काठमाडौ ७ जेठ । राष्ट्रियसभाका सदस्यहरुले सातवटै प्रदेशका स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुसँग समन्वय बैठक गर्ने भएका छन्।
राष्ट्रियसभा नियमावलीअनुसार वर्षमा एक पटक सम्बन्धित प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग विकास निर्माण, स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापनलगायतका विषयमा समन्वय बैठक गर्ने प्रावधानअनुसार उनीहरूले समन्वय बैठक गर्न लागेका हुन्।
सोही प्रावधानअनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेठ ११ र १२ गते राष्ट्रियसभाका सदस्यहरुले समन्वय बैठक गर्नेगरि निर्धारण गरेका हुन्।
त्यसबारे जानकारी दिँदै उनले भने, ‘राष्ट्रिय सभा नियमावलीअनुसार राष्ट्रियसभाका सदस्यहरुले सम्बन्धित प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरुसँग सामान्यतया वर्षमा १ पटक विकास निर्माण, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन लगायतका विषयमा समन्वय बैठक गर्ने प्रावधान रहेको छ। यसै व्यवस्थाको कार्यान्वयनको प्रयोजनार्थ जेठ ११ र १२ गते सातवटै प्रदेशका मुकाममा स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुसँग समन्वय बैठक गर्नेगरि निर्धारण गरिएको छ।’
त्यसका लागि जेठ १० गते राष्ट्रियसभा सदस्यहरु आआफ्नो प्रदेशतर्फ प्रस्थान गर्नेछन्। कार्यक्रम सम्पन्न भएपछि काठमाडौँ फिर्ता हुने तय गरिएको छ।
राष्ट्रियसभाको सन्दर्भमा यो बैठक पहिलो पटक हुन गइरहेको भन्दै अध्यक्ष दाहालले भने, ‘यो एक ऐतिहासिक कार्यक्रमपनि रहेकोले सम्पूर्ण सदस्यहरु आफ्नो आफ्नो प्रदेशमा उपस्थित भई सक्रिय रुपमा सहभागी हुने र यसलाई उपलब्धीमूलक बनाउन योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’







प्रतिक्रिया दिनुहोस्