काठमाडौ १६ साउन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ।
सदस्य कालीबहादुर मल्लका अनुसार बैठक भर्खरै सुरु भएको हो।
महासचिव देवप्रसाद गुरुङले बैठकका एजेन्डा प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्डले समसामयिक विषयमा धारणा राख्नेछन्।
त्यसपछि स्थायी समिति सदस्यलाई बोल्न दिइने छ।
हरेक सदस्यलाई बोल्न १० मिनेट समय निर्धारण गरिएको माओवादी उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए।
बैठकमा मध्यपहाडी लोकमार्ग जागरण अभियानलाई निरन्तरता दिने, नेकपा एकीकृत समाजवादीसँग एकताका साथै केन्द्रीय समिति बैठक राख्ने मिति तय गर्नेलगायतका एजेन्डा छन्।
यसअघि गत बुधबार माओवादीको पदाधिकारी बैठक बसेको थियो। बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकताका लागि पहल भइरहेको बताएका थिए।
पछिल्लो समय माओवादीभित्र उपमहासचिव जनार्दन शर्मासहितका नेताले अध्यक्ष प्रचण्डको कार्यशैलीको आलोचना गर्दै नेतृत्व परिवर्तनको विषय उठाउन थालेका छन्।







प्रतिक्रिया दिनुहोस्