बुटवल, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिसमा परेका श्री कुँवरले पार्टीले आफूलाई धोका दिएको आरोप लगाउँदै रास्वपा परित्यागको घोषणा गरेका छन्।
कुँवर रूपन्देही क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका थिए। रास्वपाले सो क्षेत्रका लागि कुँवरसहित ६ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो।
रास्वपा स्थापनाकालदेखि नै अमेरिकामा बसेर पार्टीलाई सहयोग गर्दै आएको दाबी गरेका कुँवरले स्थानीय नेताहरूको आग्रहमा नेपाल आए पनि अन्ततः उम्मेदवार छनोट प्रक्रियामा धोका दिएको बताए।
रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा कुँवरले पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन प्रक्रिया लागू नगरी उम्मेदवार चयन गरेपछि पार्टी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्।
उनका अनुसार प्राइमरी इलेक्सन नगरी सो क्षेत्रमा बालेन साहको कोटाबाट उनका सल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाइएपछि उनी असन्तुष्ट बनेका हुन्।
“म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ। रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जिसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेपछि म यहाँ आएर प्राइमरी इलेक्सन प्रक्रियामा सहभागी भएँ। तर अन्ततः पार्टीले प्राइमरी इलेक्सन नै नगरी उम्मेदवार चयन गर्यो,” कुँवरले बताएका छन्।
यद्यपि कुँवरले बिहीबार राजीनामा दिएको बताए पनि उनले यसअघि नै माघ ६ गते बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरिसकेको खुलेको छ।
प्रलोपा रूपन्देहीका इन्चार्ज पंकज राईले कुँवरले प्रलोपाबाट उम्मेदवारी दिएको पुष्टि गरेका छन्।








प्रतिक्रिया दिनुहोस्