पश्चिम रुकुम । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि दल र उम्मेदवारहरू गाउँ–गाउँ पुगेर मतदातासामु आफ्ना एजेन्डा राखिरहेका छन्। यही क्रममा पश्चिम रुकुममा यसपटकको चुनाव विशेष चासोको विषय बनेको छ।
पश्चिम रुकुम भन्नासाथ लामो समयदेखि एक नाम जोडिँदै आएको थियो— जनार्दन शर्मा। तर यसपटक उनी आफ्नो पुरानो राजनीतिक यात्राबाट अलग हुँदै नयाँ बाटो रोजेपछि चुनावी समीकरण फेरिएको छ। यिनै परिवर्तित परिस्थितिबीच गोपाल शर्मा अहिले नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिस्पर्धामा छन्।
एबिसी इलेक्सन एक्सप्रेससँग कुराकानी गर्दै उम्मेदवार गोपाल शर्माले यो क्षेत्र कुनै व्यक्तिको भन्दा पनि पार्टी र संगठनको बलमा जितिँदै आएको दाबी गरे।
‘यो जनार्दनको होइन, पार्टीको जितको क्षेत्र’
गोपाल शर्माले स्पष्ट शब्दमा भने,
“जनार्दन शर्मा जितिरहनुभएको हो, तर त्यो व्यक्तिगत जित होइन। यो माओवादी पार्टीको संगठन र आस्थाको जित हो।”
उनका अनुसार पश्चिम रुकुम माओवादी आन्दोलनको आधार इलाका हो। यहाँको चुनावी सफलता व्यक्ति केन्द्रित नभई पार्टीको संरचना, संगठन र कार्यकर्ताको बलमा सम्भव भएको दाबी उनले गरे।
“नेताको चर्चा बढी हुन्छ, तर जित संगठनले दिलाउँछ,” उनले भने।
‘हामीले बनाएको नेता, आज प्रतिस्पर्धी’
लामो समयसम्म जनार्दन शर्माको चुनावी कमान्डरका रूपमा काम गरेका गोपाल शर्मा यसपटक उनैसँग प्रतिस्पर्धामा उत्रिएका छन्। उनले विगत स्मरण गर्दै भने—
“६४ सालमा उहाँलाई यहीँ ल्याएर उम्मेदवार बनाउने निर्णयमा म नै अग्रसर थिएँ। चार पटक उहाँको चुनावी कमान्डर बनेँ। आज उहाँसँगै प्रतिस्पर्धा गर्नु परेको छ। यो दुःख पनि हो, तर गर्व पनि।”
उनका अनुसार आफूहरूले अत्यन्त केन्द्रीकृत नेतृत्व निर्माण गरेर जनार्दन शर्मालाई स्थापित गरेका थिए। तर पार्टी परित्याग गर्ने निर्णयले आफूलाई व्यक्तिगत रूपमा चोट पुगेको उनको भनाइ छ।
‘राजनीतिक र वैचारिक विचलन’
गोपाल शर्माले जनार्दन शर्माको पार्टी छाड्ने कदमलाई “राजनीतिक र वैचारिक विचलन”को संज्ञा दिए।
“उहाँले कम्युनिस्ट आवरणमा बस्न सकिँदैन भन्नुभयो। त्यो कुरा सुन्दा म अचम्मित भएँ। जनयुद्धका डेपुटी कमान्डरले कम्युनिस्ट विचार त्याग्ने कुरा कल्पना नै गरेको थिइनँ,” उनले भने।
उनका अनुसार अन्तिम समयसम्म आफूले पार्टीभित्रै अन्तरसंघर्ष गर्न सुझाव दिए पनि जनार्दन शर्माले अलग बाटो रोजे।
महत्वाकांक्षा र दबाब?
गोपाल शर्माले जनार्दन शर्माको निर्णयमा दुई कारण देखेका छन्—
१. अत्यधिक राजनीतिक महत्वाकांक्षा
२. कुनै अदृश्य दबाब वा प्रभाव
“महत्वपूर्ण मन्त्रालय सम्हालिसक्नुभएको थियो। अर्को स्टेप बाँकी थियो। त्यो महत्वाकांक्षाले काम गर्यो कि जस्तो लाग्छ,” उनले भने।
साथै, कुनै तत्वले माओवादी आन्दोलन र नेतृत्व कमजोर बनाउने योजनाअन्तर्गत प्रभाव पारेको हुनसक्ने संकेत पनि उनले गरे।
‘संगठन बलियो छ, व्यक्तिको लोकप्रियता छुट्टै होइन’
गोपाल शर्माको विश्लेषण अनुसार जनार्दन शर्माले विगतमा ल्याएको मत र प्रदेशसभा सदस्यहरूले ल्याएको मतमा खासै अन्तर थिएन।
“त्यो फरक नहुनु भनेको संगठनको मत हो। व्यक्तिगत लोकप्रियता छुट्टै देखिने खालको डिफ्रेन्स छैन,” उनले तर्क गरे।
उनले पश्चिम रुकुममा अझै पनि पार्टी संरचना बलियो रहेको र संगठनकै आधारमा यसपटक पनि जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।
प्रतिस्पर्धा थप रोचक
पश्चिम रुकुममा यसपटकको चुनाव केवल दुई उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र होइन, यो “व्यक्ति बनाम संगठन”को बहससमेत बनेको छ। विगतको सहकार्य अहिले प्रतिस्पर्धामा रूपान्तरण भएपछि मतदाताको निर्णय झन् अर्थपूर्ण बन्ने देखिन्छ।
फागुन २१ को परिणामले के देखाउनेछ—
पार्टीको विरासत बलियो रहन्छ कि व्यक्तिको नयाँ प्रयोगले प्रभाव जमाउँछ?
पश्चिम रुकुम अहिले यही उत्तरको प्रतीक्षामा छ।








प्रतिक्रिया दिनुहोस्