काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर बहादुर देउवालाई दैलेख उद्योग बाणिज्य संघका कुलबहादुर विक र महासचिव प्रकाश पौडेलले ज्ञापनपत्र बुझाउनुभएको छ । विहिवार बिहान बालुवाटारमा भेट गरी प्रधानमन्त्री देउवालाई आठ बुँदे ज्ञापनपत्र बुझाउनुभएको हो । सडक स्तरोन्नतिको माग गर्दै प्रधानमन्त्री देउवासमक्ष ज्ञापनपत्रसमेत बुझाएको अध्यक्ष विक बताउनुभयो ।
संघले दैलेख सुर्खेत सडक खण्डलाई दुई लेनको बनाउनका लागि बजेट विनियोजन गर्न माग गरेको छ । संघले प्रधानमन्त्री समक्ष दैलेख सुर्खेत सडक खण्ड दुई लेनको बनाउनुपर्ने तथा सुर्खेत दैलेख महाबु कालिकोट हुँदै नाक्चे नाङ्ला जोड्ने सडक निर्माण गर्नुपर्ने माग गरेको छ । यस्तै दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्को कार्य अघि बढिरहेको अवस्थामा कोभिडको कारण रोकिएकोले उक्त कार्यलाई तत्काल सुरु गर्न प्रधानमन्त्रीसँग माग गरिएको संघका अध्यक्ष विकले बताउनुभयो ।
संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पुष्पलाल मध्यपहाडी राजमार्गको कालोपत्रेको काम यथाशिघ्र द्रुत गतिमा सञ्चालन गर्नुपर्ने, दैलेखमा व्यवस्थित बसपार्क नभएकोले सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्न माग गरेको छ । यस्तै धार्मिक तथा पर्यटकीय स्थलको हिसावले महत्वपूर्ण मानिएको दैलेखको पर्यटन प्रर्वद्धन सम्वर्द्धन तथा आकस्मिक उपचार, दैवि प्रकोपको उद्धारका लागि विमानस्थलको निर्माण गर्न सरकारसमक्ष माग गरिएको संघका महासचिव प्रकाश पौडेलले बताउनुभयो । दैलेख जिल्लाको कच्चा पदार्थको सम्भाव्यता अध्ययन गरी साना तथा मझौला उद्योग स्थापना गर्न सरकारसँग माग गरिएको महासचिव पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्