ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)


एबीसी न्यूज
माघ २५, २०८२ आईतबार  ७ : ३७ बजे

विराटनगर । नारा, लोकप्रियता र सत्ताको गणितबीच राजनीति अल्झिएको छ। तर जवाफदेहिता र नीतिगत स्पष्टता अझै अपूरो देखिन्छ। पुरानो राजनीतिक ढाँचा दबाबमा छ र नयाँ सम्भावनाहरू खोजीमा छन्। राजनीति लोकप्रियताको उन्मादमा दौडिँदैछ, तर राज्य सञ्चालनको प्रश्न ओझेलमा परेको छ। तर परिवर्तनको दाबी कत्तिको विश्वसनीय छ ? नेपाली कांग्रेसभित्रको विकासक्रम र तस्रो धारमा रहेका शेखर समूहका बरिष्ठ नेता डा. मिनेनद्र रिजालसँग यी र अनेक प्रश्नको पृष्ठभूमिमा गरिएको विस्तृत कुराकानीको सारसंक्षेत्रप ।

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अहिलेको चुनावी माहोल कस्तो हुँदैछ ?

चुनाव नजिकिँदै गर्दा पनि अपेक्षाकृत ठूलो प्रचार–प्रसार, गाडीको लस्कर, र्‍याली–सभा धेरै देखिँदैन।
अघिल्ला चुनावसँग तुलना गर्दा यो फरक किन देखिएको होला ?

हो, चुनाव लगभग सुरु भइसकेको छ। प्रचार औपचारिक रूपमा फागुन ४ गतेबाट सुरु हुन्छ। अहिलेको अवस्थामा ठूलो संख्यामा गाडी दौडिएको, व्यापक र्‍याली भएको खासै देखिँदैन। २०७९ को चुनावमै काठमाडौंमा यो प्रवृत्ति कम भइसकेको थियो। अहिले देशभरि नै त्यही अवस्था देखिन्छ।
प्रधानमन्त्री पदका दाबेदार नेताहरू देश दौडाहामा हुँदा केही ठाउँमा र्‍याली हुन सक्छन्, तर अधिकांश उम्मेदवारहरू साधारण रूपमा, एक–दुई गाडी लिएर मतदातासँग भेटघाटमै सीमित छन्। यो खर्च, जनमानसको मनोविज्ञान र बदलिएको राजनीतिक चेतनासँग जोडिएको विषय हो।

कांग्रेसमा विशेष महाधिवेशनसम्म पुग्दा तपाईं कता हराउनुभयो ?

म ‘हराएको’ होइन, निरन्तरतामै थिएँ। मैले असार महिनामै केन्द्रीय समितिमा स्पष्ट भनेको थिएँ— २०८४ सम्म महाधिवेशन नगरी पार्टी चुनावमा जान सक्दैन। पार्टीभित्रको झगडा बोकेर चुनावमा जानु आत्मघाती हुन्छ।
मेरो प्रस्ताव स्पष्ट थियो—
अहिले नै अधिवेशन गरौँ, तल्लो तहदेखि प्रतिनिधि चयन गरौँ, सभापति छानौँ, र २०८४ को निर्वाचनसम्म पार्टीलाई स्थिर नेतृत्व दिऔँ। त्यसपछि निर्वाचनपछि पूर्ण महाधिवेशन गरौँ।
त्यो बेला यो कुरा ‘सैद्धान्तिक बहस’ जस्तो लाग्न सक्छ। तर आज हेर्दा, त्यो प्रस्ताव सान्दर्भिक नै थियो भन्ने लाग्छ।

डा.शेखर कोइरालासहित धेरै नेताले विशेष महाधिवेशनले कांग्रेस फुट्छ भन्ने चिन्ता व्यक्त गर्नुभएको थियो। त्यो डर गलत सावित भयो ?

चिन्ता स्वाभाविक थियो। तर मेरो धारणा फरक थियो— यदि पार्टी विधानअनुसार ५० प्रतिशतभन्दा बढी प्रतिनिधिको माग छ भने, त्यो केवल प्राविधिक होइन, नैतिक दायित्व पनि हो।
केन्द्रीय समितिले आँखा चिम्लेर बस्न मिल्दैन। विशेष महाधिवेशन केन्द्रकै निर्णयबाट गरिनुपर्छ भन्ने मेरो स्पष्ट मत थियो।

विशेष महाधिवेशन सफल भयो, कांग्रेस एकताबद्ध रह्यो। आज १६५ जना उम्मेदवार गगन कुमार थापाको एउटै हस्ताक्षरमा चुनाव लडिरहेका छन्। यो सानो कुरा होइन।

कतिपयले तपाईंलाई ‘राजनीतिक बिचौलिया’ भनेका छन्।

(हास्दै…) मैले त मजाकमै भनेको हुँ— लिने र दिनेबीच सहज बनाउनेलाई बिचौलिया भनिदिनुस् या सहजकर्ता।
मेरो भूमिका पार्टीलाई एक ठाउँमा राख्नु थियो।
आज कांग्रेस एकताबद्ध छ भने, त्यो प्रयास व्यर्थ थिएन भन्ने लाग्छ।

गगन थापालाई सभापति मन्न — तपाईंलाई अप्ठ्यारो त भइरहेको छैन?

