काठमाडौ ५ जेठ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालमा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको सालिकमा माल्यार्पण गरेका छन्।
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानका लागि दैलेख पुगेका प्रचण्डले दैलेख बजारस्थित डेकेन्द्र चोकमा रहेको थापाको सालिकमा फुलमालासहित माल्यार्पण गरेका हुन्।
थापाको हत्याप्रति आत्मआलोचना गर्दै प्रचण्डले गल्ती भएको कुरा बताएका थिए। प्रचण्डले माल्यार्पणअघि थापाको घरमा गएर आमासँग र परिवारसँग भेटघाट समेत गरेका थिए।
द्वन्द्वकालमा माओवादीले थापाको अपहरण गरी हत्या गरेको थियो। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो।
चार वर्षपछि उनको शव जंगलमा गाडिएको अवस्थामा भेटिएको थियो। भीरको खोंचमा गाडिएको अवस्थामा मानव अधिकारकर्मी र सुरक्षाकर्मीले खाल्डो खनेर शवको अस्थिपञ्जर संकलन गरेका थिए।
थापाको हत्या भएको ८ वर्ष पछि प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा माओवादीका जिल्ला स्तरीय नेतारकार्यकता रहेका थिए।
पछि उनीहरुलाई अदालतले पनि दोषी ठहर गरेको थियो। हत्यामा संलग्न तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।
जसमा दुल्लू नगरपालिका(६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका(६ का मुक्ति भनिने बमबहादुर खड्का रहेका थिए।







प्रतिक्रिया दिनुहोस्