काठमाडौं २१ जेष्ठ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमण चलिरहेकै बेला परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री खनालले जुन ६ र ७ मा भारत भ्रमण गर्ने कार्यक्रम तय भएको हो।
लामिछाने भारत भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्रीको भ्रमण तय हुनु अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारले नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा कूटनीतिक संवादलाई तीव्रता दिन खोजिरहेका बेला यो भ्रमण हुन लागेको हो।
रास्वपा सचिवालय सदस्य दीपक बोहराका अनुसार परराष्ट्रमन्त्री खनालको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धसँग जोडिएका प्रमुख विषयहरूको ‘चेकलिस्ट’ तयार गरी छलफल गरिनेछ। ऊर्जा, व्यापार, लगानी, सीमा व्यवस्थापन, कनेक्टिभिटी, पूर्वाधार विकास तथा द्विपक्षीय सहकार्यका अन्य विषयहरू वार्ताको केन्द्रमा रहने अपेक्षा गरिएको छ।
यसअघि परराष्ट्रमन्त्री खनालले मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा दुई देशबीचका आपसी हितका विषय, सहकार्यका क्षेत्र विस्तार तथा उच्चस्तरीय भ्रमण आदानप्रदानबारे छलफल भएको थियो।
सरकार स्रोतका अनुसार खनालको भारत भ्रमणले नेपाल–भारत सम्बन्धका प्राथमिक एजेन्डालाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो समय राजनीतिक तहमा भएका भेटवार्तालाई सरकारी तहको औपचारिक कूटनीतिक प्रक्रियासँग जोड्ने प्रयासका रूपमा पनि यो भ्रमणलाई हेरिएको छ।
रास्वपा नेतृत्वको सरकार गठनपछि भारतसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने प्रयास भइरहेका बेला सभापति लामिछाने र परराष्ट्रमन्त्री खनालको लगातार भारत भ्रमणलाई चासोका साथ हेरिएको छ। कूटनीतिक वृत्तमा यसलाई नेपाल–भारत सम्बन्धका विविध विषयमा साझा समझदारी निर्माण गर्ने अवसरका रूपमा विश्लेषण गरिएको छ।








प्रतिक्रिया दिनुहोस्