काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ६ जना नेतालाई कारबाही गरेको छ । आज पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बास्कोटालाई कारबाही गर्ने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको भन्दै बैठकले स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिएको छ ।
त्यस्तै, केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय गरेको छ । यसबाहेक बैठकले महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट निष्काशित गर्ने समेत निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकार गठनका लागि अपिल गर्ने समेत निर्णय गरेको छ । गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणास“गै नेकपा दुई समूहमा विभाजित छ । दुवै समूहले छुट्टाछुट्टै बैठक र कार्यक्रमहरु गर्दै आएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रचण्ड—नेपाल समूह नया“ सरकार गठन र सत्ता समीकरणको कसरतमा जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्