ललितपुर, २६ वैशाख । पाटन सङ्ग्रहालयले साताको दुई दिन विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित कार्यक्रम शुरु गरेको छ ।
सोमबार र बिहीबार दुईवटा विद्यालयका विद्यार्थी सङ्ग्रहालय घुमाउन थालिएको सङ्ग्रहालयका कार्यकारी अधिकृत सुरेश लाखेले बताउनुभयो ।
काठमाडौँ उपत्यकाका कक्षा ५ देखि माथिका विद्यार्थीलाई सङ्ग्रहालयमा घुमाउने गरी कार्यक्रम थालिएको हो । जिल्ला शिक्षा कार्यालयसँगको सहकार्यमा कार्यक्रम शुरु गरिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यार्थीले किताबमा पढेका वा नपढेका धेरै कुराको ज्ञान यहाँ पाउन सक्छन् ।”
सङ्ग्रहालयले विद्यार्थीलाई यहाँ भएका वस्तु र चोकका विषयमा जानकारी गराउनका लागि गाइडको व्यवस्था गरेको लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयले समूहमा विद्यार्थी ल्याउँदा यहाँ कर्मचारी उनीहरुसँगै घुम्ने र जानकारी दिने व्यवस्था गरेका छौँ ।”
नेपालीमा अझैसम्म सङ्ग्रहालय घुम्नुपर्छ भन्ने सोचाइको विकास भइसकेको छैन । यो उमेरका विद्यार्थीलाई सङ्ग्रहालय घुम्नुपर्छ भन्ने सिकाउन सके केही वर्षपछि सङ्ग्रहालय घुम्ने नेपालीको संख्या बढ्ने लाखे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यी विद्यार्थी नै केही वर्षपछिका सङ्ग्रहालयका नियमित आगन्तुक हुन् ।” सङ्ग्रहालयले केही वर्षदेखि नै विद्यालयका विद्यार्थी लक्षित गरेर विभिन्न कार्यक्रम गर्दै आएको थियो ।



















प्रतिक्रिया दिनुहोस्