काठमाडौं ३ माघ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र अब एउटा तह र पंक्तिले निर्वाचन लड्नबाट विश्राम लिनुपर्ने बताएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता आरजु देउवा राणालाई आगामी निर्वाचनमा टिकट दिइन्छ कि दिइँदैन भन्ने प्रश्नमा उनले उम्मेदवार छनोट पार्टी विधानअनुसार संसदीय बोर्डले गर्ने स्पष्ट पारे।
कान्तिपुरको पडकास्ट ‘बियोन्ड द हेडलाइन्स’ मा बोल्दै थापाले आफू संसदीय बोर्डको सभापति रहेको उल्लेख गर्दै भने,
‘टिकट दिन्नौँ भन्नु होइन, उहाँहरू लड्नुहुन्न भन्ने नै हो। एउटा तह र पंक्तिले अब विश्राम लिनुपर्छ।’
उनले एउटै व्यक्ति सधैं एउटै चुनाव चिह्नमा उम्मेदवार बन्ने प्रवृत्तिले नागरिकमा निराशा बढाउने बताए। देउवा दम्पतीको हकमा पनि यही सोच लागू हुने उनको भनाइ छ।
देउवाले फेरि चुनाव लड्ने इच्छा देखाए पार्टीले के गर्छ भन्ने प्रश्नमा थापाले कसैलाई चुनाव नलड्न बाध्य पार्न नहुने बताए।
‘पार्टीका प्रत्येक सदस्यलाई आकांक्षा राख्ने अधिकार छ,’ उनले भने।
देउवा–आरजु पक्षलाई साथ दिएका नेताहरूमाथि कारबाही हुन्छ कि भन्ने प्रश्नमा थापाले समर्थन गर्नु अपराध नभएको स्पष्ट पारे।
सभापति थापाले उम्मेदवार छनोटको चरण अत्यन्तै दबाबपूर्ण हुने र हाल असन्तुष्ट नेताहरूलाई जोड्ने काम बाँकी रहेको पनि बताए।








प्रतिक्रिया दिनुहोस्