
काठमाडौं ,३२ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रक्सौल काठमाडौं रेल निर्माण सम्झौतामा छिट्टै हस्ताक्षर हुने बताउनुभएको छ ।
सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले रक्सौल काठमाडौं रेल निर्माणको एमओयुको ड्राफ्ट तयार भएको र परामर्श र प्रतिक्रिया लिने काम भैरहेको जानकारी दिनुभयो ।
उहाले दुईपक्षिय छलफल पछि छिटै उक्त सम्झौतामा हस्ताक्षर हुने बताउनुभयो । त्यस्तै भारतीय पक्षले गरेको प्रारम्भिक अध्ययनमा नारायणी नदीमा ‘इन ल्याण्ड वाटर वे’ निर्माण हुन सक्ने देखिएको ज्ञवालीले जानकारी दिदै २ वर्षभित्रमा तीन सय मेट्रिकटन क्षमताको जहाज नेपाल आउन सक्ने धारणा राख्नुभयो ।
सबै काम सही ढंगले अगाडि बढे ३ सय मेट्रिकटन क्षमताको जहाज गण्डक ब्यारेजसम्म आउने र यसमा प्राविधिक सहयोग भारतले गर्ने उहाको भनाई छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ‘इन ल्याण्ड वाटर वे’ निर्माणको सम्झौता भएको थियो ।
मन्त्री ज्ञवालीले भारत र चीन भ्रमणका बेला भएको सहमति र सम्झौताको कार्यान्वयनका लागी सरकार गम्भीर भएर अघि बढेको जानकारी पनि दिनुभयो । त्यस्तै उहाले मन्त्रीपरिषद्बाट राजदूतको नियुक्ति सम्बन्धि निर्देशिका २०७५ स्वीकृति गरको जानकारी दिनुभयो ।
नयाँ निर्देशिका अनुसार अब राजदूतहरुको वर्गीकरण नहुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाले नियुक्तीको प्रक्रियामा कुनै पनि देशको पिआर नलिएको , भ्रष्टाचारको आरोप नलागेको , नियुक्त भईजाने मुलुकमा सम्पादन गर्ने कामका बारेमा जानकारी हुने व्यक्ति मात्र राजदूतको सिफारिसमा पर्ने जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठकले भारतका लागि राजदूत पदमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिश गरेको उहाले जानकारी दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्