काठमाडौ १२ जेठ । कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने छुट प्रधानमन्त्रीलाई नभएको टिप्पणी गरेका छन् । जेठ १५ गते गणतन्त्र दिवसका दिन राजावादीहरुले आन्दोलन सुरु गर्नुअगावै काठमाडौं कब्जा गर्न प्रधानमन्त्री ओलीले कार्यकर्तालाई निर्देशन दिएको विषयमा कटाक्ष गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
ओलीले पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते बिहान १० देखि दिउँसो २ बजेसम्म काठमाडौं उपत्यका कब्जा गरेर बस्न कार्यकर्तालाई निर्देशन दिएका थिए । नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति र पदले कार्यकर्तालाई राजधानी कब्जा गर्न भनेर निर्देशन दिनु गैरजिम्वेवारीपनको अर्को एउटा उदाहरण भएको दाबी गरे ।
‘देशलाई कानुनसम्मत सञ्चालन गर्ने अभिभारा प्रधानमन्त्रीको हो, उहाँले यसरी नागरिकलाई उत्तेजित बनाउन मिल्दैन, यस्ता गैरजिम्मेवार अभिव्यक्तिले उल्टै राजावादीलाई मलजल पुग्छ,’ उनको भनाइ थियो । प्रधानमन्त्रीले मुखमा जे आयो त्यही बोल्नुभन्दा पनि संयम भएर देशलाई अघि बढाउनु पर्ने उनको धारणा थियो ।
पछिल्लो पटक चर्चामा रहेको भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिन प्रक्रियालाई सहयोग गर्नुपर्ने धारणा पहिल्यै राखिसकेको कोइरालाले बताए । ‘यस प्रसंगमा सिटौलाजी र मेरो धारणा फरक(फरक छ, हामी दुवैको धारणा व्यक्तिगत हो, पार्टीको आधिकारिक धारणा सोमबार बस्ने केन्द्रीय समिति बैठकपछि सार्वजनिक हुन्छ,’ उनको भनाइ थियो ।







प्रतिक्रिया दिनुहोस्