काठमाडौं । नेपालको राजनीतिक इतिहासको पुरानो मध्येको नेपाली कांग्रेसल् आफूलाई पुरानो र राजनीतिकरुपले ‘स्थिर शक्ति’ भनेर चिनाउन रुचाउँछ । पहिलो आम निर्वाचन २०१५ देखि हालसम्म भएका कुनै पनि निर्वाचनमा कांग्रेस तेस्रो हुन परेको छैन । २०४६ को जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि भएका निर्वाचनहरूमा पनि कांग्रेसले आलोपालो पहिलो वा दोस्रो स्थान कायम राखेको छ । तर, जेन–जी आन्दोलनपछि संसद् विघटन भएर फागुन २१ मा हुन लागेको निर्वाचनमा कांग्रेसको लोकप्रियता कति रहला ? विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि ‘बदल्यौ कांग्रेस, बदल्छौ देश’ नारासहित होमिएको कांग्रेसले समानुपातिकमा ३० लाख मत कटाउने दाबी गर्दै आएको छ । तर, इतिहास र वर्तमान तथ्यांकले यो लक्ष्य कति यथार्थपरक छ भन्नेमा गम्भीर प्रश्न देखाउँछ ।
कहिल्यै तेस्रो नहुने ‘स्थिरता’
२०१५ को पहिलो आम निर्वाचनमा कांग्रेसले १०९ सिटमध्ये ७४ जितेर दुईतिहाइ बहुमत ल्यायो । त्यसपछि पञ्चायतकालमा दलीय निर्वाचन भएन । २०४८ मा बहुदल पुनर्स्थापनापछि कांग्रेसले २०५ सिटमध्ये ११० जितेर बहुमत ल्यायो । २०५१ को मध्यावधिमा एमाले पहिलो )८८ सिट) हुँदा कांग्रेस दोस्रो (८३ सिट) बन्यो । २०५६ मा कांग्रेसले फेरि बहुमत (१११ सिट) ल्यायो ।
संविधानसभाका दुई कालखण्ड मध्ये २०६४ मा माओवादी पहिलो हुँदा कांग्रेस दोस्रो (प्रत्यक्ष ३७, समानुपातिकसहित कुल ११०) भयो । २०७० मा कांग्रेस पहिलो (प्रत्यक्ष १०५, कुल २०६) भयो । २०७४ मा वाम गठबन्धनको प्रभावमा दोस्रो (प्रत्यक्ष २३, समानुपातिकसहित कुल ६३) भयो । २०७९ मा गठबन्धनको बलमा पहिलो (प्रत्यक्ष ५७, कुल ८९) भयो ।
यी निर्वाचनहरूले के देखाउँछन् भने कांग्रेसले प्रत्यक्षमा उतारचढाव भए पनि समानुपातिक मतमा स्थिरता कायम राखेको छ । तर, नयाँ दलहरूको उदयले यसलाई चुनौती दिइरहेको छ ।

समानुपातिक मतको हिसाब–किताबः २०६४ देखि २०७९ सम्म
समानुपातिक प्रणाली २०६४ देखि लागू भएपछि कांग्रेसको लोकप्रियताको मुख्य मापन यही हो ।
- २०६४ संविधानसभाः समानुपातिक मत २२ लाख ६९ हजार ८८३ (२१.१४) । माओवादीभन्दा ८ लाख ७४ हजार पछि, एमालेभन्दा ८६ हजार अगाडि ।
– २०७० संविधानसभाः समानुपातिक मत २४ लाख १८ हजार ३७० (२५.५५) । एमालेभन्दा १ लाख ७८ हजार अगाडि ।
-२०७४ प्रतिनिधिसभा स् समानुपातिक मत ३१ लाख २८ हजार ३८९ (३२.७८) । एमालेभन्दा ४५ हजार पछि तर मत बढाएको ।
-२०७९ प्रतिनिधिसभाः समानुपातिक मत २७ लाख १५ हजार २२५ (२५.४७) । २०७४ भन्दा ४ लाख १३ हजार मत घट्यो । रास्वपाले ११ लाख ३० हजार मत ल्याउँदा कांग्रेसलाई असर पर्यो । एमालेभन्दा १ लाख ३० हजार पछि ।
यी तथ्यांकले के देखाउँछन् भने कांग्रेसको समानुपातिक मत २०७४ मा उच्च (३१ लाखं) पुगेको थियो तर २०७९ मा घटेर २७ लाखमा झर्यो । नयाँ दलहरू (रास्वपा) ले युवा मत विशेषगरी गठबन्धनका कारण कांग्रेसी मत काटेको मानिंदै आएको छ ।
यस पटक ३० लाख कट्ला त ?
