दाङ, १८ मंसिर । दोस्रो चरणको निर्वाचन आउन अब केही दिन बाँकी रहँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी यहाँ अहिले ह्वात्तै बढेको छ ।
विभिन्न राजनीतिक दल र त्यसका उम्मेदवारले जनतामाझ विभिन्न चुनावी एजेण्डा लगेर घरदैलो कार्यक्रम, सभा र प्रचारप्रसार अभियानलाई तीव्र पारेका छन् । उनीहरुलाई मतदातासामु आ–आफ्नो पक्षमा मत माग्न भ्याइनभ्याइ छ ।
क्षेत्र नं ३ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । विसं २०६४ मा माओवादी केन्द्र र २०७० मा काँग्रेसले जितेको यस क्षेत्रमा अहिले काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनबाट एमालेका जिल्ला सचिव हीराचन्द्र केसी चुनावी मैदानमा हुनुहुन्छ ।
सो क्षेत्रबाट नयाँ शक्ति पार्टीबाट हरिप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी र गणतान्त्रिक मोर्चाबाट हीरामणि दुःखी चुनावी मैदानमा हुनुहुन्छ ।
उम्मेदवारले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै किसानको पक्षमा काम गर्ने र दाङलाई प्रादेशिक राजधानी बनाउने एजेण्डा बघि बढाएका छन् । उनीहरूले पश्चिम दाङलाई कृषिको हवका रूपमा विकास गर्दै किसानलाई प्रविधिसँग जोड्ने कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत जनाउँदै आएका छन् । यस क्षेत्रमा सिँचाइ सुविधाका साथै कृषि विश्वविद्यालय स्थापना र युवालाई रोजगारमुखी गराउने पनि उम्मेदवारका एजेण्डा छन् ।
क्षेत्र नं ३ को प्रदेश (क) बाट काँग्रेसबाट श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरी र वाम गठबन्धनबाट माओवादी केन्द्रका जगप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाबाट भरत भण्डारी र राप्रपा प्रजातान्त्रिकबाट प्रेमबहादुर शाह चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । नयाँ शक्तिका उम्मेदवार नारायण भट्टराई भने काँग्रेसमा प्रवेश गर्नुभएको छ । सो क्षेत्रमा पनि पनि काँग्रेस र वाम गठबन्धकाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
क्षेत्र नं ३ प्रदेश (ख) बाट काँग्रेसका बुद्धिराम भण्डारी, वाम गठबन्धनबाट एमालेका उत्तरकुमार वली र राजमोबाट देवबहादुर कामी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । काँग्रेसका भण्डारी पूर्वसांसद हुनुहुन्छ । नयाँ शक्तिका उम्मेदवार रुद्रबहादुर केसी काँग्रेसमा प्रवेश गर्नुभएको छ । यहाँ पनि काँग्रेस र वाम गठबन्धनबीचनै प्रतिस्पर्धा हुने देखिन्छ ।
क्षेत्र नं ३ मा तुलसीपुर उपमहानगरपालिकाका १५ वटा वडा र बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका पर्दछन् । कुल एक लाख १८ हजार ९८७ मतदाता रहेको सो क्षेत्रमा १५३ मतदान केन्द्र रहेको छ । प्रदेश ‘क’ मा ५३ हजार १८५ र प्रदेश ‘ख’ मा ६५ हजार ८०२ मतदाता रहेको छ ।
त्यस्तै क्षेत्र नं २ मा पनि चुनावी चहलपहल बढेको छ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभातर्फ र नेकपा (एमाले) का नेता शंकर पोख्रेल प्रदेश ‘क’ बाट चुनावी मैदानमा हुनुहुन्छ । महरासँग २०७० सालमा संविधानसभाको निर्वाचनमा काँग्रेसबाटबाट सभासद् जितेका राजु खनाल चुनावी मैदानमा हुनुहुन्छ ।
त्यस्तै प्रदेश ‘क’ मा वाम गठबन्धनको तर्फबाट बन्नुभएका पोख्रेलसँग काँग्रेसका कमलकिशोर घिमिरे प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश ‘ख’ मा वाम गठबन्धनका अमरबहादुर डाँगी र काँग्रेसका भरतबहादुर न्यौपानेबीच प्रतिस्पर्धा हुने देखिन्छ । दाङलाई प्रादेशिक राजधानी र यस क्षेत्रको शिक्षा स्वास्थ्य र कृषिको विकासलाई उनीहरुले मुख्य एजेण्डा बनाएका छन् । क्षेत्र नं २ मा एक लाख आठ हजार ८७० मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्