कुनै समस्या छैन। म लोकतान्त्रिक प्रतिस्पर्धामा पराजित भएको मान्छे हुँ। त्यसलाई स्वीकार गर्न नसक्ने हो भने म राजनीतिमा बस्नै योग्य हुँदैनथेँ। पहिले पनि म उहाँलाई ‘महामन्त्री’ भनेर सम्बोधन गर्थें, आज ‘सभापति’ भनेर सम्बोधन गर्न मलाई अप्ठ्यारो छैन।
पद होइन, संस्था ठूलो हो।

अघिल्लो महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि मन्त्री पदबाट राजीनामा किन दिएको ?
मेरो पार्टीभित्रको राजनीतिक आधार अत्यन्त संकुचित भइसकेपछि पनि मन्त्री पदमा टाँसिरहनु लोकतान्त्रिक नैतिकतासँग मेल खाँदैन भन्ने लाग्यो। प्रधानमन्त्रीले हटाएका होइनन्, मैले आफैँ हटेँ। त्यसपछि मैले आत्मसमीक्षा गर्न थालेँ।

पहिले तपाईं ‘कट्टर कांग्रेसी’ भनिनुहुन्थ्यो, अहिले तपाईं ‘लिबरल’ किन देखिन थाल्नुभयो ?

मेरो छोराले एकदिन मलाई भनेको कुरा आज पनि याद छ— “पापा, तपाईं पनि अब संस्थापन जस्तै देखिन थाल्नुभयो।”
त्यो वाक्य गहिरो चोट थियो। त्यसपछि मैले सोचें— पदभन्दा विचार, सत्ता भन्दा संस्था, व्यक्तिभन्दा मूल्य महत्त्वपूर्ण हो।

अब कांग्रेस कहाँ जान्छ ?

कांग्रेस नयाँ बनाउने होइन, बी.पी. कोइरालाले बनाएको कांग्रेस पुनः खोज्ने हो। दाग लागेको अनुहार पखाल्ने हो। यदि कांग्रेस एकताबद्ध भएर, स्पष्ट विचार र नैतिक राजनीतिसहित जनतामाझ जान सक्छ भन्ने—जनताले अवसर दिन्छन् भन्ने विश्वास मलाई छ।

मोरङ–२ का जनतासँग मेरो एउटा अपूरो ऋण छ

तपाईंले रक्षा मन्त्री पदबाट राजीनामा दिनुहुँदा मोरङ–२ का मतदातामाझ गुनासो देखियो। उनीहरू भन्छन्— ‘हामीले जिताएर पठायौँ, मन्त्री बनायौँ, फेरि किन राजीनामा ?’

यो गुनासो स्वाभाविक हो र म त्यसलाई इन्कार गर्दिनँ। मसँग आज पनि मोरङ क्षेत्र नम्बर २ का जनतासँग एउटा अपूरो जिम्मेवारी बाँकी छ। रक्षा मन्त्रीबाट राजीनामा गर्दा म देशभरिका मतदाताभन्दा पनि विशेष गरी मोरङ–२ का जनताप्रति उत्तरदायी थिएँ। उहाँहरूले जुन विश्वास र आशाले मलाई सांसद र मन्त्री बनाउनु भयो, त्यो पूरा गर्ने अवसर मैले आफैंले छोडेको अनुभूति मलाई आज पनि छ। त्यसैले म भन्छु—यदि मैले कहीँ गल्ती गरेको छु भने, त्यो मोरङ–२ का जनताप्रति मात्र हो। यही चेतनाले मलाई फेरि यही क्षेत्रबाट उम्मेदवार बन्न प्रेरित गरेको हो।

अहिले यो निर्वाचनलाई धेरैले ‘केपी ओली बनाम बालेन’ को द्वन्द्वका रूपमा चित्रित गरिरहेका छन्। यस्तो अवस्थामा नेपाली कांग्रेस कहाँ उभिएको छ ?

