धनकुटा, ५ माघ । धनकुटामा आन्दोलनकारी र प्रशासनवीच क्षेत्रिय प्रशासन कार्यालयमा दिउसोबाट शुरु भएको छलफल बिना निश्कर्ष सकिएको छ। धनकुटामा शुक्रबार बसेको आन्दोलनरत पक्ष र प्रशासनवीचको बार्तामा आन्दोलनकारी बन्द हड्ताल फिर्ता लिने र प्रशासनले निषेधाज्ञा हटाउँने बिषयमा दुई पक्षवीच कुरा नमिलेपछि बार्ता निष्कर्षमा पुग्न नसकेको हो।
वार्तामा सहभागि आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले दिएको जानकारी अनुसार प्रशासनले सुरुमा निषेधाज्ञा फिर्ता लिन नमानेपछि वार्ता निष्कर्ष बिहिन भएको छ। प्रशासनको तर्फबाट आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता लिन आग्रह गरिएको थियो। तर, प्रशासनको आग्रहका बिषयमा आन्दोलन परिचालन समितिको पुनः बैठक बसेर मात्र निर्णय गरिने संयोजक श्रेष्ठले बताएका छन्।
यता प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले आन्दोलन फिर्ता हुँने विश्वासिलो वातावरण नबनेसम्म निषेधाज्ञा फिर्ता लिन नसकिने बताएका छन्। निषेधाज्ञा फिर्ता नभएपनि आज साँझबाट निषेधाज्ञालाई केही खुकुलो बनाईनेछ। प्रमुख जिल्ला अधिकारी उप्रेतीका अनुसार हिडडुल गर्नमा प्रशासनले अवरोध नगर्ने र प्रदर्शन हुँने अवस्थामा भने प्रहरीले रोक्ने बताएका छन्।
धनकुटालाई प्रदेश नम्बर १ को प्रादेशिक राजधानी माग गर्दै शुरु गरिएको शान्तिपुर्ण आन्दोलन पछि सरकारले विराटनगरलाई राजधानी घोषण गरे सँगै आन्दोलन हिंसात्मक बनेको थियो। हिंसात्मक आन्दोलनलाई नियन्त्रणमा लिनका लागि भन्दै प्रशासनले बिहीबार मध्यान्हदेखि निशेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा, आमहड्ताल लगायत समस्या समाधानका लागि शुक्रबार दिउँसो प्रशासनले धनकुटामा क्रियासिल राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, आन्दोलन परिचालन समितिका संयोजक लगायतलाई वार्तामा बोलाएको थियो।
शुक्रबार पनि जनजीवन प्रभावित
यसैबीच धनकुटा प्रादेशिक राजधनी निर्माण संघर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन आमहडतालको तेस्रो र स्थानीय प्रशासनले जारी निशेधाज्ञाको दोस्रो दिन शुक्रबार पनि धनकुटाको जनजीवन प्रभावित भएको छ।
धनकुटालाई प्रादेशिक राज्यको राजधानी माग गर्दै आह्वान गरिएको बन्दका क्रममा हिंसात्मक घटना बढेको भन्दै स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको हो।
प्रदेशको अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि धनकुटा बजार क्षेत्रमा प्रशासनले बिहीबारबाट लगाएको निषेधाज्ञा शुक्रबार पनि जारी छ। आमहडताल र निशेधाज्ञाको असर नागरिकको दैनिकीमा परेको छ।
