गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा शनिबार आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता–कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उनले समृद्धिका लागि कांग्रेससँग सहकार्य भएको बताए ।
“प्रतिगमनका विरुद्ध लड्ने क्रममा त हामी सबै एक ठाउँमा आयाँै, त्यो आउनु पनि पर्थ्यो,” उनले भने, “त्योभन्दा माथिको जुन विकास र समृद्धिका कुरा गरिरहेका छौँ, त्यसमा पनि वामपन्थी र नेपाली कांग्रेसबीचको सहकार्य नभईकन देशमा दिगो शान्ति हुँदैन । दिगो शान्ति नभए राष्ट्रिय एकता कायम हुँदैन र विकास समृद्धि पनि हुँदैन ।”
उनले विकास, समृद्धिका लागि आफूहरूले कांग्रेससँगको सहकार्यलाई दीर्घकालीन महत्त्व दिएको समेत उल्लेख गरे । “यसलाई तपाईंहरू खाली चुनावी तालमेल मात्र नभन्नु होला,” उनले भने, “कतिपयले कम्युनिस्ट समाजवादी र कांग्रेस माओवादीविपरीत ध्रुव चुनावी स्वार्थका लागि आए भन्ने छ, त्यो अपवित्र गठबन्धन हो भन्ने गरेका छन् । तर, सबैभन्दा पवित्र गठबन्धन यही हो ।”
अध्यक्ष डा. भट्टराई गोरखा क्षेत्र नम्बर–२ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेको समेत बताए ।
“मैले गोरखामा टिकट नपाउने भन्ने पनि होइन । मैले हस्तान्तरण गर्न चाहेको थिएँ, त्यो पूरा भएको छ,” उनले भने, “प्रचण्डले चितवनबाट चुनाव नजित्ने भन्ने थिएन । तर, इतिहास निर्माणका लागि उहाँ गोरखाबाट चुनाव लड्न आउनुभएको हो ।”
“राणा शासनकाविरुद्ध लड्दादेखि राजासँग लड्दासम्म इतिहास निर्माणको थलो गोरखा थियो,” उनले थपे, “अब फेरि एकपटक समृद्धीकरण मोडल पनि गोरखा बन्न सक्छ ।”








प्रतिक्रिया दिनुहोस्