सोलुखुम्बु । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले क्रान्ति र शान्तिको नेतृत्व गरिसकेको भन्दै अब समृद्धिको नेतृत्व गर्ने चाहना रहेको बताएका छन् ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै प्रचण्डले घुमाउरो पारामा फेरि एक पटक देशको कार्यकारी प्रमुख हुने संकेत गर्दै भने, ‘जनयुद्ध र शान्तिप्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र समृद्धिको एक पटक नेतृत्व गर्ने उत्कट चाहना छ ।’
उनले एक पटक नेतृत्व गर्ने चाहना भएको पनि बताए । ‘समाजवादी मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहना छ, अब समाजवादमार्फत नै मुलुकलाई समृद्ध बनाउने हो,’ उनले भने । ‘जनयुद्ध’मार्फत सामन्तवादको अन्त्य गरी वर्तमान संविधान जारी गर्न सफल भएको दाहालको तर्क छ ।
यहाँ आयोजित कार्यक्रममा एकै साथ ५० शय्याको दूधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवनको पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् ।
दूधकोशी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय ५ करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने ७ करोडको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
प्रतिक्रिया दिनुहोस्