काठमाडौं । सीमा विवादबारे भएको वार्तामा भारतीय पक्षले ‘अनुचित माग’ राखेको चीनले आरोप लगाएको छ । चिनिया जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डका प्रवक्ता कर्नेल लोङ शाओहुवाले चिनिया पक्षले सैन्य अधिकारीहरूको वार्तामा तनाव कम गर्नका लागि ‘ठूलो पहल’ गरेको दाबी गरेका हुन् । तर भारत आफ्नो अनुचित र अवास्तविक मागमा अडिग रह्यो जसले छलफलमा अप्ठ्यारो खडा ग¥यो सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
दुई महिनाको अन्तरालपछि भारत र चीनका सैन्य अधिकारीबीच आइतबार पुनः एक उच्चस्तरीय वार्ता भएको थियो । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार लद्दाखको पूर्वी क्षेत्रमा बचेका सैनिकलाई पनि हटाउने विषयमा सो बैठकको आयोजना गरिएको थियो । कोर कमान्डर स्तरको वार्ताको यस १३ औ चरण पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा एलएसी को चीनको हिस्सामा पर्ने मोल्दोमा आयोजना भएको जनाएको छ ।
यसअघि भारत र चीनका सैन्य अधिकारीबीच ३१ जुलाईमा १२ औ चरणको वार्ता भएको थियो । यसको केही दिनपछि दुवै देशका सैनिक गोगराबाट पछि हटेका थिए । सो क्षेत्रमा शान्ति बहला गर्ने दिशामा सो कदमलाई महत्त्वपूर्ण मानिएको थियो । गत वर्ष सो क्षेत्रमा भारत र चीनबीच कयौ झडप भएका थिए । यो वर्षको सुरुवातमा भारतले सीमा क्षेत्रमा ५० हजार थप सैनिक पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्