
काठमाडौं, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो बाँकी जीवन मुलुकको विकास, निर्माण र समृद्धिका लागि समर्पित गर्ने उद्घोष गरेका छन्।
अध्यक्ष दाहालले निजी–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने योजना पनि अघि सारे।
उनले पछिल्ला एक दशक शान्ति र संविधान निर्माणमा आफूले बिताएको उल्लेख गर्दै अब मुलुकको विकास, निर्माण र समृद्धिको लागि जीवन समर्पित गर्ने संकल्प रहेको बताए।
अध्यक्ष दाहालले आफूले मुलुकको इतिहास र राजनीतिक दर्शनको अध्ययन तथा संघर्ष र लडाईमा २ दशक बिताएको पनि स्मरण गराए।
उनले मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रमा आवश्यक लगानी भित्रयाउने व्यवस्थासहित संविधान जारी गरिएको दाबी पनि गरे।
शनिबार प्याब्सनद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरू शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीको विरोधी नभएको पनि स्पष्ट पारे।
अध्यक्ष दाहालले नेपालको शिक्षामा निजी क्षेत्रले गरेको मिहिनेतको प्रशंसा गर्दै गुणस्तरीय शिक्षामा अझै जोड दिन पनि आग्रह गरे।
अध्यक्ष दाहालले जीवन उपयोगी शिक्षामा सबैले जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए। उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई सर्वसुलभ र सहज बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।







प्रतिक्रिया दिनुहोस्