काठमाडौं २२ साउन । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले हिजो आदेश दिएको हो ।
अदालतले राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । आदेशमा फरार रहेका १ सयभन्दा बढी प्रतिवादीको हकमा म्याद तामेली पठाउने उल्लेख छ ।
बैंक सञ्चालक समितिका २ पूर्वअध्यक्ष र एक कर्मचारीलाई अहिल्यै छाड्दा मुद्दा प्रभावित पार्न सक्ने आँकलन गरी अदालतले तीन जनालाई थुनामा राख्ने आदेश सुनाएको हो ।
बैंकको तीन अर्ब २० करोड रुपैयाँ हिनामिना प्रकरणमा जम्मा १०९ जनालाई प्रतिवादी बनाइएको थियो । तीमध्ये १०३ जना अझै फरार छन् ।







प्रतिक्रिया दिनुहोस्