहकै सरकार उनिहरुको समस्याप्रति उदासिन बनेको छ, सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन बादी समुदायले आग्रह गरेका छन् ।
इतिहासकारहरूका अनुसार भारतबाट १४ सय शताब्दीमा राजा रजौटाहरूको मनोरञ्जनका लागि नेपाल ल्याइएका बादी समुदायले लामो समयदेखि वाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका थिए । तत्कालीन राजा रजौटा र जमिनदारलाई मनोरञ्जन दिन बादीलाई प्रयोग गरिन्थ्यो । राजा, राणा हुँदै पञ्चालयत कालसम्म नाचगानमा नै व्यस्त रहे पनि २०४६ सालको प्रजातन्त्रपछि भने यो समुदायमा नाचगान खुम्चिँदै गएको र देशका विभिन्न भागमा मनोरञ्जन दिने सञ्चारमाध्यम स्थापना भएपछि उनीहरूको पेसा संकटमा परेको देखिन्छ । पेसामा संकट आएपछि बादी समुदायका महिलाहरू बाध्यतावश यौन व्यवसायमा लागेको पाइन्छ ।
यौन व्यवसाय सरकारले पूर्ण रूपमा बन्द गरेपछि यो समुदायले नदी र खोलामा माछा मार्ने, गिट्टी बालुवा चालेर जीविकोपार्जन गर्ने गरेका छन् । संविधानमा लेखिएका कुराहरु कागजमा मात्रै सिमित हुँदा बादी समुदायलाई झनै पीडा थपिएको महशुस गरेको उनीहरु बताउछन् । बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नातकोत्तर गरीरहेकी देवीसरा बादीले, बादी समुदायलाई शिक्षामा विभेद गरिँदा बादी युवतीहरु यौन व्यवसाय अँगाल्न बाध्य भएको बताइन् ।
उनले पहिला अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भएपनि पछिल्लो समय सरकार सहयोगी नबन्दा यौन व्यवसायमा लागिरहेको बताइन् । उनले बादी समुदायका महिलाहरु घर खर्च धान्नका लागि भएपनि सानै उमेरबाट यौन व्यवसायमा लाग्ने गरेको बताइन् । नेपालमा चलेको जनयुद्ध र शान्ति प्रक्रिया सुरु भएपछि काठमाडौंको संसदभवन अगाडि महिनौ धर्ना दिएर बादी समुदायले आफ्ना मागहरू राखेका थिए । बादीहरूलाई सरकारले बस्ने घर र जमिन उपलब्ध गराएको थियो । अहिले प्राय बादी समुदायको महिलाहरुले योन पेसालाई छोडेर अन्य पेसा अपनाए पनि अझैं पनि समाजले उनिहरूलाई राम्रो दृष्टीले हेर्दैन भन्ने बादीहरूको गुनासो छ । त्यस्तै बादी समुदायबाट अधिवक्ता बनेकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था परिवर्तन हुन नसकेको बताइन् । उनले नागरिकता पाउन पनि बादी समुदायले हात पाउ जोड्नुपर्ने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले राजनीतिक दलहरुले निर्वाचनताका ठूलो आश देखाउने तर अघिपछि हेप्ने प्रवृत्ति रहेको बताइन् ।
आर्थिक अवस्थाका कारण यौन व्यवसायमा लाग्न बाध्य भएका बादी समुदायका युवतीहरुको उद्धारका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बादी समुदायको माग छ । बादी समुदायको उत्थानसम्बन्धमा जानकारी आदानप्रदान गर्न सञ्जाल स्थापना र बिस्तार गर्दा धरै मानिसमा बादी समुदायको पहिचान पुग्छ । त्यसैगरी, बादी समुदायका लागि आवश्यक स्रोत साधन, व्यवस्थित बसोबासको व्यवस्था र उनिहरुको उत्थान र विकासका लागि काम गरी उनिहरुलाई पहिचान दिलाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्