काठमाडौ १५ साउन । नमूना अदालत अभ्यासमा उच्च अदालत विराटनगरका न्यायाधीशले डमी नमूना न्यायाधीशको भूमिका निर्वाह गरेका छन् ।
विराटनगरको ब्राइट भिजन ल कलेजको नमूना अदालत अभ्यासमा उच्च अदालत विराटनगरका दुई न्यायाधीशले डमी न्यायाशीशको भूमिका निर्वाह गरेका हुन् । घटना बुधबारको हो ।
स्वार्थ बाझिने स्थानमा न्यायाधीश नै डमीको रुपमा देखिएपछि आलोचना भइरहेको छ ।
ब्राइट भिजन कलेजले आयोजना गरेको मुट कोट प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह बनाएर प्रतिस्पर्धा गरेका थिए ।
बुधबारको फाइनलमा उच्च अदालत विराटनगरका न्यायाधीश केशवप्रसाद बास्तोला, कृपासुर कार्की नमूना न्यायाधीशको भूमिकामा देखिए । उनीहरुसँगै वरिष्ठ अधिवक्ता शान्तिराम भण्डारी पनि नमूना न्यायाधीशको भूमिकामा थिए ।
तीन जनाको नमूना पूर्ण इजलास गठन भएको थियो । काल्पनिक घटनालाई मुद्दा बनाएर विद्यार्थीहरूले न्यायाधीशका अगाडि बहस गरेका थिए ।
विद्यार्थीको प्रस्तुतीका आधारमा बास्तोला, कार्की र भण्डारी रहेको नमूना पूर्ण इजलासले विजेता, उपविजेता घोषणा गरेको थियो ।
यो कलेज वरिष्ठ अधिवक्ता चूडामणि आचार्यको हो । कलेज प्रमुखसमेत रहेका आचार्यले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिनका लागि मुट कोर्ट प्रतियोगिताको आयोजना गरेको बताए ।
अधिवक्ताले सञ्चालन गरेको निजी कलेजको कार्यक्रममा न्यायाधीश नै डमीको रुपमा प्रस्तुत भएपछि पक्ष र विपक्षमा बहस भइरहेको छ ।
‘श्रीमानले कलेजमा गएर नमूना बेञ्चको नमूना न्यायाधीश बन्न मिल्छ कि मिल्दैन यो बहसको विषय हो, तर स्वार्थ बाझिने स्थानमा जानु हुन्न भन्ने चासो छ,’ उच्च अदालत स्रोतले भन्यो,‘ अदालतमा बहस गरिरहने अधिवक्ताले सञ्चालन गर्ने संस्थाको कार्यक्रममा न्यायाधीश नमूना इजलासमा देखिनु जानु प्रश्न योग्य विषय हो ।’
न्यायाधीशकै जिम्मेवारीमा रहेका व्यक्तिले कलेजमा गएर नमूना इजलास चलाउनु मर्यदा र परम्परा विपरित रहेको अधिवक्ताहरु बताउँछन् ।
‘नमूना बेञ्चमा नमूना न्यायाधीश बस्नु पर्ने हो, न्यायधीश नै बस्नु सामान्य विषय होइन,’ एक वरिष्ठ अधिवक्ताले भने,’ यो विषय कन्फ्लिक्ट अफ इन्ट्रेष्ट हुन्छ ।’
कलेजको नमूना इजलासको अभ्यास हेर्न उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई प्रमुख अतिथिको रुपमा उपस्थीत भएका थिए ।







प्रतिक्रिया दिनुहोस्