काठमाडौं, ४ चैत्र । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व बुधबार काठमाडौं उपत्यकामा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
उपत्यकामा प्रचलित मध्येको सोही जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइने किंवदन्ती छ ।
त्यसैगरी प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर (अश्वयात्रा)गरी नयाँ वर्षलाई स्वागत गरिने पनि प्रचलन रहेको हो । घोडे जात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा समेत लिइन्छ ।नेपाली सेनाको तर्फबाट बुधबारै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम र युद्धकला लगायतको प्रदर्शन हुने भएको छ । ललितपुरको पाटनमा बुधबार नै एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ । जात्राको अवसरमा सरकारले बुधबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको हो।








प्रतिक्रिया दिनुहोस्