काठमाडौं २३ भदौ । जेनजीले देशका विभिन्न स्थानमा गरेको प्रदर्शनमा सरकारको दमनले राज्य आतंक विर्साएको छ । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको छ । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । अहिले घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने मृतकहरुको सनाखतको क्रम जारी रहेको सुरक्षा स्रोतले जनाएको छ ।
देशमा व्याप्त भ्रष्टाचार अन्त्यलगायतका माग राख्दै जेनजीले सोमबार बिहान ९ बजेदेखि काठमाडौँ, झापा, सुनसरी, कास्की, काभ्रे, रूपन्देही, चितवन र दाङ लगायतका जिल्ला सदरमुकाममा प्रदर्शन गरेका थिए।
काठमाडौँको माइतीघर हुँदै नयाँ बानेश्वर पुगेको प्रर्दशन आक्रामक बन्दै प्रहरी घेरा तोडेर प्रदर्शनकारी संसद् भवनभित्र पस्ने दुस्साहस गर्ने वित्तिकै राज्य हिंसात्मक दमनमा उत्रिएको मैदानमा खटिएका एक बरिष्ठ सुरक्षा अधिकारीले जनाएका छन् । प्रदर्शनकारीहरुले पनि शान्ति पूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन कुनै कसर बांकी नराखेको देखियो । उनीहरुले संसद भवनको गेट फोर्ने, पर्खाल भत्काउने र आगोसमेत लगाएका दृश्यले जेनजीले कल्पना गरेको समाज र प्रणाली कस्तो हो भन्ने गम्भीर प्रश्न उठाएको छ ।
केही बेर धकेलाधेकेल, अश्रूग्याँस प्रहारबाट पनि प्रदर्शन नसम्हालिएपछि प्रहरीले गोली चलाउन थाल्यो।
५ जना मृतकहरूको सनाखत
जेनजीहरूको प्रदर्शनका क्रममा काठमाडौंमा मृत्यु भएका ५ जना मृतकहरूको सनाखत भएको छ । मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् । उनीहरुको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
त्यस्तै काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ । सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नाम गरेका दुई युवकको मृत्यु भएको हो ।
अहिलेसम्म जेनजी प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भइसकेको छ । काठमाडौंमा १६ र इटहरीमा २ जनाको मृत्यु भएको हो ।
मृतकहरूको सनाखत हुने क्रम जारी छ

प्रहरीले आफूमाथि ढुंगामुढा भएपछि प्रतिरक्षाका लागि गोली चलाएको बताएको छ। तर, प्रहरीतर्फ केकस्तो क्षति भयो भनेर सरकारले बताएको छैन। प्रदर्शनकारीतर्फ हेर्दा प्रहरीको गोली लागेर घाइते भएकामध्ये यो काठमाडौँ र इटहरी गरेर २० जनाको मृत्यु भइसकेको छ।
निजामती कर्मचारी(सिभिल), एभरेस्ट, केएमसी, वीर, ट्रमा, टिचिङ र ललितपुरको पाटन अस्पतालमा घाइतेको उपचार जारी छ। अस्पतालले दिएको जानकारी अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
काठमाडौँमा ठूलो मानवीय क्षति भएपछि देशका अन्य क्षेत्रमा पनि प्रदर्शन थप भड्किन पुगेको छ। सुनसरीको इटहरीमा प्रदर्शनकारी उग्र बनेर आगजनीमै उत्रिएपछि भएको गोली काण्डमा २ जनाको ज्यान गएको छ । त्यहाँ पनि प्रदर्शनकारीहरुले इटहरी उपमहानगरपालिकाको एउटा भवन जलाइदिएका छन्।
अहिले त्यहाँ प्रशासनले कर्फ्यु लगाएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले अत्यधिक बल प्रयोग भएको भन्दै चिन्ता व्यक्त गरेको छ।
‘यस प्रकारका प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ।
सामाजिक सञ्जाल खोल्ने निर्णय गर्न देउवाको ओलीलाई निर्देशन

सत्तारूढ नेपाली कांग्रेसले सामाजिक सञ्जाल पुनः सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेको हो।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिनुपर्ने निर्णय कांग्रेसले गरेको छ र यो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारीसमेत गराइसकिएको छ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्न आग्रह गरेका हुन्।
सभापति देउवाले आजकै मन्त्रिपरिषद बैठकबाट सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिने निर्णय लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरिसकेको महामन्त्री शर्माले जानकारी दिए।
गत बिहीबार सरकारले नेपालमा दर्ता गर्न नआएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो।
साथै कांग्रेस बैठकमा गृहमन्त्री रमेश लेखकबारे पनि छलफल भएको छ। केही नेताहरूले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन्।
यसबारे कांग्रेसले छलफल गरिरहेको र आजै केही निर्णय लिन सक्ने एक पदाधिकारीले जानकारी दिए।
केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले गृहमन्त्रीको राजीनामा मागेका छन्।
‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनुपर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो,’ उनले भने।
पोखरेलले ओली नेतृत्वको सरकार छाड्नुपर्नेसमेत बताएका थिए।








प्रतिक्रिया दिनुहोस्