काठमाडौं २३ फागुन । त्रिभुवन विश्वविद्यालयका रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा शुक्रबार एक समूहले तोडफोड गरेका छन् । एउटै विद्यार्थीको समूहले कीर्तिपुरस्थित रेक्टर खड्ग केसी र डिन शंकर खनालको कार्यकक्षमा तोडफोड गरेको प्रत्यक्षदर्शी कर्मचारीले बताए ।
केसी र खनाल कार्यकक्षमा नपुग्दै तोडफोड भएको हो । कार्यकक्षमा रहेका कुर्सी, सिसा, टेबल, दराज, सोफामा क्षति पुगेको रेक्टर र डिन कार्यालयले जनाएका छन् । ‘म कार्यकक्षमा नपुग्दै तोडफोड भइसकेछ । कसले किन तोडफोड गर्यो कुनै जानकारी छैन,’ रेक्टर केसीले भने, घटनाबारे कीर्तिपुर प्रहरी वृत्तलाई जानकारी गराएका छौं । प्रहरीले अनुसन्धान गर्दै होला ।’
विद्यार्थीले कुनै पनि माग नराखेको र पछिल्लो समय कुनै विषयमा बिवाद पनि रहेको उनले जनाए । तर प्रत्यक्षदर्शी कर्मचारीहरूका अनुसार नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउदसहित सिकेन्द्र रोकायलगायतका विद्यार्थीले रेक्टर, डिन कार्यकक्षमा तोडफोड गरेर क्षति पुर्याएको बताएका छन् ।
कर्मचारीहरुले भने दुवै कार्यालयमा ५र७ जनाको समूहमा आएका विद्यार्थीले तोडफोड गरेको र सबैको पहिचान गर्न नसकेको बताए । रोकायको संयोजकत्वमा त्रिवि संघर्ष समिति गठन गरेर विद्यार्थीले विभिन्न माग राख्दै आएका थिए । उक्त समितिमा नेविसंघबाट स्ववियुमा प्रतिनिधित्व गर्ने साउद पनि संलग्न रहेको विद्यार्थीको भनाइ छ ।
‘अफिस नपुग्दै तोडफोड भएछ । त्यस्तो इस्यु पनि थिएन । कसले तोडफोड गर्यो पहिचान पनि भएको छैन । विश्वविद्यालयका विद्यार्थीले त्यस्तो काम गर्नु नपर्ने हो,’ डिन खनालले भने, ‘दुःख लागेको छ ।’ भौतिकशास्त्रका विद्यार्थीले स्नातकोत्तर तह दोस्रो सेमेस्टर परीक्षा सार्न आग्रह गरेको बाहेक कुनै विषय पनि नरहेको उनले जनाए । ‘स्ववियु निर्वाचनपछि परीक्षा छ । विद्यार्थीले सार्नु पर्छ भनेका थिए । मैले सार्न हुँदैन भन्दै आएका थिए,’ उनले भने ।
त्रिविका कतिपय प्राध्यापक, कर्मचारी र विद्यार्थीले भने चैत ५ गते तोकिएको स्ववियु निर्वाचन बिथोल्न सक्रिय समूहले संघर्ष समितिको आवरणमा तोडफोडलगायतका उच्छृंखल गतिविधि गरेको हुन सक्ने दाबी गरेका छन् । नेविसंघका विद्यार्थी तोडफोडमा संलग्न भएको भेटिए पनि त्रिवि नेविसंघ समितिले भने रेक्टर कार्यालयमा भएको तोडफोडमा संगठनको आधिकारिक संलग्नता नरहेको दाबी गरेको छ ।
सभापति विष्णु बडैलाले विज्ञप्ति जारी गर्दै नेविसंघको आधिकारिक निर्णय वा निर्देशनअनुसार तोडफोड नभएको जनाएका छन् । ‘कुनै पनि प्रकारको हिंसात्मक वा तोडफोड गतिविधिलाई नेविसंघले समर्थन गर्दैन । तोडफोडजस्ता असभ्य क्रियाकलाप नेविसंघको आर्दश र आस्थाविपरीत छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन । भ्रामक समाचार र निराधार आरोपप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ ।’
रेक्टरसँग केही केन्द्रीय विभागहरूको शुल्क घटाउनेलगायतका माग राखेर विद्यार्थीले त्रिवि संघर्ष समितिका नाममा आन्दोलन गर्दै आएका थिए । समितिमा नेविसंघका विद्यार्थी पनि आबद्ध छन् । उक्त आन्दोलनको नेतृत्व भने नेविंसघमा आबद्ध विद्यार्थीले गरेका थिए । उनीहरूले ज्ञापनपत्र बुझाउनुका साथै रेक्टर कार्यालयमा तालाबन्दी समेत गरेका थिए । तर विश्वविद्यालय प्रशासनले ताला फुटाएपछि उनीहरू आक्रोशित भएका हुन् । जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले तोडफोड भएको जानकारी पाएपछि अनुसन्धान थालिएको जनाए ।








प्रतिक्रिया दिनुहोस्