धनकुटाबजार क्षेत्रमा बिहानैदेखि बजार, पसल, शैक्षिकसंस्था, यातायात, कलकारखाना पूर्णरूपमा बन्द छन्। जसको कारण कोशी राजमार्गको भेडेटार बसन्तपुर खण्डमा यातायातका साधन पूर्णरूपमा ठप्प छन्। सवारी साधन, बजारपसल, उद्योगधन्दा, शिक्षणसस्था लगायत पनि बन्द हुँदा जनजीवन अस्तब्यस्त बनेको हो।
कोशी राजमार्गको उक्त खण्डमा सवारी साधन नचल्दा भोजपुर, तेह्रथुम र संखुवासभाको जनजीवन पनि प्रभावित बनेको छ।
संघर्ष समितिले संघीय प्रदेशको केन्द्र भाग, पहिचान, सामर्थ्य, सुरक्षा हरेक हिसाबले धनकुटालाई प्रादेशिक राजधानी बनाउनुपर्ने मागसहित अनिश्चितकालीन आमहडताल गरेको हो भने स्थानीय प्रशासनले आन्दोलन हिंसात्मक बन्दै गएपछि धनकुटा बजार क्षेत्र भित्र निषेधित क्षेत्र घोषणा गरेर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
प्रहरी ज्यादती बढेको भन्दै स्थानीय आक्रोसित
धनकुटामा निषेधाज्ञाका नाममा प्रहरीको ज्यादती बढेको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन्। आन्दोलन हिंसात्मक बनेपछि बिहीबार बिहान मध्यान्हबाट धनकुटा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञामा ५ जनासम्म हिडडुल गर्न पाउँने प्रमुख जिल्ला अधिकारी उप्रेती बताउँछन्। तर, अत्यावश्यक कामका लागि एक्लै हिड्दासमेत प्रहरीले गालीगलौज गरी कुटपिट गर्ने गरेको स्थानीयको गुनासो छ।
घरको छतबाट बाहिर हेर्दासमेत प्रहरीले गाली गरेको स्थानीय बिक्रम पौडेलले बताए। ‘आफ्नो घरको छतमा बस्न पनि नपाउँनु यो कस्तो कानुन हो ?’ प्रश्न गर्दै पौडेलले भने ‘निषेधाज्ञाका नाममा प्रहरीको ज्यादती बढेको छ।’
धनकुटा बजार ब्यवस्थापन समिति अध्यक्ष विप्लप श्रेष्ठले प्रहरी प्रशासनले निषेधाज्ञाको नाममा सर्वसाधरणलाई अमानविय ब्यावहार गरेको बताए। उनका अनुसार पुजाको थाली बोकेर मन्दिर जाँदै गरेका भक्तजनलाईसमेत प्रहरीले अपसब्द प्रयोग गरी गाली गलौज गरेका छन्। परिचयमोड लगायत विभिन्न स्थानमा प्रहरीले एक्लै हिड्दै गरेका पैदलयात्रीलाई कुटपिट गरेको श्रेष्ठले जानकारी दिए।
‘बजारमा हिड्दा कर्फ्यु लागेको थाहा पाईनस भन्दै पुलिसले थर्काउँछ’ स्थानीय सुवास मगरले भने ‘सीडीओले निषेधाज्ञा जारी गरिएको भनिरहेका छन, पुलिसले कर्फ्यु लागेको भन्दै थर्काउँनु दादागिरी शैली हो।’ अर्का स्थानीय कमल अधिकारीले अस्पताल गएर फर्किदै गर्दा आफुलाई प्रहरीले लखेटेको जानकारी दिदै यसरी नै प्रहरीको ज्यादती चलिरहे स्थानीयले प्रतिकार गर्ने चेतावनी दिएका छन्। उनका अनुसार प्रहरीले औषधी पसलसमेत बन्द गराएको छ।
यता प्रमुख जिल्ला अधिकारी उप्रेतीले प्रहरीले गलत व्यवहार गरेको भए सच्याउँन लगाउने प्रतिक्रिया दिए। प्रहरी प्रमुख सुदिप राजभण्डारीले प्रहरीले सर्वसाधरणलाई गाली गलौज र कुटपिट नगरेको दावी गर्दै केही गलत भएमा तत्काल सुधार गर्न दिर्नेशन दिने बताए।
एबीसी रिर्पोटर ईश्वर थापा
प्रतिक्रिया दिनुहोस्