
काठमाडौं, २९ पुस । पूर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक सातामै प्रतिवेदन तयार पारी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसमक्ष पेश गर्नेछ ।
कार्यदलमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इञ्जिनीयर, सरोकार समिति, निर्माण व्यवसायी तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलका एक-एक प्रतिनिधि छन् ।
धरान उपमहानगरपालिका–२० मा देखिएको विवाद समाधान समाधानको उपाय खोज्न सो कार्यदल गठन गरिएको हो । सो क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीयस्थललाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने जिकिर धरान उपमहानगरपालिको छ ।
उक्त वडाले करीब २०० मिटर पश्चिमबाट प्रसारण लाइन लैजान नेपाल विद्युत् प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेकाले आयोजनाको काम अवरुद्ध भएको हो ।



















प्रतिक्रिया दिनुहोस्