कांग्रेस यी दुई अतिवादी बिम्बको बीचमा छैन। एउटा बिम्ब निराशा, निशास र उग्रताको हो, अर्को आवेग र अराजकताको। कांग्रेसको राजनीति न जनतालाई दबाउने हो, न आगो बाल्ने। फेसबुकमा आलोचना गर्ने मानिस सडकमा आउनै नपाउने वातावरण बनाउनु लोकतन्त्र होइन। २३ र २४ गते देखिएको घटनाले देशलाई ठूलो आर्थिक र सामाजिक क्षति पुर्‍याएको छ। कांग्रेसको जिम्मेवारी भनेको यस्तो निराशाजनक अवस्थाबाट देशलाई निकालेर सहमति, शान्ति र निर्माणको राजनीतिमा लैजानु हो।

निर्वाचनअघिको गठबन्धनबारे तपाईं आलोचनात्मक देखिनुहुन्थ्यो। फेरि चर्चा चल्न थालेको छ ?

निर्वाचनअघिको गठबन्धन मूलतः नेताको सुविधा र गणितको गठबन्धन हो। त्यो जनताको मतलाई कृत्रिम रूपमा व्यवस्थापन गर्ने अभ्यास हो। कांग्रेस अब त्यस बाटोमा छैन। हामी जनताकहाँ जान्छौँ, जनताले जसलाई जुन जिम्मेवारी दिनुहुन्छ, त्यो अभिमत स्वीकार गर्छौँ। चुनावपछि यदि कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन भने, जनताको आदेशअनुसार बन्ने गठबन्धन स्वीकार्य हुन्छ। तर जनताको मतलाई बन्धक बनाउने गठबन्धन लोकतान्त्रिक अभ्यास होइन।
संघीयतापछि पनि विकास अपेक्षित गतिमा अघि नबढेको गुनासो छ। समस्या कहाँ देख्नुहुन्छ ?

संघीयता निर्माण भयो, तर तीन तहका सरकारबीचको समन्वय अझै प्रभावकारी हुन सकेको छैन। शिक्षा र स्वास्थ्य जस्ता क्षेत्र धेरै हदसम्म स्थानीय तहको अधिकारमा छन्, तर स्रोत र व्यवस्थापन कमजोर छ। स्वास्थ्य बीमा जस्तो कार्यक्रम कांग्रेसकै पालामा सुरु भयो, तर आज प्रभावकारी छैन। ती संरचनागत कमजोरी सच्याउँदै संघ, प्रदेश र स्थानीय तहलाई एउटै लक्ष्यमा समन्वय गरेर काम गराउनु अहिलेको मुख्य चुनौती हो।

मोरङ–२ मा तपाईंले गरेका र गर्न बाँकी कामबारे मतदाताले ठोस जवाफ खोजिरहेका छन्। तपाईं के भन्नुहुन्छ ?

मोरङ–२ मा कामको सूची लामो छ। केही काम पूरा भएका छन्, केही अधुरा छन्, केही सुरु गर्न बाँकी छन्। हुलाकी सडकबाट झापा जोड्ने काम अघि बढेको छ। रंगेली–कानेपोखरी पिच सडक, उत्तर–दक्षिण मार्ग, रतुवा र लोहन्द्रा खोलाको तटबन्धन, बक्राहा खोलामा पुल निर्माण—यी सबैमा पहल सुरु भएको छ। झुर्किया स्वास्थ्य चौकी आज अस्पताल बनेको छ, तर अझै रंगेली अस्पताल सरह बनाउनु बाँकी छ। शिक्षा, स्वास्थ्य, खानेपानी र नगरपालिकाको क्षमता अभिवृद्धि गर्न अझै धेरै काम गर्नुपर्ने अवस्था छ।

अन्त्यमा, मोरङ–२ का मतदातालाई तपाईंको सन्देश के छ ?

म स्पष्ट रूपमा भन्छु—मैले केही काम गरेको छु, धेरै काम गर्न बाँकी छ। काम गर्ने सीमाना छैन। गिरिजा प्रसाद कोइरालाले राजनीति सुरु गर्दा मोरङकै सबैभन्दा पिछडिएको क्षेत्र रोज्नुभएको थियो। आज पनि त्यो क्षेत्रलाई विशेष ध्यान चाहिएको छ। यही जिम्मेवारी बोक्न म फेरि आएको हुँ। मोरङ–२ बाट नेपाली कांग्रेसको नेतृत्वमा, गगन थापाको नेतृत्वमा सरकार निर्माण गर्ने लक्ष्यसहित म तपाईंहरूको मतको अपेक्षा गर्दछु।
(भिडियो अन्तर्वार्ताको माथिको अंश निकै संक्षिप्त छ । अन्तर्वार्ताका विस्तृत कुराकानी भिडियोमा हेर्न र सुन्न सक्नुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com