काठमाडौँ, १३ जेठ । सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्र हत्या गर्ने प्रहरी जवानसहित २ व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा रौतहतको दुर्गा भवानीपुर गाउँपालिका वडा नं। ४ बस्ने २७ वर्षीय प्रहरी जवान कृष्णकुमार यादव र मोरङको विराटनगर महानगरपालिका वडा नं। १७ का ३१ वर्षिय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासी रहेका छन्।
उनीहरुले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्वीरहरु सामाजिक सञ्जाल ह्वाट्सएप, फेसबुकलगायतमा पोष्ट गर्ने, धाक धम्की दिई पीडितलाई मानसिक तनाव, दुःख हैरानी, समाजमा बदनाम र बेईज्जत गराई चत्रित्र हत्या गर्ने प्रयास गरेका थिए।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेका धनुषासाको बटेश्वर प्रहरी चौकीमा दरबन्दी रहेका प्रहरी जवान यादवलाई जेठ ११ गते पक्राउ गरी जेठ १२ गते ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हाल धरान उपमहानगरपालिका वडा नं.३ अस्थायी बसोवास गर्ने कासीमले सामाजिक सञ्जालमा फेक एकाउन्ट खोली पीडित युवतीको अन्तरङग तस्वीरहरु आफन्त र साथीभाइलाई पठाइ चरित्र हत्या गर्ने गरेका थिए। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा इलाका प्रहरी कार्यालय धरानको सहयोगमा पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट जेठ १२ गते ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्