कांग्रेस नेताहरूको दाबी अनुसार अधिकतम ३२ लाख, र कम्तीमा २२ लाख, तर यसपटक औसतमा बस्दा पनि ३० लाख त कभर गर्छौं ।’ एक पदाधिकारीले भने, ‘अघिल्लो पटक सबै क्षेत्रमा उम्मेदवार थिएनन्, यसपटक सबै क्षेत्रमा उम्मेदवारी दिएका छौं । त्यसकारण हाम्रो सबै मत जोगाउन सक्छौं उनले भने ।’
चुनौतीहरू के के छन् ?
- जेन–जी आन्दोलनपछि युवा मत विशेषगरी कांग्रेस र एमाले तर्फबाट रास्वपा (घण्टी) तर्फ जान सक्ने देखिन्छ ।
-कांग्रेसबाट दर्जनौं असन्तुष्ट नेता रास्वपा वा एमालेमा प्रवेश गरेका छन् ।
-आन्तरिक कलह अदालतमा विचाराधीन छ, जसले मत प्रभावित पार्न सक्छ ।
-रास्वपाको चुनावी भीड (बालेन्द्र शाहसँग जोडिएको) मतमा परिणत हुने डर कांग्रेसलाई छ ।
कांग्रेसले ‘भिजन–१०’ सहितको घोषणापत्र तयार पार्दै छ, जसमा सुशासन, विकास र व्यावहारिक कार्ययोजना जोड छ । गगन थापाको नेतृत्वमा पार्टी ‘बदलिएको’ दाबी गरिरहेको छ । यदि मतदाताले यो परिवर्तन महसुस गरे भने ३० लाख सम्भव छ, अन्यथा २५ लाख आसपासमा झर्न सक्छ ।
कांग्रेसका प्रमुख फोटोहरू र चुनावी दृश्यहरू
कांग्रेसको यो निर्वाचन ‘परम्परागत शक्ति’ र ‘नयाँ लहरु बीचको मुख्य प्रतिस्पर्धा हो । इतिहासले देखाए अनुसार कांग्रेस कहिल्यै तेस्रो भएको छैन, तर यसपटकको परिणामले पार्टीको भविष्य निर्धारण गर्नेछ । ३० लाख मत कटाउन सक्छ कि सक्दैन ? अन्ततः मतदानले नै जवाफ दिनेछ ।
थापाको फेरि भिडियो अपील
बुधबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले आफूहरू युवासँगै अघि बढ्न चाहेको पनि बताएका छन् । ‘नेपाली कांग्रेस बदलेर आएका छौं, यसले देशलाई बदल्छ । यो नयाँ नेपाली कांग्रेस हो, यो कांग्रेस २.० हो, जसले पूराना कांग्रेसको सबै असल कुराहरूलाई लिएको छ । खराब कुरालाई छाडेको छ,’ सभापति थापाले भनेका छन् ।
ऋाफ्नो पार्टी एउटा एजेन्सी भएको र यही एजेन्सीलाई प्रयोग गरेर देश बदल्ने सपना साकार पार्न चाहेको पनि उनले भिडियोमा भनेका छन् ।
‘म तपाईंहरूसँग काम गर्न चाहन्छु, हिंड्न चाहन्छु । बदलिएको नेपाली कांग्रेस एउटा एजेन्सी हो,’ गगनले भनेका छन्, ‘यो एजेन्सीलाई प्रयोग गरेर नेपाल बदल्ने तपाईं–मेरो सपनालाई साकार पार्न चाहन्छौं ।’
द्येशलाई सम्हाल्नुपर्ने अवस्था रहेको भन्दै उनले थप ध्वंशमा पर्न नदिने पनि बताएका छन् ।
‘यसका लागि बदलिएको नेपाली कांग्रेस, बदल्छौं देश भन्ने विश्वासका साथ हामी तपाईंहरूको माझ आएका छौं । यो देशलाई आज सम्हाल्नपर्ने पनि छ,’ भिडियो सन्देशमा उनले भनेका छन्, ‘हामी नेपाललाई सम्हाल्छौं पनि । हामी देशलाई थप ध्वंशमा पर्न दिंदैनौं ।’
आफूहरू कुनै उत्तेजना र घृणाको राजनीति नगर्ने बताउँदै सबैलाई मिलाएर अघि बढ्ने गगनको भनाइ छ ।
‘हामी कुनै उत्तेजनाको राजनीति गर्दैनौं, हामी कुनै घृणाको राजनीति गर्दैनौं । हामी सबैलाई मिलाएर लिएर जान्छौं । हामी मिलाउने मात्र होइन, नेपालको व्यवस्थालाई बदल्छौं पनि,’ सभापति थापाले भनेका छन्, ‘सुधार्छौं पनि । नेपालमा शासन गर्ने हाम्रो मति र गतिलाई पनि बदल्छौं भनेर आएका छौं ।’
उनले युवाहरूलाई पार्टनरको रुपमा लिन पनि आग्रह गरेका छन् ।
‘युवाहरू भविष्य हुन् भनेर छाड्ने होइन, पार्टनर हुन् । सँगै हिंड्ने हो,’ थापाले भनेका छन् ।








प्रतिक्रिया दिनुहोस्